कुमारी बैंक प्रकरणमा ३ जना जेल चलान, सीईओ र डेपुटी सीईओ निर्दोष सावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 08:13:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकको १९ करोड प्रकरणमा सरकारी वकिल कार्यलयले बैंकिंङ कसुर मुद्दा नचलाउन निर्देशन दिएको छ। सुरुमा लिखत सम्बन्धि किर्ते मुद्दा थालेपनि पिडित पक्ष नभेटिएपछि १९ करोड कर्जा जारी हुनुमा को-कसको कस्तो संलग्नता छ भन्नेबारे थाहा पाउन केन्द्रिय प्रहरी अनुसन्धान ब्युरो सीआईबि ले बैंकिंङ कसुर मुद्दा अगाडी सारेको थियो। 

कीर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएपनि जिल्ला सरकारी वकिलको कार्यालयले बैकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीलाई थप समय दिएको थियो। तर बुधबार अर्थात मङ्सिर २९ गते सरकारी वकिल कार्यलयले बैंकिंङ कसुर मुद्दा नचलाउन निर्देशन दिएको हो। 

सरकारी वकिल कार्यलयले बैंकिंङ कसुर मुद्दा नचलाउन निर्देशन दिएसंगै माथिल्लो तहबाट कर्जा स्वीकृत भयो वा मिलोमतोमा स्वीकृत भयो भन्ने अन्यौलता पनि अब स्पष्ट भएको छ। यहि प्रकरणलाई लिएर बैंकका प्रमुख कार्यकारी अधिकृत, डेपुटी प्रमुख कार्यकारी अधिकृत लगायतमाथि पनि अनुशन्धान थालिएको थियो। 

बैंकिंङ कसुर मुद्दा नचलाउने निर्देशनले लिखत सम्बन्धि किर्ते मात्रै भएको र यसमा संलग्नलाई मात्र कारबाही भएकाले बैंकिंङ कसुरको अनुसन्धानमा तानिएका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डेपुटी सीईओ मानिस तिमिल्सेना निर्दोष साबित भएका छन्। 

यो पनि: कुमारी बैंकको १९ करोड प्रकरणमा सिद्धार्थ बैंक पनि तानियो, कहाँ पुग्यो अनुसन्धान ?

लिखत सम्बन्धित कसुरमा ३ जना पुर्पक्षमा जेल चलान, १ जना धरौटीमा रिहा 

लिखत सम्बन्धित कसुरमा जिल्ला अदालत काठमान्डूले मङ्सिर १५ गते आफ्नो निर्देशन सुनाएको हो। उक्त निर्देशनअनुसार गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड कर्जा लिने डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन, मुक्तिनाथ गौतम र कुमारी बैंकका बारा शाखाका लोन म्यानेजर सोनु ठाकुरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको छ भने कागजात सहि हो भनेर कर्जा दिनलाई प्रस्ताव गर्ने धितो मुल्याङ्कनकर्ता राजेश्वर चौरसियालाई १ लाख धरौटीमा रिहा गरिएको छ।

त्यस्तै यहि प्रकरणसँग जोडिएका कुसल प्रधान हाल अस्पतालमा उपचारको क्रममा भएकाले उनीसंगको अनुसन्धान पश्चात मात्रै उनिबारे अदालतले निर्देशन दिने भएको छ। 

भएको के हो ?

डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा बिरगंजमा रहेको १२ बिघा १ कठ्ठा जग्गा किन्नको लागि कुमारी बैंकमा कर्जाको लागि असार १५ मा निवेदन दिएका थिए।  

महर्जन र गौतमले डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडले आफुहरु टेलिफोन सेवा प्रदायक कम्पनी एन्सेलको सब डिट्रीब्यूटर भएको र  बार्षिक कारोबार कोभिड अगाडी ३ अर्बको र कोभिडको समयमा १ अर्बको भएको र अहिले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा रहेको जग्गा किन्न लागेको निवेदनमा उल्लेख गरे। 

भ्यालुएसन गर्दा ३८ करोडको सम्पति भएको पाइएको र घर जग्गा कर्जा ५० प्रतिशत दिन पाइने व्यवस्थाअनुसार कर्जाको लागि निवेदन दिएको १६ दिनको दिन अर्थात असार ३१ गते कुमारी बैंकको न्युरोड शाखाबाट १९ करोड कर्जा स्वीकृत भयो। 

बिक्रेता व्यक्ति वा सँस्थाको नाममा निवेदकको स्वीकृत कर्जा पठाउने व्यवस्थाअनुसार नै कुमारी बैंकले सिद्दार्थ बैंकमा रहेको बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खातामा साउन १५  गते १९ करोड पठायो।

कर्जा जारी भएको १५-२० दिनपछि डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक महर्जन र गौतमले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको सम्बन्धमा बुझाएका लालपुर्जा, राजिनामा पास, मालपोत रोक्का, चारकिल्ला र घरबाटो प्रमाणित किर्ते भएको कुरा बैंकलाई थाहा हुन आयो। 

किर्ते कागजातको आधारमा कर्जा लिएको थाहा भएपछि बैंकले डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमलाई ताकेता गरि उक्त पैसा फिर्ता लियो। र बैंक १९ करोड नोक्सान हुनबाट जोगियो। 

बैंकिंङ कसुर मुद्दा किन ?

गायक योगेश्वर अमात्यले आफ्नो जग्गा राखेर अरु कसैले कर्जा लिएको भन्दै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो सीआइबिमा कात्तिक २ गते उजुरी दिएपछि सुरुमा लिखत सम्बन्धित कसुरमा अनुसन्धान थालियो। अनुसन्धानको क्रममा दोषी देखिएका डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतम कात्तिक ४ गते पक्राउ परे।  धितो मुल्याङ्कनकर्ता राजेश्वर चौरसिया कात्तिक २२ गते पक्राउ परे र पछि कुमारी बैंकका बारा शाखाका कर्मचारी सोनु ठाकुर पक्राउ परे। 

तर किर्ते कागजातको आधारमा कर्जा गएको १९ करोड फिर्ता लिन सफल भएपनि यस प्रकरणमा अपराध भएको ठहर भयो तर यहाँ पिडित पक्ष भएन। त्यसैले सीआईबिको अनुसन्धान किर्ते कागजातको आधारमा १९ करोड कर्जा जारी हुँदा को-कसको संलग्नता छ भन्नेतर्फ मोडियो र बैंकिंङ कसुर मुद्दालाई अगाडी सारियो। 



   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved