दोहोरो मारमा अटोमोबाइल्स क्षेत्र, सटर बन्द गर्नुपर्ने अवस्थामा कसरी पुगे गाडी व्यवसायी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 01:52:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अटोमोबाइल्स व्यवसायीहरु दोहोरो मारमा परेका छन् । शोरुमहरु खोलौँ ब्यापार छैन, नखोलौँ बैंकले साँवा र ब्याज भूक्तानीका लागि ताकेता गरिरहने डर । 

बैंकलाई ‘ब्यापार हुँदैछ, दुई चार वटा गाडी बिक्रि भएपछि साँवा ब्याज बुझाउँछु’ भन्नका लागि मात्रै अहिले नीजि गाडीका आपूर्तिकर्ता तथा बिक्रेताहरुले बाध्यताले कर्मचारी हटाएर भएपनि सुरक्षा गार्डको भरमा शोरुम खुला राख्न थालेका छन् । 

नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालका उपाध्यक्ष समेत रहेका टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.ली.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ आयातमा प्रतिबन्ध लम्बिँदा ७० देखि ८९ प्रतिशत ब्यापार ‘डाउन’ भएको बताउँछन् । उनका अनुसार बाँकी २० प्रतिशत ब्यापार पनि छिटफुट् रुपमा भइरहेको विद्युतीय सवारीको खरिदले धानिरहेको छ ।

अटोमोबाइल्स व्यवसायीहरुले दशैँ तिहार जस्ता चाडमा पनि २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी बिक्रि गर्न पाएनन् । असोज २८ गतेसम्म १ सय वाटमाथिका विद्युतीय गाडी, सबै प्रकारका निजी प्रयोजनका जीप, कार र भ्यान, १५० सीसी माथिका मोटरसाइकलको आयात प्रतिबन्ध थियो । यसकारण उल्लेख्य ब्यापार हुने दशैँ तिहारमै गाडी तथा मोटरसाइकलको बिक्रि शून्य प्रायः भयो । 

लगत्तै, असोज २८ बाट पनि आयात प्रतिबन्ध लम्ब्याएर मंसिर मसान्तसम्म पुर्याइएपछि अटोमोबाइल्स व्यवसायीहरु ‘थला’ परेका छन् । 

नाडाका उपाध्यक्ष श्रेष्ठले अहिले इलेक्ट्रिक भेहिकलको केही माग बढेको भएपनि उपलब्धता भने माग अनुसार नभएको र अन्य व्यवसायिक सवारीको त झन माग नै नभएकाले अटोमोबाइल्स व्यवसायीहरु दुईतर्फी मारमा परिरहेको गुनासो गरे । उनले अब व्यवसायीहरु कर्मचारीलाई बेतलबी बिदा दिएर आफू शोरुममा ताला लगाएर बस्ने बेला आएको र देशका विभिन्न क्षेत्रमा व्यवसायीहरुले शोरुम बन्द गर्न थालिसकेको पनि बताए ।

अहिले इलेक्ट्रिक सवारी साधनमा बैंकहरुले फाइनान्सिङ सुविधा दिइरहेका छन् । तर, सरकारले बजेटमार्फत १ सय वाटसम्मका विद्युतीय सवारीलाई मात्रै छुट सुविधा दिँदा अपेक्षा अनुसार इलेक्ट्रिक सवारी पनि बिक्रि हुन सकेका छैनन् ।

अर्कोतर्फ, विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहन गर्दै कर छुट र सहुलियत दिने हो भने भविष्यमा ‘ग्रिन फाइनान्सिङ’को मुद्दाले नेपालमा इलेक्ट्रिक सवारीको खपत बढ्ने र यसले इन्धनलाई क्रमशः विस्थापित गर्दै लैजाने व्यवसायीहरु नै स्वीकार गर्छन् । तर, स्थिर नीति नहुँदा व्यवसायीहरुले जहिल्यै डराएर निर्णय लिनु परिरहेको व्यवसायीहरुको गुनासो छ ।

किन छैन माग ?

पहिलो पटक आयात प्रतिबन्ध लाग्दा (गत बैशाख)मा उपभोक्ताहरु शोरुम पुगेर कुन मोडल आउँदैछ, विशेषता के छन् ? लगायतका विषयमा सोधखोज गर्थे । तर, आयात प्रतिबन्ध लम्बिदै गएपछि अहिले शोरुम खाली भएका छन्, फलस्वरुप शोरुम ‘भिजिट’ गर्ने मान्छेहरु नै हुन छोडेका छन् ।

‘३ कारणले उपभोक्ताहरु शोरुम भिजिट समेत गर्न आउन छोडेका हुन् की जस्तो लाग्छ’ श्रेष्ठले भने, ‘पहिलो, अब विश्वब्यापी आर्थिक मन्दी हुँदैछ भन्ने त्रास छ । यदि आर्थिक मन्दी भइहाल्यो भने पैसा चाहिन्छ भनेर अहिले मानिसहरुले गाडीमा लगानी गर्न नचाहेको हुन सक्छ । दोस्रो भनेको ब्याजदर निकै माथि गएको छ । महँगो ब्याजमा फाइनान्सिङ सुविधा लिएर के गाडी किन्ने भनेर पनि मानिसहरु शोरुम आउन छोडेका हुन की जस्तो लाग्छ । अर्को कारण भनेको, वित्तीय संस्थाहरुले पनि सहज लगानी गर्न सक्ने अवस्था छैन । उपभोक्ताहरु शोरुममै नआउनुका पछाडी यीनै कारणहरु हुन सक्छन् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved