काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय भएको दुई अर्ब लगानीको राष्ट्रिय खाद्य बैंकले अहिले देशका विभिन्न स्थानबाट अर्गानिक खाद्य सामाग्री ल्याएर भक्तपुरको लोकन्थलीस्थित आरकेबीएल मार्टमार्फत बिक्री गर्दै आएको छ । उसले उक्त मार्टका सामान काठमाडौँका सम्पूर्ण ठाउँमा नि:शुल्क डेलिभरीसमेत गर्दै आएको छ ।
राष्ट्रिय खाद्य बैंक नेपालमा उत्पादित कृषि उत्पादनहरूलाई बजारीकरण र भण्डारण गर्ने उद्देश्यसहित २०७७ कात्तिकमा स्थापना भएको हो । योे बैंकले उत्पादन भण्डारण बिक्री वितरणसहित रैथाने बालीको संरक्षण गर्दै अर्गानिक कृषि उत्पादन बिक्री गर्दै आएको छ । बैंकले विषादीरहित स्वस्थ खानेकुराहरू मात्र बजारिकरण गर्दै आएको छ । एक लाखभन्दा बढी स्थानीय किसानहरूसँग सहकार्य गर्दै आइरहेको खाद्य बैंकका अध्यक्ष शंकर उप्रेतीले बताए ।
“हामी रैथाने बीउ बीजनलाई पनि प्राङ्गरिक खेती प्रणालीबाट अरु ठाउँबाट आइरहेका हाइब्रेडभन्दा बढी कसरी फलाउन सकिन्छ, त्यसबाट कसरी धेरै आम्दानी गर्न सकिन्छ भन्दै अनुसन्धान र अध्ययन गरेर अगाडि बढिरहेका छौँ” उनले भने । २ अर्ब रुपैँया लगानीमा सञ्चालन भएको यस खाद्य बैंकले हाल सम्म १ अर्बको कारोबार गरिसकेको उनले बताए ।
उप्रेतीका अनुसार यो पब्लिक लिमिटेड कम्पनी हो । आईपीओमा जाने तयारी छ । अहिले ९०० भन्दा बढी प्रमोटर शेयर सदस्य सहभागी भएका छन् । दुई अर्ब पुँजीमध्ये आईपीओका लागि ३० प्रतिशत अर्थात् ६० करोड र प्रमोटरका लागि एक अर्ब ४० करोड गरी २ अर्ब रुपैयाँ पुँजी संकलन गरेर अगाडि बढ्ने गरी काम गरिरहेको छ ।
“नेपालमा यो एउटा मात्र बैंक हो, जसले विषादीरहित खानेकुरा उत्पादन गर्छ, रसायन नभएका खानेकुरा बनाएर रैथाने बालीहरुको संरक्षण गर्दै, बीउ-बीजनदेखि बाली उत्पादन गरेर भन्डारण, ग्रेडिङ र प्रशोधन गर्ने काम गर्छ । त्यसका लागि हामीले बैंक परिकल्पना गरेर स्थापना गरेका हौँ”, उनले भने,
यसरी किसानको बैंक बन्यो
राष्ट्रिय खाद्य बैंकमा किसानले आफैँले बिना रसायन उत्पादन गरेका खाद्य वस्तु बिक्री गर्न पाउँछन् । “राष्ट्रिय खाद्य बैंक भनेको किसानको बैंक हो । किसानको आस्थाको केन्द्र भनेको नै यो खाद्य बैंक हो,” उप्रेतीले भने, “किनकी किसानहरुलाई उत्पादन गर्न हाम्रा प्राविधिकले बीउ दिनुहुन्छ । प्राङ्गारिक खेती प्रणाली सिकाउनुहुन्छ । रसायन बिनाका खाद्य वस्तु किसानले उत्पादन गर्नुभयो भने यस बैंकमार्फत बिक्री गर्न सक्नुहुने छ ।”
यो बैंकको मुख्य उद्देश्य भनेको देशलाई कृषिमा आत्मनिर्भर बनाउने मात्र नभई आवश्यकता अनुसार आयात र निर्यात गर्ने हो । कृषिमा देशलाई आत्मनिर्भर बनाउनेभन्दा अहिले बाहिरी देशबाट कृषिजन्य वस्तु ६ खर्बबढीको आयात भइरहेको छ । त्यसलाई क्रमशः कम गर्दै स्वदेशी वस्तुहरूले अथवा नेपालभित्रै उत्पादन भएका कृषि उपजहरूले नै पुर्याउने गरी उत्पादन गर्ने यो बैंकको उद्देश्य हो ।
खाद्य बैंकले अहिले देशका ३४ जिल्लामा रहेर कार्य गरिरहेको छ । उप्रेतीका अनुसार अरु बैंकका जस्ता यो बैंकका धेरै शाखा हुँदैनन् । पूर्वको झापामा छ, त्यसले सम्पूर्ण पूर्वको नेतृत्व गर्छ । पश्चिमको बर्दियामा छ, त्यसले सम्पूर्ण पश्चिमको नेतृत्व गरिरहेको छ । त्यस्तैै अन्य ठाउँहरूमा उत्पादनसँग जोडिने खालका कुरामा प्रविधिहरू पठाउने, प्राविधिकहरूले गएर काम गर्ने गरेको चाहिँ ३४ जिल्ला पुगेको छ ।
कसरी आयो खाद्य बैंकको सोच
यो कम्पनीको सोच अध्यक्ष उप्रेतीले आफैँले गरेको कामबाट आएको हो । उप्रेतीले लगभग २५ वर्षसम्म कृषि उत्पादन क्षेत्रमा काम गरेका थिए । “पहिला कोही उत्पादनमा मात्र काम गर्ने कृषि कम्पनीहरु थिए । कोही बजारिकरण मात्र गर्ने, कोही प्रशोधन मात्र गर्ने, प्याकेजिङ गर्ने, भन्डारण गर्ने थिए ।
“एउटा टिमले उत्पादन गर्ने, अर्को टिमले नबेचिदिने समस्या हामी भित्र छ”, उनले भने, “त्यही भएर केही अनुभव भयो भने सबै काम आफैँ गरेर सिधै किसानको आलीदेखि उपभोक्ताको थालीसम्म पर्याउनुपर्छ भन्ने ज्ञानका साथ हामीले यो खाद्य बैंकको स्थापना गरेका थियौँ ।”
लोकन्थलीमा आरकेबीएल मार्ट पनि
कृषकले उत्पादन गरेका सम्पूर्ण सामाग्रीहरू राष्ट्रिय खाद्य बैंकले नै आफ्नो गोदाममा भण्डारण गरी प्रशोधन र प्याकेजिङ्ग गरेर लोकन्थलीस्थित आरकेबीएल मार्टबाट बिक्री गर्दै आएको छ । जसले किसानले उत्पादन गरेका सामाग्रीहरू सिधै उपभोक्ताका चुलामा पुग्ने गरी यो राष्ट्रिय खाद्य बैंकको डिजाइन गरिएको हो ।
हाल बैंकले चामल, तोरीको तेल, चुक अमिलो, खैरो भटमास, घीउ, बेसार, मह, भाँगो, मस्याङ, चिया, कफी, दही, दुध, गेडागुडीलगाएतका कृषि सामाग्री बिक्री गर्दै आएको छ ।
यस आरकेबीएल मार्टमा सामानहरु बजारमा भन्दा सस्तो पाइन्छ । जस्तैः बजारमा ११ सय पर्ने नौनी मार्टमा ९ सयमा पाइन्छ । सिलाम, सक्खर, आलस यी सबै लोकल रैथाने जातका पोषणयुक्त, फाइबरयुक्त, विषादी र रसायनरहित सामान मार्टमा सुपथ मूल्यमा उपलब्ध छन् ।
“खान योग्य स्वादिला खालका, रोगसँग लड्न सक्ने क्षमता भएका खानेकुराहरुलाई आफैँले उत्पादन गरेर बजारिकरण गरिरहेका छौँ, उपभोक्ताको मागअनुसार सामान पुर्याउन हामीलाई हम्यहम्य परेको छ” अध्यक्ष उप्रेतीले थपे । उक्त मार्टका सामान काठमाडौँमा निशुल्क डेलिभरी हुने गरेको उनले बताए ।
यस्ता छन् दीर्घकालीन योजना
खाद्य बैंकले प्राङ्गारिक मल उद्योगहरू सञ्चालनमा ल्याउने भएको छ । त्यसैगरी बीउ-बीजन भण्डारण आफैँले सञ्चालनमा ल्याउने, कृषि कलेजहरू सञ्चालनमा ल्याउने, दक्ष जनशक्ति उत्पादन, देशलाई खाद्यान्नमा आत्मनिर्भर गरी बढी भएका खाद्यान्नहरू विदेश निर्यात गर्ने, कृषिलाई औद्योगिकरणमा लाने, कृषिसँग सम्बन्धित उद्योगलाई सञ्चालनमा ल्याउने पनि बैंकको योजना छ ।
कृषिमा चाहिने मेशिनरी औजारहरू आफ्नैँ देशमा बन्न सक्ने जति निर्माण गर्ने, देशलाई समृद्धि बनाउने, किसानलाई धनी बनाउँदै देशलाई आत्मनिर्भर गराउने र अर्गानिक वा प्राकृतिक खानेकुराहरू उत्पादन गर्ने खाद्य बैंकको दीर्घकालीन योजना रहेको उनले सुनाए ।
सरकारले गर्नुपर्ने काम
उनले नेपालमा कृषि ऐन नभएकाले तत्कालै ल्याउनुपर्ने औँल्याए । उनले कृषिलाई मर्यादित र सम्मानीत पेशा बनाउन र किसानलाई करका नाममा एउटै ठाउँबाट पटकपटक कर लिने नियम हटाउन सुझाव दिए ।
नेपालमा उत्पादन भइरहेका वस्तुहरुको बाहिरबाट आयातमा रोक लगाउनुपर्ने, नेपालमा उत्पादन भएका कुराहरु सरकारले हामीलाई कोलस्टोर गर्न दिनुपर्ने उनको भनाइ छ । उनले यसरी कोल्ड स्टोर बनाउन दिए तीन वर्ष भित्रमा देशलाई पुग्ने खाद्य वुस्त उत्पादन गरेर देशका सम्पूर्ण क्षेषेत्रमा पुर्याउन राष्ट्रिय खाद्य बैंक तयार रहेको दाबी गरे ।