
सुन्दर यातायात प्रा.ली.ले सञ्चालन गर्दै आएको विद्युतीय बस आजबाट बन्द हुने भएका छन् । सरकारले असहयोग गरेको दाबी गर्दै सुन्दर यातायातले आजबाट बिजुली बस र चार्जिङ स्टेशन बन्द गर्न लागेको हो ।
काठमाडौँसहित देशका ठूला सहरमा सार्वजनिक विद्युतीय बस चलाउँदै आएको भएपनि सरकारले असहयोग गरेको भन्दै सुन्दर यातायातले आज सोमबारबाट सबै बिजुली बस नचलाउँने भएको हो ।
डिमाण्ड शुल्क हटाउने निर्णय भएको १ वर्ष भइसक्दा पनि अतिरिक्त डिमाण्ड चार्ज लिने काम जारी राखेको भन्दै सुन्दर यातायातले विद्युतीय सार्वजनिक सवारी साधन बन्द गराउने सफल भएको भन्दै सरकारलाई बधाई पनि भनेको छ ।
‘सरकारको असहयोगका कारण यो निर्णय लिन बाध्य हुनुपरेकोमा यस कम्पनी दुःख व्यक्त गर्दै विद्युतीय चार्जिङ स्टेशनमा डिमाण्ड चार्ज लिएर बन्द गराउन सफल भएकोमा यस प्रा.ली.ले बधाई ज्ञापन गर्दछ’ सुन्दर यातायातले भनेको छ ।
विद्युत नियमन आयोगले २०७८ मंसिर १९ गते विद्युत प्राधिकरणलाई एक पत्र पठाएर आयोगको १४०औँ बैठकले निर्धारण गरेको विद्युत महशुल बमोजिम मात्र शुल्क लिन भनेको थियो । तर, सुन्दर यातायातले भने प्राधिकरणले आयोगलाई समेत अटेर गरी डिमाण्ड शुल्क लिइरहेकाले विद्युतीय सार्वजनिक बस सञ्चालन गर्न नसक्ने भन्दै बन्द गर्ने घोषणा गरिएको जनाएको छ ।
सुन्दर यातायात प्रा.ली.ले काठमाडौँसहित जनकपुर, ढल्केबर, बुटवलमा १८ वटा सार्वजनिक विद्युतीय सवारी साधन चलाउँदै आएको थियो ।
सुन्दर यातायात प्रा.ली.का अध्यक्ष भेषबहादुर थापाले बन्द गर्ने घोषणा मात्रै नभई निर्णय नै भइसकेकाले यसबारे अब केही नबोल्ने बताएका छन् । उनले आफू बाहिर रहेको र थप केही बोल्नु उपर्युक्त पनि नलागेको जनाउ दिएका छन् ।
सुन्दर यातायातले विद्युतको खपत बढाउँ भन्ने सरकार र तत् सम्बन्धि निकायको भनाई ‘नाटक’ मात्रै भएको भन्दै सुन्दर यातायातकी प्रशासन प्रमुख रुपा मैनालीले आफ्नो निर्णय आफैँ कार्यान्वयन नगरी विद्युतीय सवारी साधनको सञ्चालनलाई रोक्न नयाँ ढंगले सरकार प्रस्तुत भएको आरोप लगाउँदै विज्ञप्ति नै जारी गरेकी छिन् ।
उता, कम्पनीका अध्यक्ष थापाले विद्युतीय सार्वजनिक सवारी साधन चलाउने भनेर सरकारले लिएको नीति राम्रो हुँदाहुँदै पनि कार्यान्वयन नभइदिँदा आफूहरु बिजुली बस चलाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।