एनआरएनबाट निक्षेप ल्याउन पहल सुरु, परराष्ट्रद्वारा विदेशका नेपाली नियोगहरुलाई पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 03:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  गैरआवासीय नेपालीले नेपालका बैंकमा विदेशी मुद्राको बचत खाता खोल्न सक्ने ब्यबस्था गरिएको जानकारी विदेश स्थित सबै नेपाली नियोगहरुलाई दिएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपाली समबन्धि महाशाखाले यस विषयमा विदेश स्थित सबै नेपाली नियोगहरुलाई र गैर आवासीय नेपाली संघको सचिवालयलाई जानकारी गराएको हो  ।

नियोगहरु र सचिवालय मार्फत नेपालको बैंकमा गैरआवासीय नेपालीले विदेशी मुद्राको बचत खाता खोल्न सक्ने ब्यबस्थाबारेको जानकारी गराईदिन पत्रमा आग्रह गरिएको छ । नेपाल राष्ट्र बैंकको ब्यबस्थाबारे गैरआवासीय नेपालीहरुमा  जानकारी गराईदिनको लागि  अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियो । सोहि अनुसार परराष्ट्र मन्त्रालयले आज मङ्सिर २७ गते यस विषयको पत्र विदेश स्थित सबै नेपाली नियोगहरुलाई र  गैर आवासीय नेपाली संघको सचिवालयलाई पठाएको हो।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम समिक्षा मार्फत गैरआवासीय नेपालीले नेपालको बैंकमा विदेशी मुद्राको बचत खाता खोल्न सक्ने ब्यबस्था गरेको हो । यस्तो खातामा न्यूनतम ५ हजार अमेरिकी डलर खातामा राख्नुपर्नेछ । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमासमेत यस्तो खाता खोल्न सकिनेछ । 

यस्तो खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट जारी भएको गैरआवासी नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि चाहिन्छ । राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशका बैंकमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ । यस्तो खातामा नगद जम्मा नहुने र बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सकिनेछ ।

परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा भनिएको छ 'प्रस्तुत विषयमा गैर आवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाले नेपाली बैङ्कमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन, र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता खोल्न सक्ने, बिदेशी मुद्रामै आफ्नो बचत लैजान सक्ने एवं न्युनतम ५००० अमेरिकी डलर वा सो बराबरको बचत गर्न सकिने व्यवस्था गरिएको सम्बन्धमा सम्बद्ध सबैलाई जानकारी गराइदिन अनुरोध गर्दै अर्थ मन्त्रालय मार्फत प्राप्त नेपाल राष्ट्र बैङ्कको पत्र संख्या वि.निति /०७८/७९ च.नं ४४ मिति २०७८/०८/१४ को पत्र यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ । विस्तृत व्यहोरा संलग्न पत्रबाट समेत अवगत भई गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेष संकलन गर्न सकिने उपर्युक्त व्यवस्थाका सम्बन्धमा तहाँ मार्फत सम्बद्ध सवैलाई जानकारी गराइदिने व्यवस्था हुन निर्देशानुसार अनुरोध गरिन्छ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved