सहारा एपका यात्रु र चालकलाई ५ लाखको बीमा, ६ महिनासम्म कमिशन पनि नलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 03:46:59 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । 

सम्झौतामा  सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले  हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । 

सम्झौता अनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ । यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उदेश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पार्टनर र यात्रु दुबैले बीमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरेका छन् । सहारा एपमार्फत दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए ।

यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिशन नलिने उद्घोष गरेको छ । बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्धेश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए । उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved