अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तहरु विकास बैंकमा स्तरोन्ति हुनसक्ने बताएका छन्। प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अहिलेकै अवस्थामा पारित भए लघुवित्तहरुलाई विकास बैंकमा स्तरोन्नति गर्न सकीने व्यवस्था रहेको उनले बताए।
नेपाल राष्ट्र बैंकले संचालन गरिरहेको ग्रामीण स्वावलम्बन कोषलाई साना किसान लघुवित्तमा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले गरिबीको क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थालाई कुनै काम दिनको लागि पनि उनीहरुलाई विकास बैंकमा स्तरोन्नति गर्नुपर्ने बताए।
'अबको केही वर्षमा नै गरिविको अन्य गर्छौं भनेका छौँ, लघुवित्तलाई गरिविको क्षेत्रमा लगानी गर्ने वित्तीय संस्था भनेका छौँ' अर्थमन्त्री खतिवडाले भने, 'या त गरिवीको परिभाषा परिवर्तन गर्नुपर्यो या त दिर्घकालिन रुपमा सोचेर लघुवित्तलाई विकास बैंकको मोडलमा लैजानुपर्यो।'
राम्रा काम गरिरहेका र सबल देखिएका लघुवित्तलाई विकास बैंक बन्नलाई मार्ग प्रसस्त गर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए। उनले बिकास बैक बन्नलाई एउटा अवसर भएपनि लघुवित्तले आफ्नो मिसन परिवर्तन गर्न नहुने स्पष्ट पारेका छन।
उनले साना किसान वित्तीय संस्थाले लघुवित्तहरुले छोडेका र बैंकहरुको पहुँचमा नपुगेका जनतालाई लक्षीत गरेर अगाडि बढ्नुपर्ने बताए । मंगलबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकले संचालन गरिरहेका करिब एक अर्वको ग्रामीण स्वाबलम्बन कोष साना किसान लघुवित्तलाई हस्तान्तरण गरिएको छ।
२०४७ सालमा राष्ट्र बैंक र नेपाल सरकारको संयुक्त लगानीमा करिब ८० करोडको कोष स्थापना भएको थियो। करिब ६ अर्व रुपैयाँको फण्ड संचालन गरिरहेको साना किसान लघुवित्तलाई नेपाल सरकारको अग्रसरतामा अर्को १ अर्बको कोषको पनि जिम्मेवारी प्रदान गरिएको छ।
बुधबारबाट कोषको सम्पुर्ण गतिविधि साना किसान लघुवित्तले संचालन गर्नेछ । सरकारले चालु आर्थिक वर्षको बजेटमा नै उक्त कोष साना किसान लघुवित्तबाट संचालन गर्ने उल्लेख गरेको थियो। सोहि बमोजिम आर्थिक वर्षको अन्त्यमा आएर उक्त कोष हस्तान्तरण गरिएको अर्थमन्त्री बताए ।
ग्रामीण स्वावलम्बन कोषमा युवा स्वरोजगार कोष र गरिवि निवारण कोषलाई एक ठाउँमा ल्याउने आफ्नो उदेश्य भएपनि युवा स्वरोजगार कोषको उदेश्यले गर्दा उक्त योजना पुरा हुन नसकेको अर्थमन्त्री खतिवडाले बताए ।