कहिल्यै आफ्नो गल्ति नस्वीकार्ने नेपाली हामी, अहिलेपनि नसुध्रिए अब कहिले सुध्रिने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2021 | 02:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

मार्केटिङ अर्थात व्यवसायको क्षेत्रमा एउटा भनाइ छ । ग्राहक कहिल्यै गलत हुँदैनन् । व्यवसायमा कुरा खरिद र बिक्रीसँग जोडिएको हुन्छ । खरिदकर्ता बिना व्यवसायको कल्पना पनि गर्न सकिदैन अर्थात् ग्राहक बिनाको व्यवसाय असम्भव छ । त्यसैले ग्राहक जहिल्यै सहि हुन्छन् भलै ग्राहकको तर्क वा दाबी सैद्धान्तिक वा प्राविधिक रुपमा सहि नहोस् । 

तर के कुनै पनि देशका नागरिक सँधै सहि हुन्छन् त ? यदि हुन्थे भने त्यो देशमा दण्ड र जरिवानाको कानुन हुदैन थियो । राज्यको कानुन अर्थात् संविधानले निर्देश गरेको त्यस देशको प्रशासनले निर्देशन दिए विपरित कुनै पनि व्यक्तिले गल्ति गर्छ भने ऊ दण्ड र जरिवानाको भागिदार हुन्छ । त्यसैले त नेपाल लगायत विश्वका सबै देशहरुमा सहि र गलत छुट्याएर सहि मार्गमा हुनेलाई पुरस्कृत र गल्ति गर्नेलाई दण्ड दिनको लागि अदालत हुन्छ । कानुनको नजरमा गल्ति गर्नेलाई गल्ति अनुसारको सजाय दिनलाई जेलको व्यवस्था गरिएको हुन्छ । कतिपय गल्तिका लागि आर्थिक, नैतिक तथा सामाजिक दण्डको समेत व्यवस्था हुन्छ ।

सन्दर्भ कोभिड – १९ को 

चीनको वुहानमा कोभिड – १९ भाइरस देखिए पछि यसले आर्थिक, राजनीतिक तथा प्रशासनिक रुपमा बलिया तथा शक्तिशाली देशहरुलाई समेत घुँडा टेक्न बाध्य बनाएको छ । हाल कोरोना विरुद्धको खोप परीक्षणको अवस्थामा रहेपनि चीनको वुहानमा यो भाइरस भेटिएपछि विश्व स्वास्थ्य संगठनले यसबाट बँच्ने उपाय भनेको भौतिक दुरी र स्वस्थ जीवनशैली भन्दै आएको छ ।जुन कुरा संयुक्त राष्ट्रमा भिटोको प्रयोग गर्ने अधिकारप्राप्त शक्तिशाली राष्ट्र अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस मात्र होइन, गरीब र पिछडिएका देशको सूचिमा पर्ने अफ्रिकन मुलुकदेखि नेपाल सरकार सम्मले भन्दै आएका छन् । 

चीनको वुहानमा कोरोना भाइरस देखिएपछि गत चैत ११ देखि नेपालमा लकडाउन घोषणा गरिएको यथार्थ हामी माझ छदैछ । कोरोनाको पहिलो लहर सकिएर दोश्रो लहर र भारत लगायतका केही देशमा तेस्रो लहरसम्मको चर्चा भोग्दासम्म हामीले तयारीको लागि झण्डै वर्षदिन भन्दा बढिको अवधि पायौँ । तर हिजोआजको नेपालको अवस्था हेर्दा हाम्रो तयारी कति रहेछ भन्ने कुरा हाम्रो आँखा अगाडि प्रष्टै छ । 

तयारी नपुगेको वा तयारी नै नगरेको भनेर नेपाली जनताले सरकार अर्थात् स्थानीय, प्रादेशिक तथा संघीय सरकारको आलोचना गर्दै आएका छौँ र अहिलेपनि गरिरहेका छौँ । तयारी नपुग्दा आलोचना गर्नुपनि पर्छ तर सरकारले केही नगर्दा के हामी नेपाली जनताले कोरोना भाइरस फैलिन नदिन आफ्नो तर्फबाट तयारी गर्यौं त ? यो अहिलेको अहम् प्रश्न हो । 

"सरकारले केही नगर्दा के हामी नेपाली जनताले कोरोना भाइरस फैलिन नदिन आफ्नो तर्फबाट तयारी गर्यौं त ? यो अहिलेको अहम् प्रश्न हो ।"

हो, राजनीति गर्नेले सत्ता तथा अन्य स्वार्थको लागि कोरोनाको महामारीबाट बँच्न यसको न्यूनीकरण गर्नलाई केही गरेनन् रे । बरु सत्ता पक्ष होस् वा सत्तामै रहेर प्रतिपक्षको भूमिकामा बसेका हुन् वा प्रतिपक्षले हुन्, यिनीहरुले यो बीचको एक वर्षमा कयौं पटक आन्दोलन गरे, नाराजुलुस गरे । नेताले मात्र होइन, यहाँ पुर्व राजा समेत दशौँ लाखको भिड जम्मा हुने कुम्भ मेलामा सामेल भएर आए । नेता तथा पुर्व राजाले गल्ति गरकै हो, के नेपाली जनताले कोरोनाको महामारीबाट बँच्नलाई आफ्नो जिम्मेवारी पुरा गरे त ?

कोरोनाको पहिलो लहरको महामारी चेतिसकेका नेपाली जनताले यस एक वर्षको बीचमा गरेका गतिविधि फर्केर हेर्ने हो भने नेपाली जनताले आफ्नो जिम्मेवारी पूर्ण रुपमा बिर्सिए भन्दा गलत नहोला । विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ पूर्तिका लागि शक्ति प्रदर्शनमा ठुलो भिड जम्मा गरे, के त्यो भिड कुनै विदेशी नागरिक आएर भएको हो ? ठिक छ पुर्व राजाले आफ्नो भविष्य सम्झिएर कुम्भ मेलामा सहभागी भए, के तत्कालिन प्रजाहरुले कुम्भ मेला नगएर आफ्नो जिम्मेवारी पुरा गरे ? 

"नेपालका जनता जो सानो सानो कुरामा समेत सरकारलाई सराप्छन्, उनीहरुले कोरोना भाइरस फैलिन नदिनलाई आफ्नो जिम्मेवारी पुरा गरे त ?"

युरोप अमेरिका तथा खाडीका विकसित मुलुक जहाँ कोरोनाको पहिलो लहर नियन्त्रणमा लिएका छन् र दोस्रो तथा भविष्यमा आउने लहरको तयारी पुरा गरेका छन्, यी मूलुकमा यस एक वर्षमा केही अपवाद बाहेक सार्वजनिक रुपमा हजारौँको संख्यामा मानिसहरु भिड हुने काम गरेका छैनन् । यतिसम्म कि त्यहाँ आयोजना भईरहेका फुटबल, क्रिकेट जस्ता ठुला टुर्नामेन्ट समेत मैदानमा बिना दर्शक सम्पन्न भए । तर यस एक वर्षको बीचमा नेपालमा फुटबल तथा क्रिकेटका ठुला टुर्नामेन्ट समेत भए तर यहाँ कोरोनालाई पूर्ण रुपमा बिर्सिएर हजारौँको संख्यामा मानिसहरु मैदान पुगेर खेलको मनोरञ्जन लिए । हो, यहाँ नेपाल सरकार चुक्यो तर नेपालका जनता जो सानो-सानो कुरामा समेत सरकारलाई सराप्छन्, उनीहरुले कोरोना भाइरस फैलिन नदिनलाई आफ्नो जिम्मेवारी पुरा गरे त ?

अहिले उपचारको लागि अस्पताल पुगेकाहरुलाई महंगो शुल्क तिर्नु परेको भनिएको छ, सरकारले आफ्नो जिम्मेवारी पुरा गरेन, सरकारी अस्पतालले व्यवस्थित रुपमा काम गर्न सकेनन् रे, के निजी अस्पतालले अन्य सामान्य बेलाकै जस्तो शुल्क लिएर आफ्नो जिम्मेवारी पुरा गरेका छन् त ? हो, यो बेला आफू स्वस्थ रहने र आफ्नो कारण अरुलाई अस्वस्थ नबनाउने नै हो । यसका लागि सरकार आएर लाठी नै बर्साएपछि मात्र स्वास्थ्यका मापदण्ड पुरा गर्ने सोच बनाउनु भन्दा भौतिक दुरी कायम गरी आफ्नो क्षेत्रबाट आ–आफ्नो जिम्मेवारी पुरा गर्ने बेला हो । 

"अमेरिका जस्तो देशमा समेत महामारीको बेला सबै ठाउँमा सरकार पुग्न सक्दैन, जहाँ जनतालाई नआफ्नो जिम्मेवारी थाहा छ न अधिकार, जहाँ चुनौतिलाई सत्ता प्राप्तिको अवसर ठानिन्छ त्यस्तो नेपाल जस्तो अव्यवस्थित देशमा सरकारको उपस्थितिको कल्पना गर्नु दिवासपना जस्तै हो ।"

अमेरिका जस्तो देशमा समेत महामारीको बेला सबै ठाउँमा सरकार पुग्न सक्दैन, जहाँ जनतालाई नआफ्नो जिम्मेवारी थाहा छ न अधिकार, जहाँ चुनौतिलाई सत्ता प्राप्तिको अवसर ठानिन्छ त्यस्तो नेपाल जस्तो अव्यवस्थित देशमा सरकारको उपस्थितिको कल्पना गर्नु दिवासपना जस्तै हो । त्यसैले पहिले आफू स्वस्थ रहने, त्यसपछि आफ्नो परिवार र छिमेकीलाई स्वस्थ राख्ने र अप्ठ्यारोमा मद्दत गर्ने ठुलो जिम्मेवारी नेपाली जनताको काँधमा छ । 

स्थानीय तथा संघीय सरकारले कोरोनाको महामारी नियन्त्रण तथा न्यूनीकरण गर्नलाई देशका विभिन्न ठाउँमा निषेधाज्ञा घोषणा गरेको छ । यस बीचमा दैनिक जीवनसँग जोडिएका केही कामकाज गर्नलाई विशेष सर्त सहित सुविधा दिइएको छ । तर त्यो सुविधा प्रयोग गर्दा, तोकिएको समयमा पसल जाँदा, कार्यलयमा पुगेर काम गर्दा कोरोना भाइरस नसर्ने होइन । यसलाई राज्यले दिएको सुविधा सम्झिएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बेला हो यो । 

कहिल्यै आफ्नो गल्ति नस्वीकार्ने भएर होइन, यस एक वर्षमा हामीले आफ्नो ठाउँबाट गरेका गल्ति स्वीकार गरी त्यसलाई सुधारेर जिम्मेवार नागरिक बन्ने बेला हो । कोरोनाको महामारीबाट बँच्नलाई पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड र परिवार, छिमेकी र समाजप्रति पुरा गर्नुपर्ने जिम्मेवारी निभाउने बेला हो ।  दुख्दा सबैलाई दुख्छ मात्र आफूलाई नपर्दासम्म मात्र त्यसको महत्त्व कम हुने हो । आज जो जहाँ जसरी अप्ठ्यारोमा परेका छन् त्यस ठाउँमा भोलि म पनि पर्न सक्छु भन्ने सोच राखेर आफ्नो क्षेत्रबाट आफुले सकेको, आफ्नो हैसियतले भ्याएसम्म सहयोग गरी मानव हुनुको धर्म निभाउने बेला हो यो। होइन र ?

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved