प्रभु बैंकको वार्षिक साधारण सभा सम्पन्न, सेञ्चुरीलाई प्राप्ति गर्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2022 | 05:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा आज बिहिबार साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।  सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७८÷०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । बैंकले गत आ.व. २०७८÷७९ को मुनाफाबाट गत आ.व. २०७८÷०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनश शेयर र बोनश शेयर र नगद लाभांसमा लाग्ने कर समेतका लागि १.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय पनि साधारणसभाले पारित गरेको छ ।

वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लि. को १०० कित्ता शेयर बराबर प्रभु बैंक लि. को १०० कित्ता शेयर प्रदान गर्ने  गरी सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित÷अनुमोदन गरेको छ ।  साधारण सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

सभाबाट पारित निर्णय अनुसार बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकायहरुबाट कुनै निर्देशन, सुझाव प्राप्त भएमा सो को आधारमा आवश्यक परिमार्जन गर्न तथा सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सभाले पारित गरेको छ । 

 साधारण सभाले ६.५० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved