
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले २५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाईएको छ । सन् १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्षमा पार गरेको छ ।
२८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम गरेको हो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । त्यस्तै बैंकले मंसिर २८ गते, मंगलवार शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।
२५ औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकीङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताएका छन्। उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गरेका छन् । आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरेका छन् । बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुर्पने बताए ।
बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । बैंकले अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोललाई सम्मान गरेको हो ।
बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सेवा प्रदान गर्दै आएको छ ।