मर्जरमा गएका ११ बैंकबाट २ अर्ब बढी कर असुल गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 08:29:11 PM मा प्रकाशित

laxmi  sunrise bank

महालेखा परिक्षकको कार्यालयले मर्जर तथा प्राप्तिमा गएका ११ बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब बढी कर असुल गर्नु पर्ने उल्लेख गरेको छ । बिजनेश कम्बिनेसनबाट प्राप्त लाभलाई लाभ देखिई आयकर तिर्नु पर्नेमा कर नतिरेकोले उनीहरुले लाभको ३० प्रतिशतले हुन आउने कर २ अर्ब ४७ करोड ४३ लाखमा शुल्क र ब्याज समेत छानविन गरि कर निर्धारण गर्नु पर्ने महालेखाले प्रतिवेदन मार्फत जनाएको हो 

महेलेखाले भनेको छ ' आयकर ऐन, २०५८ को दफा २२ को उपदफा (१) मा कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तअनुरूप हुने, उपदफा ३ मा कम्पनीले कर प्रयोजनको लागि एक्रुअल आधारमा लेखाङ्कन गर्नुपर्ने र दफा ७ मा व्यवसायबाट भएको सबै लाभ तथा मुनाफा व्यवसायको आयमा समावेश हुने व्यवस्था छ । त्यसैगरी नेपालका बैङ्क एवं वित्तीय संस्थाहरूले कम्पनी ऐन, २०६३ को दफा १०८ बमोजिम दोहोरो लेखा प्रणालीअनुसार कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रूपमा प्रतिविम्वित हुने गरी प्रचलित कानूनबमोजिम अधिकार प्राप्त निकायले लागू गरेको लेखामानअनुरूप लेखा राख्नुपर्ने व्यवस्था छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको नेपाल वित्तीय प्रतिवेदनमान-३ (बिजनेश कम्बिनेशन) अनुसार कुनै पब्लिक कम्पनीले प्राप्ति गर्ने वा अर्को कम्पनीमा गाभिने सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ । वित्तीय प्रतिवेदनमानमा प्राप्ति गर्ने कम्पनीले प्राप्ति हुने कम्पनीको पहिचान भएको सम्पत्तिहरू प्राप्ति गर्दा र उक्त कम्पनीको पहिचान भएको दायित्व स्वीकार गर्दा बजार मूल्यमा गर्नुपर्ने र पहिचान भएको सम्पत्तिमा स्वीकार गरेको दायित्व घटाई बाँकी खुद सम्पत्ति बापत दिएको साधारण शेयरको बजार मूल्यको आधारमा आउने फरक रकमलाई अवस्थाअनुसार सौदाबाजी गर्दाको लाभ वा ख्यातिको रूपमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था छ । लेखामानको उल्लिखित प्रावधान विपरीत मर्जर/एक्विजिसन गर्दा भएको लाभलाई प्राप्ति गर्ने कम्पनीले सोझै आफ्नो इक्विटीमा भएको परिवर्तन विवरणमा एक्विजिसन रिजर्भ, जेनेरल रिजर्भ, क्यापिटल रिजर्भ लगायतका शीर्षकमा देखाएको छ।

नेपाल लेखामानमा भएको आयकरसम्बन्धी व्यवस्थाअनुसार सौदाबाजी गर्दा भएको लाभलाई नाफा नोक्सान विवरणमा उल्लेख गरी लेखाङ्कन गर्नुपर्नेमा सो नगरेकोले प्रचलित लेखामान र आयकर ऐन, २०५८ को दफा २२ विपरीत हुन गएको देखिन्छ। यस्तै कारोबारलाई कतिपय बैङ्क तथा वित्तीय संस्थाले नाफा नोक्सान खातामा नै देखाएको अवस्था छ । बिजनेस कम्बिनेसनबाट प्राप्त भएको लाभलाई ठुला करदाता कार्यालयमा दर्ता रहेका ८ र मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता रहेका ३ समेत ११ बैङ्क तथा वित्तीय संस्थाले उपर्युक्तबमोजिम लाभ देखाई आयकर तिर्नुपर्नेमा सोअनुसार नगरेकोले निजहरूले प्राप्त गरेको लाभ रू.८ अर्ब २४ करोड ७६ लाखमा आयकर ऐन, २०५८, अनुसूची - १ को दफा २ को उपदफा (२) बमोजिम ३० प्रतिशतले हुने कर रू.२ अर्ब ४७ करोड ४३ लाखमा शुल्क एवं ब्याज समेत छानबिन गरी कर निर्धारण हुनुपर्दछ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved