नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सञ्चालकको निर्वाचन कार्यक्रम स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 08:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारणसभामा पेश हुन लागेको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार चैत्र २० गते हुने बैंकको साधारणसभामा सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश नहुने बैंकले जनाएको छ ।

बैंकका अनुसार चैत्र २० गते  संचालन हुन लागेको ३७ औं वार्षिक साधारण सभाको सामान्य प्रस्तावको बूँदा नं. ५ अन्तर्गतको संस्थापक शेयरधनीहरुको तर्फवाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्च अदालतबाट मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्नु भनि  अल्पकालिन अन्तरिम आदेश जारी भएको कारणले उक्त निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको हो ।

बैंकका शेयरधनी प्रा.डा ताराप्रसाद सापकोटाले चैत्र १६ गते निर्वाचन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लि , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक संचालक समिति , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिको संचालक समितिको निर्वाचन गराउन नियुक्त निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ , पृथ्वी बहादुर पाँडे , प्रजन्य राजभण्डारी , मुक्तिराज पाण्डे , मदनकुमार आचार्य , बरुण श्रेष्ठ , पर्वतकुमार कार्की / रवि महर्जनलाई विपक्षी बनाएका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै चैत्र १८ गते सर्वोच्च अदालतका न्यायधीश महेश शर्मा पौडेलको एकल इजलाशले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ। यस संगै सर्वोच्च अदालतको अर्को आदेश नआउँदासम्म बैंकको सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको हो ।

बैंकको साधारणसभा भने रोकिएको छैन  । बैंकको साधारणसभा चैत्र २० गते मंगलबार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved