
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवामा हालै निर्माण सम्पन्न भएर अपरेशनमा आएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा सुरुदेखि नै अनियमितता गरेको पाईएको छ ।
त्यतिबेला उक्त परियोजनाको आयोजना प्रमुख बनेर अधिकारीले परामर्शदाता छनोटदेखि नै अनियमितता गरेको आरोप लाग्ने गरेको छ । किनकी, अधिकारीले ‘प्यारलल् ट्याक्सी वे’को डिजाइन गर्ने परामर्शदाता छनोटमै करोडौँ रुपैयाँ अनियमितता गरेका थिए ।
यस्तो छ अनियमितताको फेहरिस्त
‘प्यारलल् ट्याक्सी वे’को परामर्श सेवामा सुरुमा १२१ ‘म्यान मन्थ’ जनशक्ति आवश्यक पर्ने भनेर रिक्वेस्ट फर एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) प्रकाशित गरियो । तर, आधिकारीले १२१ बाट बढाएर ४७१ म्यान मन्थ जनशक्ति राखेर रिक्वेस्ट अफ प्रपोजल (आरएफपी) जारी गराए ।
१२१ म्यान मन्थ जनशक्तिको लागत २० करोड रुपैयाँ भनिएको थियो । तर, अधिकारीले बढाएर ४७१ पुर्याएपछि लागत बढेर ७५ करोड रुपैयाँ पुग्यो ।
यसबाट पनि अधिकारीले मोटो रकम हत्याएको आरोप आजसम्म पनि लाग्दै आएको छ ।
जग्गा दलालीसँग मिलेर ‘राज्य लुट’
आयोजनाका लागि जग्गा अधिग्रहणको काममा पनि अधिकारीले अनियमितता गरेका थिए भन्ने दाबी स्रोतले गरेको छ । ५ सय बिघा जग्गा अधिग्रहण गर्न अधिग्रहण गरिने जग्गाको लागत २३ अर्ब ५९ करोड रुपैयाँ हुन आउने अनुमान गरिएको थियो ।
विभिन्न ‘लट’मा जग्गा अधिग्रहण गरियो । अझै पनि केही काम बाँकी नै छ । हालसम्म जग्गा अधिग्रहणवापत २३ अर्ब बढी खर्च भइसकेको छ । तर, अधिकारीले अधिग्रहण गर्नुपर्ने भनेर पहिल्यै सिमाङ्कन गरिएको भन्दा बाहिर (छेउछाउमा जग्गा ब्यापारीलाई किन्न लगाएर विमानस्थलको लागि भन्दै अधिग्रहण गराएका) को जग्गा पनि दलालीसँगको मिलेमतोमा अधिग्रहण गराएका थिए ।
यसअघिः
‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२
विमानस्थलले छुँदै नछुने ठाउँको जग्गा पनि दलालीहरुसँगको मिलेमतोमा भाउ बढाएर विमानस्थलका लागि भनेर अधिग्रहण गरिएको थियो । चलन चल्तीको भाउ अनुसार जग्गा धनीलाई भूक्तानी गर्नुपर्ने भन्दै सस्तोमा जग्गा किनेका ब्यापारीलाई उनीहरुको जग्गा विमानस्थलको अधिग्रहण क्षेत्रमा परेको देखाएर भूक्तानी दिलाए वापत अधिकारीले जग्गा दलालीहरुबाट घुस खाएको आरोप पनि लाग्ने गरेको छ ।
यी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा समेत उजुरीका चाङ छन् ।
टर्मिनल भवनको लागत नै दोब्बर देखाएर एडीबीलाई पत्र
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर, प्राविधिक टोलीले लागत घटाउन सुझाव दिएको थियो ।
एसियाली विकास बैंकले ७ अर्ब र नेपाल सरकारको ३ अर्ब गरी १० अर्ब रुपैयाँ लागतमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन बनाउने गरी डिजाइन र स्टेमेट गरिएको थियो । प्राविधिकहरुले भने मोटो रकम खर्चेर टर्मिनल भवन बनाउन आवश्यक नरहेको भन्दै सुझाव दिएका थिए ।
तर, त्यतिबेला आयोजना प्रमुख रहेका अधिकारीले ठेक्कामा मिलेमतो गरेर मोटो रकम कमिशन हत्याउने दाउका साथ प्राविधिक तथा विज्ञहरुले लागत घटाउन दिएको सुझाव विपरित उल्टै १० अर्ब लागत थपिने गरी २० अर्ब लागत अनुमान सहितको डिजाइन बनाएर एसियाली विकास बैंकमा पठाईदिएका थिए ।
एसियाली विकास बैंकसँग नेपाल सरकारको तर्फबाट औपचारिक रुपमा कुराकानी गर्ने निकाय अर्थ मन्त्रालय भएपनि अधिकारीले ‘राष्ट्रिय गौरव आयोजना’को लेटर प्याडमा एडीबीलाई पत्राचार गरिदिए ।
यो पनिः
‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१
अर्थ मन्त्रालयले गर्नुपर्ने काम अधिकारी आफैँले गरेपछि पर्यटन मन्त्रालयले अधिकारीलाई यसबारे स्पष्टीकरण सोध्ने तयारी पनि गरेको चर्चा थियो । तर, स्पष्टिकरण सोध्नुको सट्टा तत्कालिन पर्यटनमन्त्री आलेले मोटो रकम लिएर उनै अधिकारीलाई प्राधिकरणको हाकिम बनाईदिए ।
करोडौँ रुपैयाँ खर्चेर महानिर्देशक बनेका अधिकारी ‘८ वर्षका लागि ढुक्क भयो, अब ८ वर्षका लागि अर्को महानिर्देशक आउने ढोका बन्द भईसक्यो’ भन्दै हिड्ने गरेका छन् ।
यस विषयमा महानिर्देशक अधिकारी भने आफू अहिले केही पनि नबोल्ने भन्दै पन्छिने गरेका छन् ।