अन्त:शुल्क बढ्दा गाडीको मूल्य ३ लाखसम्म बढ्ने, के हो अन्त:शुल्क, कसरी पार्छ बजार मूल्यमा प्रभाव ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 10:48:03 AM मा प्रकाशित

laxmi  sunrise bank

गोपी न्यौपाने 

खासगरी स्वदेशी उत्पादनमा अन्त:शुल्क असुल उपर गरिन्छ। तर विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रको हैसियतले आयात हुने बस्तुमा क्रमश: भन्सार दर कम गर्दै जानुपर्ने बाध्यताले गर्दा राजश्वमा नकारात्मक असर पर्न नदिन बैकल्पिक राजश्वको माध्यम बनेको छ, अन्त:शुल्क । उच्च भन्सार दर तथा अन्त:शुल्क दर लाग्ने बस्तु हो, सवारीसाधन। बिकाश निर्माण कार्यका लागि अपरिहार्य तथा अर्थतन्त्रको मोबिलिटीको रुपमा रहेपनि बर्सेनि राजश्व थप गरि प्रमुख राजश्वको श्रोत पनि सवारीसाधन नै रहेको छ। उत्पादन,मोबिलिटी र राजश्वको मुल धार भएपनि सवारीसाधनलाई अनुत्पादक लगानीको रुपमा हेरिएको छ। चुरोट बिडि मदिरा लगायतका बस्तुको कोटिमा राखिएको भएपनि सवारीसाधन बिना समृद्ध नेपाल सम्भब छैन । कर्जा लिमिटमा कडाइ गरेर होस वा राजश्वका दरहरु बढाएर होस, सवारीसाधनको आयात तथा बिक्रीलाई निरुत्साहित गर्दै आएको अबस्था छ ।

घरजग्गा, शेयर र सवारीसाधनलाई बर्तमान अर्थमन्त्रीज्युको धारणा पनि त्यति सकारात्मक देखिएन । आ.ब. २०७५/७६ को आर्थिक बिधेयक अध्ययन गर्दा कार,जिप, भ्यान र मोटरसाइकलमा अन्त:शुल्क, सडक मर्मत सम्भार कर र बार्षिक सवारीसाधन करमा निकै ठूलो असर पर्ने गरि वृद्धि गरिएको छ । कार, जिप, भ्यानमा हेर्दा गतबर्ष भन्सार दर ८० प्रतिशत लाग्थ्यो । १०० रुपियाँ लागतको आधारमा भन्सार सहित १८० पर्न जान्थ्यो भने रु.१८० मा ६० प्रतिशत अन्त:शुल्क लाग्दा अन्त:शुल्क मात्रै १०८ प्रतिशत लाग्थ्यो। यसरी मूल्य, भन्सार र अन्त:शुल्क अर्थात २८८ मा १३ प्रतिशत मुअकर लाग्दा ३७.४४ लाग्ने गरेको थियो । यसरी भन्सार बिन्दुमा लाग्ने राजश्व दर मात्रै पनि २२५.४४ प्रतिशत लाग्ने गरेको थियो । त्यसपछि यातायात कार्यालयमा दर्ता गराउदा मोल तथा भान्सारमा लाग्ने उल्लिखित दर समेत ३२५.४४ मा ७ प्रतिशत गणना गर्दा २२.७८ जोडदा राजश्वको दर २४८.२२ प्रतिशत कायम हुने ब्यबस्था थियो । अर्थात १०० मूल्य पर्ने अबस्थामा राजश्व मात्रै २४८.२२ प्रतिशत लाग्न गै कुल मूल्य रु. ३४८.२२ पर्ने अबस्था थियो ।

यसपछि लाग्ने बार्षिक सवारीसाधन कर, आयकर, स्थानीय कर लगायतका करहरु पनि लाग्ने नै हुन्छ्न। आ.ब.२०७५/७६ मा राजश्वका दरहरु सिसिको आधारमा तोकिएको छ । १००० सिसिसम्मको कार,जिप, भ्यानमा आ.ब. २०७४/७५ को जस्तै भन्सार, अन्त:शुल्क र मुअकर दर लगाइने भएको छ । यसरी हेर्दा १००० सिसिसम्मका कार,जिप,भ्यानमा खासै मूल्य बृद्वी हुने देखिदैन । सडक मर्मत सम्भार दस्तुर भने गत आ.ब. मा मुल्यको ७ प्रतिशत अर्थात २२.७८ रहेकोमा यस आ.ब. मा १ प्रतिशत बढ्न गै कुल मुल्यको झण्डै ४ प्रतिशतको आधारमा सामान्य मुल्य वृद्धि हुने अबस्था छ । तर, १००० देखि १५०० सिसि सम्मका कार, जिप, भ्यानहरुमा साबिकको अन्त:शुल्क दर ६० बाट ६५, १५०१ देखि २००० सिसि सम्मका कार, जिप, भ्यानहरुमा ६० बाट ७०, २००१ देखि २५०० सम्म ६० बाट ८०, २५०१ देखि ३००० सम्म ६० बाट ९० र ३००० माथी ६० वाट बढाएर १०० प्रतिशत सम्म अन्त:शुल्क दर वृद्धि गरिएको छ । 

त्यसैगरी मर्मत सम्भार दस्तुर तर्फ पनि २००० भन्दा बढी सिसिमा ७ प्रतिशत बाट बढाएर १० प्रतिशत पुर्याइएको छ  । यसरी हेर्दा खासगरी बढी बिक्रि हुने १००१-१५०० सिसिका सिग्मेण्टमा ५ प्रतिशत अन्त:शुल्क बढ्दा ९ प्रतिशतको असर परेको छ भने अन्त:शुल्क १ प्रतिशत बढ्दा ४ प्रतिशतको असर देखिँदा कुल १३ प्रतिशत मूल्य वृद्धि हुने देखिन्छ  ।

यसरी हेर्दा साबिकमा २० लाख पर्ने गाडिको मूल्य २ देखि २ लाख ६० हजारसम्म बढ्न सक्छ । त्यसैगरी १५००१ देखि २००० सिसि सम्म बढेको अन्त:शुल्क १० प्रतिशत र सडक मर्मत सम्भार १ प्रतिशतको इम्प्याक्ट २२ प्रतिशत बढन गएको छ । २००१ देखि २५०० सिसिमा २० प्रतिशत अन्त:शुल्क बढेको छ भने सडक मर्मत सम्भार ३ प्रतिशत बढ्न जादा यो सिग्मेण्टको मूल्य वृद्धि गत बर्षको तुलनामा ४८ प्रतिशत सम्म वृद्धि हुन जान्छ । २५०१ देखि ३००० सिसि सम्मका भेइकलहरुमा अन्त:शुल्क ३० प्रतिशत र सडक मर्मत सम्भार ३ प्रतिशत बढ्दा सो को इम्प्याक्ट ७२ प्रतिशतले मूल्य वृद्धि हुन सक्ने अनुमान गर्न सकिन्छ । ३००० सिसि भन्दा बढीका गाडिहरुमा त ४० प्रतिशत अन्त:शुल्क वृद्धि भएको कारण र ३ प्रतिशत सडक मर्मत दस्तुर बढेको कारण ८४ प्रतिशतले मूल्य वृद्धि हुन सक्छ ।आयात भएको मुल्यमा भन्सार लाग्ने, मूल्य +भन्सारमा अन्त:शुल्क लाग्ने, मूल्य +भन्सार+अन्त:शुल्क मा मुअकर लाग्ने ब्यबस्था छ । त्यसैगरी सडक मर्मत सम्भार असुल गर्दा मूल्य तथा भन्सारबिन्दुमा लिएको सबै राजश्व जोडेर कायम भएको नयाँ मुल्यमा असुल गरिन्छ । माथी गणना गरिएका दरहरुमा अन्त:शुल्क बढेको कारणले मूल्य अभिबृद्वी करमा परेको असर लिएको छैन । तर पनि अब १००० सिसि भन्दा बढिका गाडिहरुको न्युनतम २ लाख चै बढ्ने नै देखिन्छ ।


लेखक नाडाका पुर्ब महासचिव,अर्थ बिज्ञ, लेखापरीक्षक तथा कानुन ब्यबशायी हुन् )

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved