घरभाडा नतिरी फरार भयो ओप्पोको नेपाली वितरक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 04:14:15 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ स्मार्ट फोन ओप्पोको नेपाली वितरक घरबेटीको भाडा नतिरी भागेको छ । 

काठमाडौं महानगरपालिका ५ हाँडीगाउँस्थित हात्तीमहांकाल मार्ग घर नम्बर ९४/५८ भाडामा लिएर बसेको ओप्पो मोबाइलको वितरक डीएस नेपाल प्रा.लि. भाडा नतिरी भागेको हो । 

डीएस नेपालले घरधनी संगिता बस्नेतसँग महिनाको २ लाख ११ हजार ७५० रुपैयाँ घर भाडा तिर्नेगरी सम्झौता गरेको थियो । १ असार २०७३ देखि बस्दै आएको डीएस नेपालले गत बैशाखमा थप २ वर्षका लागि घर बहाल सम्झौता नवीकरण गरेको थियो ।

पहिलो पटक भएको सम्झौताको अवधि १ असार २०७५ मा सकियो । त्यसपछि पौष २०७५ मा मात्रै थप ३ वर्षका लागि भनेर सम्झौता नवीकरण भएको थियो ।

उक्त सम्झौता सकिएपछि बैशाख २०७९ २ वर्षका लागि सम्झौता भयो ।

सुरुमा २ पटक ओप्पो डीएस प्रा.लि.का तर्फबाट सम्झौता भएको र चिनियाँ नागरिकले नै हस्ताक्षर गरेको भएपनि गत बैशाखमा भएको सम्झौतामा भने कम्पनीको नाम डीएस नेपाल प्रालि राखिएको घरधनीले जनाएकी छिन् । 

तेस्रो पटकको सम्झौतामा चिनियाँ नागरिकले नभई कम्पनीको तर्फबाट नेपाली नागरिक उत्तमबहादुर न्येसारले हस्ताक्षर गरेका छन् ।

तर, कम्पनी गत असारदेखि भाडा नदिइ फरार छ । सम्झौता घर छोड्ने भए वा छोड्न लगाउने भए कम्तीमा ३ महिना अगाडी नै जानकारी दिनुपर्ने उल्लेख छ । जेठमा घर खाली गर्न लागिएको भनेर कम्पनीले घरधनी बस्नेतलाई इमेल भने पठाएको थियो ।

त्यसपछि घरधनीले सम्झौता अनुसार ३ महिनाको अग्रिम जानकारी दिन र घर मर्मत गर्न भने । उनीहरुको उक्त कुरामा कुनै उत्तर कम्पनीले दिएन । एकैपटक छिमेकीले घर खाली रहेको जानकारी गराएपछि मात्रै थाहा पाए । 

सम्झौता अनुसार घर भाडा भूक्तानी गर्न घरधनीले ओप्पोको नेपाल प्रमुख रहेका चिनियाँ नागरिक ली जेङलाई अनुरोध गरिएको तर, उनले धम्कीको भाषा प्रयोग गर्दै भाडा नतिर्ने अडान राखेको जनाएका छन् । 

घरधनी बस्नेतले कानूनी उपचारमा जान लागेको बताएकी छिन् । उनले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्न लागिएको बताएकी छिन् । 

उनका अनुसार ६ लाख ३३ हजार घरभाडा कम्पनीले तिर्न बाँकी छ । सम्झौता अनुसार घर छाड्ने बेलामा कम्पनीले घर मर्मत गरिदिनु पर्ने सर्त अनुसार घर मर्मतका लागि १० देखि १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

‘बीस बाइस लाख पैसाको कुरो होइन, हाम्रै देशमा आएर, ब्यापार गरेर, हामीलाई नै धम्की दिने कुरा गरेपछि हामी बाध्य भएर अदालत जाँदै छौँ’ उनले भनिन् । 

हेर्नुहोस् कागजातः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved