१ महिनामै घरजग्गामा बैंकको लगानी पौने ६ अर्ब थपियो, जोखिम कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 09:23:56 AM मा प्रकाशित

laxmi  sunrise bank

घरजग्गामा बैंक तथा वित्तिय संस्थाको लगानी १ महिनामै पौने ६ अर्बले बढेको छ । माघ मसान्तसम्म घरजग्गामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४ खर्ब ३८ अर्ब २२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पुस मसान्तसम्म घरजग्गामा बैंकको कुल कर्जा लगानी ४ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ रहेकोमा माघमा त्यो बढेर ४ खर्ब ३८ अर्ब २२ करोड पुगेको हो । घरजग्गामा भएको ऋण लगानीमध्ये व्यक्तिग आवासीय घरकर्जामा २ खर्ब ६६ अर्ब ५९ करोड ५२ लाख र रियलस्टेट कर्जामा १ खर्ब ७१ करोड ६३ लाख ४४ हजार रुपैयाँ रहेको राष्ट्र बैंककै तथ्यांकबाट देखिन्छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत पुस, माघ, फागुनमा घरजग्गाको कारोबार उल्लेख्य मात्रामा बढेको छ । राष्ट्र बैंकका अनुसार घरजग्गामा चालु आर्थिक वर्षको (साउनदेखि माघ मसान्तसम्म) हालसम्म ५३ अर्ब रुपैयाँ ऋण लगानी भईसकेको छ । 

यसअघि बैंकहरुले घर जग्गामा गरेको लगानीमा जोखिम बढ्दो क्रममा छ भन्ने चर्चा चलेको भएपनि बैंकहरु घरजग्गामा लगानी गर्नबाट पछि हटेका छैनन् । कारोबारसँगै घरजग्गामा लगानी पनि बढ्नु सकारात्मक भएपनि रियलस्टेट व्यवसायीले उद्योगीको मान्यता नपाउँदा समस्या यथावत नै रहेको रियलस्टेट व्यवसायीहरु बताउँछन् । 

भू–उपयोग नीति अन्तर्गतको भू–उपयोग ऐन २०७६ ले बैंकहरुले घरजग्गामा गरेको लगानीलाई जोखिम सिर्जना गरिदिएको व्यवसायीको भनाई छ ।

कारोबारमा रेकर्ड ब्रेक

चालु आर्थिक वर्षको फागुन महिनामा घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरेको छ । गत पुस महिनामा हालसम्मकै उच्च कारोकार भई कायम भएको रेकर्ड फागुन महिनाको कारोबारले तोडेको हो । 

पुसमा उच्च बिन्दुमा पुगेको घरजग्गा कारोबार माघमा भने केही घटेको थियो । तर, फागुन महिनामा हालसम्मकै उच्च कारोबार भएको भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । 

फागुनमा देशभरका मालपोत कार्यलयबाट २ लाख १४ हजार ४ सय ९१ वटा घरजग्गा सम्बन्धि सेवा प्रवाह भएका छन् । माघमा २ लाख ११ हजार र पुसमा २ लाख १४ हजार ४६० सेवा प्रवाह भएका थिए । 

राजश्व संकलन उच्च

फागुन महिनामा घरजग्गा कारोबारसँगै राजश्व संकलनमा पनि रेकर्ड तोडिएको छ । गत पुसमा सबैभन्दा धेरै घरजग्गा कारोबार हुँदा ६ अर्ब राजश्व संकलन भएकोमा फागुनमा ७ अर्ब ५ करोड ९ लाख राजश्व संकलन भएको छ । माघमा विभागले ६ अर्ब ७३ करोड २७ लाख ८० हजार राजश्व संकलन गरेको थियो ।

सेवा करवापत ४१ करोड ७६ लाख ४० हजार, बाग्मतीबाट ३० करोड ५९ लाख ४३ हजार, रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ८७ करोड ९४ लाख, छुटबाट ५८ करोड २४ लाख र पूजीँगत लाभ करबाट १ अर्ब ६९ करोड ७० लाख ४३ हजार राजश्व संकलन भएको विभागले जनाएको छ । 

मुख्यमन्त्री स्वछता अभियान कोषबाट ४ करोड ५९ लाख ५७ हजार राजश्व संकलन भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved