
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले बजेटमा सवारी साधन एसेम्बलिङ्ग उत्पादन उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुट कटौटी गर्न लागिएको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाएको छ ।
विगतका नाडाकै माग अनुसार सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेकोमा अहिले त्यसलाई कटौती गर्न लागिएको प्रति असन्तुष्टि जनाएको हो ।
महशुल छुट लगायतका सुविधा पाएकै कारण नेपालमा ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेको पनि नाडाले जनाएको छ ।
चार पाँगे्र सवारी साधनहरु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरु पनि खुल्ने क्रममा रहेको अवस्थामा सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा नाडाले ध्यानाकर्षण भएको जनाएको छ ।
सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग भएको स्मरण गराउँदै नाडाले नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुदा सर्वसाधरणले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने र नेपालमा थप रोजगारी सिर्जना हुने तथा नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने पुगी औद्योगीकरणमा योगदान पुग्ने नाडाले स्मरण गराएको छ ।
सरकारले यस्ता तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरीरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित हुने भन्दै नाडाले आपत्ति जनाएको छ ।
पटक पटक नीति हेरफेर गर्दै जाँदा एसेम्बलिङ्ग उद्योग खुल्ने नभई भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने भन्दै नाडाले सचेत गराएको छ ।