नेपाली सांगीतिक आकाशका एउटा चम्किलो तारा हुन्, गायक प्रकाश सपूत । ‘दोहोरी ब्याटल’बाहेक उनका सिर्जनाले ‘प्रश्न’ गरिरहेको पाइन्छ । मूलतः गीतिकथामा आधारित रहेर तयार भएको सपूतको नयाँ गीत ‘पिर’ यतिबेला चर्चाको शिखरमा छ ।
युट्युबमा सार्वजनिक भएको ३ दिनमा ५६ लाख बढी पटक यो गीत हेरिएको छ । १६ मिनेट लामो भिडियोमा शब्दहरू त शक्तिशाली छन् नै, कथा र सोही अनुसारको दृश्यले जो कोहीको मथिङ्गल हल्लाउँछ ।
सामाजिक सञ्जालमा अहिले यो गीतका विषयमा पक्ष र विपक्षमा मत व्यक्त भइरहेका छन् ।
माओवादी जनयुद्धको सेरोफेरोलाई टिपेर त्यसमा होमिएकाहरुको कारुणिक कथा हो ‘पिर’ । माओवादी आन्दोलनले दिलाएका उपलब्धि स्वीकार्दै व्यवस्था परिवर्तन भएपनि बिहान बेलुकाको छाक टार्न त्यतिबेलाका योद्धाहरु फरक कर्ममा लाग्न बाध्य भएको तथ्य यो गीतले बोलेको छ ।
बरालिएको माओवादी र प्रकाशको कथाबस्तु
कुमार नगरकोटीको चर्चित कविता छ, ‘उ कम्युनिष्ट मेनिफेष्टो पढिरहेछ’ । नगरकोटीले कवितामा भनेजस्तै प्रकाश सपूतको गीतिकथामामा पनि योद्धाहरु दुःखमा पनि क्रान्तिका किताबहरु पढिरहन्छन्, विदेश जानुपर्दा पनि झोलामा केही थान प्रगतिशील पुस्तकहरु बोक्छन्, आन्दोलनप्रति उनीहरुको विश्वास छ, गर्व छ भन्ने कुरा प्रष्टैसँग देखाईएको छ ।
सँगै, बरालिएको माओवादीलाई प्रकाशले कयौ अनुत्तरित प्रश्नका बिस्कुन थुपारिदिएका छन् । जनयुद्धबाट प्राप्त केही राजनीतिक उपलब्धिलाई स्वीकार्दै आम नागरिकको अवस्था बदल्ने कार्यभारबाट माओवादी बरालिएको दृष्टान्त गीतिकथामा छ ।
युद्धका बेला कमजोर वर्गलाई माओवादीले प्रयोग गरेकै हो भन्ने कुरा नकार्न सकिँदैन । तर, अहिले माओवादीका केही सीमित व्यक्तिहरु रातारात धनी भए, युद्धमा दुःख गर्ने आम कार्यकर्ताको जीवनस्तर उठ्न नसक्ने गरी थला पर्यो । माओवादी नेतृत्वको चरम महत्वकांक्षा र स्खलन नै सपूतको गीतिकथाको विषयबस्तु बनेको छ ।
माओवादीका नबधनाढ्यहरूलाई ‘पिरोल्ने’ ‘पिर’
१६ मिनेट लामो गीतिकथाको भिडियो सार्वजनिक भएपछि माओवादीका भातृ संगठन यसको विरोधमा विज्ञप्तिबाजी गर्न थाले भने माओवादी इतरका दलहरु र तीनका समर्थकले माओवादीलाई खुल्याउने मसला पाए ।
तर, माओवादीभित्र आलोचनात्मक चेत नभएकाहरुलाई यो गीतले बेस्सरी पिरोलेको पाइन्छ । यद्यपी, यो गीत आक्रोश, बिद्रोही र आशावादी कुनैपनि होइन । केवल यसले क्रान्तिका कारण एउटा परिवारले भोग्नुपरेको चरम निराशी जीवन देखाएको छ ।
यहाँनेर एउटा कुरा स्मरण गरौँ, माओवादी लडाकुहरुले आफ्नो गाँस कटाएर जम्मा गरेको पैसाले एउटा अस्पताल सञ्चालनमा ल्याएका थिए । त्यतिबेला अस्पताल सञ्चालनका लागि पैसा संकलनको नेतृत्व तत्कालिन डेपुटी कमाण्डरहरूमध्ये हालका अर्थमन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वकृषिमन्त्री बलदेव खनालले पाएका थिए । उनीहरुले शिविरमा रहेका सबै सेनाबाट मासिक१ हजार रुपैयाँका दरले पैसा उठाए । यो पैसा सेनाहरुले खुशीसाथ दिएका थिए ।
२०६४ सालबाट जनमैत्री अस्पताल सञ्चालन आयो पनि । तर, विगत ४ वर्षदेखि बन्द थियो । यद्यपी, कोरोना महामारीका समयमा कोभिड अस्पतालका रुपमा यसलाई सञ्चालनमा ल्याईयो ।
तर, पूर्व जनमुक्ति सेनाको पसिनाले उभिएको यो अस्पताल जनार्दन शर्माले बेचिदिए । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राज्यमन्त्री रहेका मेडिकल कलेजका व्यवसायी उमेश श्रेष्ठले १ अर्ब २५ करोडमा यो अस्पताल किने ।
यो प्रसंग यहाँ किन जोडिएको हो भने, अहिले प्रकाश सपूतको पिरले यसरी जनयुद्धका योद्धाहरुको पसिना बेचेर रातारात नबधनाढ्य बनेका माओवादी नेताहरुलाई नराम्रोसँग पिरोलेको छ । योद्धाहरूलाई शिविरभित्र थुनेर उनीहरुलाई सरकारले दिएको रासनपानी र रकम माओवादीका सिमित नेताहरुले खोसेको आक्रोश पूर्व जनमुक्ति सेनाहरुको अझैपनि छ ।
त्यसकारण, औंला भाँचेर गन्न सकिने सिमित माओवादी नेतालाई धनी बनाएर शरीरको कुनै न कुनै भागमा गोली बोकेर रित्तो हात घर फर्किन बाध्य पारिएका र त्यसपछि नेतृत्वको कुनै वास्ता खोजीमा नपरेका पूर्व लडाकुहरुको प्रश्न हो ‘पिर’ ।