आर्थिक मन्दीको आशंकागत कालो बादल दिनदिनै गहिरो बनिरहेको छ । यसको एउटा झलक फेडले हालै बढाएको ब्याजदर हो। तथापि फेडको दर वृद्धिको क्रम विगत केहि महिनाहरुदेखि निरन्तर देखिन्छ । वैश्विक आर्थिक संकट बढिरहेको सन्दर्भमा नेपालमा मौद्रिक नीतिले अर्थतन्त्रलाई त्राण दिने सोच हावी भएको होकी भन्ने देखापरेको महशुस हुन्छ । वित्तीय नीति उपर मौद्रिक नीति हावी हुनु निश्चय पनि राम्रो हौइन ।
अमेरिकी बजारमा अपेक्षाकृत मुद्रास्फीतिको कारण फेडरल रिजर्भले लामो समयसम्म ब्याजदरहरु उच्च राख्न सक्छ । फलत: सुनको मूल्यलाई यसले टेवा प्रदान गर्नेछ । यस्तो अवस्थामा हाम्रो केन्द्रीय बैंक सजक हुने वा बाछिटा खेप्न तयार हुने विचार आफै गरुन् । आर्थिक तथा अन्य वैश्विक संकटको प्रभाव सुनको मूल्यमा प्रत्यक्ष रुपमा पर्ने हुँदा यसको मूल्यलाई मध्यनजरमा राख्नु आर्थिक निर्णयहरुमा अत्यन्तै जरुरी हुन्छ । सम्भावित खतरा छ, त्यसै कारण हालै सुनको मूल्य प्रति आउन्स २०८२ डलर पुगिसक्यो । विश्व अर्थतन्त्रमा आउने वा आउँन सक्ने खातासंगै सुनको मूल्यमा वृद्धि हुन्छ । त्यसैगरि भू-राजनीतिक क्षेत्रमा देखिने अन्यौल, युद्दको सम्भावना, युद्दको अवस्था र त्यसमा राष्ट्रहरुको संलग्नता आदिका कारण पनि सुनको मूल्यमा उतारचढाव आउँछ । यसैकारण सुनलाई मूल्यवृद्धिसंग जुध्न प्रयोग हुने महत्वपूर्ण औजारको रुपमा प्रयोग गर्न सकिन्छ । सुनलाई मुद्रास्फीति विरुद्द प्रयोग हुने बीमा योजना सरह आम मानिसहरुले प्रयोग गर्ने गर्छन् । यसैकारण पनि अहिले सुनको मूल्यमा वृद्धि भईरहेको छ । जुन अझै माथि जाने प्रष्ट संकेतहरु देखिन्छन्।
विश्व अर्थतन्त्रलाई प्रभावमा पारिरहेका केन्द्रीय बैंकहरु फेडरल रिजर्भ बैंक, बैंक अफ जापान, बैंक अफ इंगल्याण्ड, युरोपियन सेन्ट्रल बैंक आदि बैंकहरुको नीतिहरुको कारण सुनको मूल्यमा उतारचढाव आउँछ । ब्याजदर घटेर कस्ट अफ होल्डिङ (लागतको मूल्य) मा कमी आउँदा पनि सुनको मूल्यमा क्षणीक वृद्धि हुने गर्छ । तर समग्रमा अन्यौलताबीच सुनको मूल्यमा धेरै वृद्धि हुने गर्छ । त्यस्तै गहना बजारको मागको कारण पनि सुनको मूल्यमा प्रत्यक्ष असर पर्छ । विश्व गहना बजारको आधा माग भारत र चीनको बजारबाट आउँछ । त्यस्तै सुनको मागको करिब १२ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रमा जान्छ । साथै औद्योगिक क्षेत्रको विस्तारसंगै यसको मागमा पनि प्रभाव पर्छ । सुनको वार्षिक उत्पादन ३ हजार मेट्रिक टन बराबर भएको अनुमान गरिन्छ, जसको उत्पादन मूल्य पनि बढिरहेको देखिन्छ । फलस्वरूप उत्पादन मूल्यको कारण सुनको उपभोक्ता मूल्यमा पनि प्रभाव परिरहेको हुन्छ। सुनको इतिहास हेर्दा विगत पाचँ हजार वर्षदेखि मानिसहरु सुनको उत्खनन् गरिरहेका छन् । सायद यसै कारण सुनको मूल्यमा यति धेरै वृद्धि हुँदा पनि यसप्रतिको रुचीमा कमी नआएको होला।
विश्वभर कारोबार हुने सुनको मूल्य दैनिक २ पटक निर्धारण हुन्छ, यसैको आधारमा संसारभरि सुनको मूल्यमा उतारचढाव आउँछ । संसारका प्रमुख पांच बैंकको साझेदारी रहेको लण्डन फिक्सले दिनको दुई पटक लण्डन समय अनुसार बिहान १०:३० बजे र दिउँसो ठिक ३ बजे सुनको मूल्य निर्धारण गर्छ। लण्डन फिक्समा बार्कलेज, एच एस बि सी, स्कोटिया, सोसाइटी जनरल, र ड्युश बैंकको साझेदारी छ। आपसी माग र आपूर्तिको सिद्दान्तको आधारमा यिनीहरुले निर्धारण गरेको मूल्यको सीमाबाट बजारमा सुनको कारोबार हुने गर्छ । एसियाका धेरै देशहरुमा सुनलाई सामाजिक प्रतिष्ठाको रुपमा हेरिने भयता पनि विश्वमा मुद्रास्फीति अर्थात् मूल्य वृद्धिविरुद्द सुरक्षणको रुपमा प्रयोग गरिन्छ ।
सुनको मूल्य आगामी दिनमा पनि वृद्धि हुने पूर्वानुमान सहजै गर्न सकिन्छ । २०२० देखि नै सुनको मूल्य वृद्धि भईरहेको छ । यसको प्रमुख कारण मुद्रास्फीति हो । मुद्रास्फीति विरुद्द हेजिङको रुपमा प्रयोग हुने सुनको मूल्य आगामी दिनमा प्रति आउन्स दुई हजार डलरभन्दा माथि रहने पूर्वानुमान गर्न सकिन्छ । यसका पछाडी केहि कारणहरु छन् । मुद्रास्फीति र अमेरिकी मुद्राबजार कमजोर हुँदै जान सक्ने कारक प्रमुख हो । त्यस्तै मागमा भएको वृद्धि जसमा चीन र भारतको माग प्रमुख छ । तनावपूर्ण भूराजनीतिक परिस्थिति अर्को कारक हो सुनको मूल्य बढ्नु । बढ्दो माग पुरा गर्न सुन आयात गरेर वर्षेनी विदेशी मुद्रा संचिति देश बाहिर जाने गरेको छ । हामीले सुनको गहनाको रुपमा सुनलाई प्राचिन कालदेखि प्रयोग गर्दै आएका छौ तर केन्द्रीय बैंकसंग मुद्रास्फीतिसँग लड्न पर्याप्त सुनको भण्डार छैन । तर पनि हाम्रो केन्द्रीय बैंक संसारका अन्य केन्द्रीय बैंकले जस्तो सुनको मूल्य घट्दा किनेर मौज्दात गर्ने सोचमा कहिल्यै देखिएन । सुनलाई सुरक्षित औजारको रुपमा प्रयोग गर्न सकेको भए आजको अवस्थामा निकै लाभदायक हुने थियो ।
लेखक पुडासैनी पुँजीबजार तथा अर्थतन्त्रका जानकार हुन् ।