'अर्थतन्त्रको संकट बुझौ, व्यवसाय होइन संस्था बनाउने प्रयास गरौँ ', नीरव पुडासैनीको लेख

नीरव पुडासैनी

नीरव पुडासैनी

Apr 29, 2022 | 08:23:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विकास र इतिहास रच्ने पथको मुख्य बाधक हो  कलुषित ब्यापारिक अभ्यास । हाम्रा व्यापारिक घरानाहरु किन लामो समयसम्म संचालन हुन सकेनन् वा सकिरहेका छैनन्  इतिहास रच्ने पथमा लाग्दै किन सय बर्ष वा त्यो भन्दा धेरै समयसम्म पनि निरन्तर संचालन हुन सक्दैनन् ? माक्स एण्ड स्पेन्सरले गत बर्ष संयुक्त अधिराज्यमा आफ्नो एक सय पैतिंस बर्ष मनाएको थियो, टेस्को विगत सय बर्षदेखि संचालन गर्दै आएको छ,  त्यस्तै डब्लु एच स्मिथ विगत दुई शताब्दीभन्दा लामो समयदेखि त्यहाँ सेवा दिईरहेको छ। 

 यी सबै संयुक्तअधिराज्यका ठूला सुपरमार्केट चेनहरु हुन् । नेपालको सन्दर्भमा ब्यवसायहरु संस्था हुन नसकेको मुख्य कारणहरु भनेको काम गर्ने वातावरण, स्वामित्वको भावना, सामाजिक उत्तरदयित्वको अभाव, संस्थागत सुशसासन नहुनु, देश र त्यसको नियम कानुन प्रति उत्तरदायित्वको भावना नहुनु आदी ।  यो देशमा देश प्रेमको भावना छिमेकीलाई तथानाम भन्न मात्र प्रयोग हुन्छ। आफुले गरेको काम इमान्दारीपुर्वक देशहितको ध्यानमा राखेर पनि गर्न सकिन्छ भन्ने भावनाको चेत कुनै पनि व्यापारिक फर्म (संस्था) हरुमा देखिदैन। 

 सायद यो देशमा व्यापारिक संस्थाहरु नै छैनन् वा भनौं कुनै पनि ब्यापारी आफ्नो व्यवसायलाई संस्था बनाउन अभिप्रेरित भएको देखिदैन। सायद संकटको बेला पनि राज्यसंग मोलतोलको सौदा गर्ने प्रयास गर्नुले त्यसैतर्फ इंगित गर्छ।

 यो छोटो लेखको लागि यति लामो पृष्ठभूमि दिनुको कारण अहिले देखिएको धुमिल वातावरण नै कारक हो। यो कसैप्रति लक्षित छैन तर सबैप्रति प्रश्न यहि छ। क्रोनि क्यापिटलको जटिल सिकारमा परेर देशको अवस्था विदेशी मुद्रा जोगाउन थप एक दिनको विदा दिनुपर्ने स्थितिमा पुगेको छ। (अन्तराष्ट्रिय प्रचलन अनुसारको विदा व्यवस्थाको विरोध होइन, मात्र उदेश्यको आलोचना गरेको।)

 न्यून आर्थिक वृद्धि, न्यून रोजगारी तर उच्च मुल्य वृद्धिको अवस्था वा छोटकरीमा स्टेगफ्लेसन उन्मुख हुँदै गरेको छ। धनानन्दीय शैलीमा कर उठाएर वा भनौ विप्रेषणबाट आर्जित विदेशी संचितिलाई खर्च गरेर आयात गरेको बस्तुहरु मार्फत उठेको करको बलमा शासन गर्न खोज्ने शासकीय पात्रहरुको हाबी भएपछि हुने यस्तै हो। तर उनीहरुको पनि के दोष? प्रत्यक्ष रुपमा उक्त्त कर तिर्ने ब्यापारिक जगत पनि देशको आर्थिक स्थिति सुहाउँदो आयात भन्दा आफ्नो बहीखाताको अंक वृद्धि हुने आयातमा केन्द्रित भएपछि हुने यस्तै हो।

 होइन भने सुपारी, पाम तेल, मुसुरो, आदिको आयातको अंक वृद्धि हुने थिएन। त्यतिमात्र होइन, न्यून विजिकरण, कर छली,  भन्सार छली, चोरी पैठारी आदि हुने थिएन। संकटको बेला सूचना चुहावट गराएर केहि समय प्रतिबन्ध गर्न लागिएको मालबस्तुहरुको आयात गरिने पनि थिएन। तसर्थ दोष कसैलाई पूर्णरुपमा दिन सकिन्न। 

दोषको मुख्य कारक हामीले व्यापारिक संस्थाहरु बनाउन नसक्नु नै हो। तसर्थ दोष त्यहि वर्गको हो जसले संस्था बनाएनन्, मात्र ब्यापार गरे। इमाम-बाडाको निर्माण गरेर रोजगारी वृद्धि गर्दै अर्थतन्त्र चलाएमान बनाउने प्रयास गर्ने इतिहासका शासकबाट पनि केहि सिक्दा राम्रो होला। हुनत स्टेगफ्लेसनको अवस्था नजिक आएको हाम्रो अर्थतन्त्रलाई अहिले पुर्वाधारहरुको निर्माण तिब्र रुपमा गरेर रोजगारी सृजना गर्ने अवस्था छैन। तर कमसेकम आयातलाई केहि समय सम्म कटौती गर्ने प्रयास समस्याको सामाधान नभएसम्म गर्नुपर्छ। क्रोनि क्यापिटलका मतियारहरु प्रयोग गरेर खलल गर्ने प्रयास व्यापारिक समुदायहरुबाट नहोस्। अस्तिमात्र राजपत्रमा प्रकाशित सूचनाले खलल पार्ने प्रयास भएको भान हुन्छ। करोडको आयात रोक्न राजपत्रमा सूचना प्रकाशित गरेर अरबौको आयातलाई सहजीकरण गर्न खोजेको आभाष हुन्छ। ३० करोड डलर बराबरको ऋण वर्षेनी तिर्नु पर्ने हाम्रो देशलाई उक्त सूचनाले खासै योगदान दिन सक्ने देखिदैन । तर अर्वौको राजश्व गुमाउँदा थप सिर्जना हुने तरलता अभावले स्थितिलाई झन् जटिल बनाईदिन्छ ।

सुर्तीजन्य तथा मदिराजन्य कच्चा पदार्थ, इलेक्ट्रिक गाडी, ६ सय डलर भन्दा मुनिका फोनहरु, आदी केहि समय रोक्दा फरक पर्दैन । तर दैनिक आवश्यकताको सामानहरु हामीले निरन्तर मगाउनु पर्छ, त्यो हाम्रो बाध्यता हो । भोलि ति अत्यावश्यक वस्तुहरुको आयात पनि गर्न नसक्ने स्थिति नहोस् भन्नको लागि पनि आज कठोर निर्णय गर्न राज्य संचालकहरु तयार हुनु पर्छ । केहि समय त् देशको लागि दिनुहोस्, क्रोनि क्यापिटलको मतियार पनि हुदै गर्नुहोला । त्यस्तै ब्यापारी जगतले पनि संस्था बनाउने प्रयास गर्नु जरुरी हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved