'क्रिप्टोकरेन्सी भोलिको मुद्रा, तर हतार गरेर जोखिम नमोलौं', नीरव पुडासैनीको लेख

नीरव पुडासैनी

नीरव पुडासैनी

Mar 15, 2022 | 11:44:27 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्लकचेन एउटा यस्तो प्रणाली हो, जसको सहयोगले ह्याकिङ, चोरी ठगी वा यस्ता कुनै नोक्सानीलाई असम्भव बनाउने भगिरथ प्रयास गरिरहेको हुन्छ । यस्तै प्रयासको नतिजा हो क्रिप्टोमुद्रा ।

क्रिप्टोमुद्रा वा क्रिप्टोकरेन्सी क्रिप्टोग्राफीमा आधारित हुन्छ । हिजो आज बजारमा यस्ता हजारौ क्रिप्टोकरेन्सीहरु प्रयोगमा आईरहेका छन् । बिटक्वाइन, ईथेरियम, लाइटकोइन , डोजीकोइन, सोलोना आदी यसका केहि प्रचलित उदाहरणहरु हुन् ।

जनवरी २०२२ सम्मको रेकर्ड हेर्ने हो भने संसारमा यस्ता ८ हजार भन्दा धेरै क्रिप्टोकरेन्सीहरु कारोबार भईरहेका पाईन्छन् । सातोसी नाकामोतो भन्ने व्यक्तिले सन् २००८ मा बिटक्वाइनलाई प्रयोगमा ल्याएका हुन् । यो बाहेक ति व्यक्तिको कुनै जानकारी संसारमा कसैलाई पनि छैन भन्दा गलत होइन्न । नाकामोतो एक छन्दनामधारी व्यक्ति हुन् जसले बिटक्वाइन मार्फत पियर टु पियर सुरक्षित लेनदेनहरुलाई सम्भव गराए । यसकारण हामी के भन्न सक्छौ भने क्रिप्टोकरेन्सी एउटा विकेन्द्रित मुद्रा हो । जुन ब्लकचेन नेटवर्क मार्फत बेनामी रुपमा विनिमयको लागि कारोबार गर्न बनाईएको वा प्रयोगमा ल्याईएको औजार हो । यहि कारण यसमा कुनै बैंक, सरकार वा कुनै सरकारी निकाय कसैको पनि कुनै किसिमको (प्रत्यक्ष वा अप्रत्यक्ष) संलग्नता हुदैन । साथै यसमा राज्यको कुनै किसिमको जमानी हुदैन । कारोबार गर्ने व्यक्ति र संस्थाहरुबिचको स्वीकृतिको आधारमा मात्र यसको प्रयोग भएको हुन्छ ।

तसर्थ यसमा काउन्टर इकोनोमिक हिटम्यानको संलग्नता छ कि भन्ने संशयात्मक आशंका उत्पन्न हुन सक्छ। इकोनोमिक हिटम्यान त्यस्ता व्यक्तिहरु हुन्, जसले कसैको इसारामा कुनै पनि देश वा ठूला संस्थाहरुको आर्थिक कारोबार वा सम्पतिलाई विभिन्न षड्यन्त्र मार्फत ध्वस्त बनाउने प्रयास गर्छन् । क्रिप्टोकरेन्सीलाई यसको सिराबाट पनि हेरिनु पर्छ भन्दा अन्यथा नहोला ।

हुनत हिजो आज विभिन्न कम्पनीहरुले क्रिप्टोमुद्रालाई भुक्तानीको माध्यमको रुपमा प्रयोगमा ल्याएको देखिन्छ । स्टारबक्स, राकुटेन, ट्वीच, ए.एम.सि सिनेमाहरु, न्युएग जस्ता कम्पनीहरुले क्रिप्टोमुद्रालाई आफुले बिक्रि गर्ने वस्तु तथा सेवाको लागि यस मार्फतको भुक्तानीलाई स्वीकार गरिसकेका छन् । मध्य अमेरिकी देश एल साल्भाडोरले क्रिप्टोकरेन्सीलाई वैधानिक मुद्राको रुपमा हालै प्रयोगमा ल्याएको देखिन्छ । उसले बिटक्वाइनलाई कुनै पनि कम्पनीको वस्तु तथा सेवा प्रयोग गरेवापत भुक्तानीको रुपमा प्रयोग गर्न सक्ने कानुन बनाईसकेको छ । यसलाई आंशिक भुक्तानीको माध्यम बनाएका मुलुकहरुले पनि यसलाई जोखिमयुक्त सम्पति भनेर नै मानेका छन् । यसकारण पनि नेपाल जस्तो देशले यसको बारेमा धेरै हतार गर्नु अत्यन्त प्रतिउत्पादक हुन्छ । यस विषयमा धेरै भन्दा धेरै जानकारी हाँसिल गरेर बस्नु पर्छ तर प्रयोगको बेला अझै भएको छैन ।

टेस्लाका सीइओ एलन मस्कले सुरुमा बिटक्वाइनलाई साथ दिए र आफ्नो कम्पनीको गाडी किन्न यस मार्फत भुक्तानी गर्न सकिने बाटो खोले । तर केहि समयपछि उनले त्यो बन्द गरिदिए र पछि डोजीकोइनलाई साथ दिए । यो उदाहरण नै काफी छ, यस्ता मुद्राहरुको अनिश्चितता बुझ्न । जतिपनि देशहरुले यसको कारोबारलाई आंशिक वैधानिकता दिएका छन्, उनीहरुले पनि यस्तो कारोबार जिम्मा कारोबारी आफैले लिनु पर्ने र कुनै नोक्सानी भए सरकार वा केन्द्रीय बैंक जिम्मेवार नहुने भन्दै आएका छन् । हिजोमात्र संयुक्त अधिराज्य बेलायतले बिटक्वाइनका एटिएमहरुलाई बन्द गर्न आदेश दिएको देखिन्छ 

विश्वव्यापारीकरणको युगमा यस्ता कारोबारलाई पूर्ण रुपमा प्रतिबन्ध गर्न सकिदैन । यहि कारण यस्ता देशहरुले क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याउन र नियमन गर्न बाध्य भईरहेको देखिन्छ । तर यसको अर्थ सम्बन्धित  देशको सरकार वा तिनको नियामक निकायको पूर्ण स्वीकृति होईन ।  जसरी हामीले हाम्रो पैसालाई सुरक्षित रुपमा बैंकमा जम्मा गर्छु, त्यसैगरी क्रिप्टोकरेन्सीलाई पनि व्यक्तिको खाता वा भनौ डिजिटल वालेटमा जम्मा गर्छौ  । यस्ता वालेटमा जम्मा गर्न क्रिप्टोकरेन्सी दुई तरिकाले आर्जन गर्न सकिन्छ । एउटा, क्रिप्टोमुद्रा कारोबार हुने एक्सचेन्ज मार्फत खरिद गर्ने र अर्को, आफैले माईनिङ गर्ने ।

कम्पुटर सफ्टवेयर र विशेष किसिमको हार्डवेयर मार्फत गणितीय क्रिप्टोग्राफी र विभिन्न एल्गोरिदमहरुको समाधान गरेर क्रिप्टोकरेन्सी माईनिङ गरिन्छ ।  तर यसको लागि कम्प्युटर तथा इलेक्ट्रिकल इन्जिनियरिङको राम्रो ज्ञान हुनु जरुरी हुन्छ । तसर्थ यो सबैको लागि उपयुक्त र सम्भव हुदैन । जति जति त्यस्ता मुद्राहरुको बजार भाउ वृद्धि हुदै जान्छ, त्यति त्यति नै एल्गोरिदमहरु कठिन हुदै जान्छन् । 

नेपाल जस्तो देशमा माईनिङको राम्रो सम्भावना छ भन्दा गलत होइन्न  । किनभने यस्तो किसमको माईनिङ गर्न विद्युत धेरै चाहिन्छ । विद्युतको लागत जति कम भयो, माईनिङको उत्पादक मूल्य पनि कम हुन्छ । यसतर्फ भने राज्यले सोच्नु पर्छ । विश्वभरका ठूला ठूला माईनिङ गर्ने कम्पनीहरुले यस्तै वातावारणको खोजि गरिरहेका हुन्छन् । यदि यस्ता माईनिङ कम्पनीहरुलाई देशमा भित्र्याउन सकियो भने नेपालको विद्युत बेच्न भौतारिनु पर्दैन । न्युयोर्क टाइम्सको एउटा सर्वेक्षण अनुसार बिटक्वाइन माईनिङ गर्न करिब ९१ टेरावाट विद्युत खपत हुन्छ। सोचौ संसारका सबै क्रिप्टोमुद्राको माईनिङ गर्दा कति विद्युत खपत हुन्छ ? 

यस्ता क्रिप्टोकरेन्सीहरु धेरै कोणहरुबाट सुरक्षित देखिए पनि कारोबार गर्दा हुने सानोतिनो गल्तिहरुको कारण निकै असुरक्षित हुन्छ। उदाहरणको लागि कुनै पनि बैंक कार्डहरु मार्फत भुक्तानी गर्दा केहि गल्ति भएको खण्डमा त्यसलाई बैंक मार्फत मिलाउन सकिन्छ । तर यस्ता करेन्सी मार्फत लेनदेन पश्चात त्यसलाई मिलाउन सकिदैन । यदि गलत एकाउन्ट (वालेट) मा भुक्तानी गरियो वा बढी भुक्तानी गरियो भने त्यसलाई कुनै पनि हालतमा सच्याउन सकिदैन । तसर्थ यो आम मानिसहरुको प्रयोगको हिसाबले धेरै असुरक्षित हुन्छ । आम स्वीकारोक्तिको आधारमा यसको मूल्य निर्धारण हुने हुँदा, प्रभावशाली व्यक्तिको धारणाले यसको मूल्यलाई प्रभाव पार्छ। तर एउटा क्रिप्टोकरेन्सीको मूल्यलाई धेरै कारकहरुले असर गर्छ, जस्तै त्यसको माग र आपूर्ति, प्रतिस्पर्धा, त्यसको नियामक आदी । 

लेखक पुँजीबजार तथा अर्थतन्त्रका जानकार हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved