विश्वकप क्रिकेट प्रतियोगितामा मंगलबार श्रीलंका र बंगलादेश भिड्दैछन् । खेल ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
बंगलादेश र श्रीलंका दुवैलाई दबाब उत्तिकै छ । यी दुवै टिमले पहिलो तीनमध्ये एक खेल मात्रै जितेका छन् । अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।
बंगलादेशको तुलनामा श्रीलंका भने केही सहज अवस्थामा भने छ । एक जित र पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ ।
अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशबिरुद्ध नखेल्ने सम्भावना बढेको छ । उनको अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ ।
आज खेल हुने ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान पनि गरिएको छ । मौसमलाई ख्याल गरेर छोटो ओभरको खेल खेलाउने तयारी छ ।