कसरी बन्ने भन्सार एजेन्ट, के के हुन्छ काम ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 19, 2021 | 10:29:04 AM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागले २० वर्षपछि नयाँ विज्ञापन खुलाउँदैछ । केही दिनभित्रै नयाँ विज्ञापन खुलाएर ४ सय बढीलाई एकैपटक लाइसेन्स दिने तयारी थालेको विभागले आफ्नो तर्फबाट सबै तयारी सकेको छ । 

हाल भन्सार ऐन अनुसार लाइसेन्स पाएका १६५ जना एजेन्टहरु छन् । अहिलेको चापअनुसार ५ देखि ६ सयको संख्यामा एजेन्टहरु आवश्यक पर्ने विभाग बताउँछ । सोही आवश्यकतालाई पूर्ति गर्न विभागले नयाँ विज्ञापन खुलाउन लागेको हो ।

के हो भन्सार एजेन्ट ?

भन्सार एजेन्ट भनेको निर्यातकर्ता वा आयातकर्ताले नियुक्त गर्ने प्रतिनिधि हो । एक देशबाट अर्को देशमा बस्तुको निकासी तथा पैठारी हुँदा भन्सार क्लियरेन्स गर्न बस्तुको निर्यातकर्ता वा आयातकर्ताको आधिकारिक प्रतिनिधि नै भन्सार एजेन्ट हुन् । एजेन्टहरु सम्बन्धित निर्यातकर्ता वा आयातकर्ताले नियुक्त गर्ने गर्छन् ।

भन्सार एजेन्टले क्रसबोर्डर तस्करी रोक्न, आयात गरिएको वस्तुको शुल्क र ट्यारिफ संकलन गर्न, वौद्धिक सम्पत्तिको अधिकार जोगाउनसहित अन्तराष्ट्रिय दायित्वहरु पनि बहन गर्न भूमीका खेलेका हुन्छन् ।

कुनै आयातकर्ता वा निर्यातकर्ताको एजेन्टको रुपमा नियुक्त हुने व्यक्तिले गर्ने काम निर्यातकर्ता वा आयातकर्ताले गरे बराबरकै मानिन्छ । यो व्यवस्था भन्सार ऐनले नै गरेको छ । ऐन अनुसार क्नै एजेन्टले गलत नियतले गल्ती गरेमा आयातकर्ता वा निर्यातकर्ता दोषी नभई सम्बन्धित एजेन्ट नै दोषी हुने व्यवस्था छ ।

के के चाहिन्छ योग्यता ?

विभागले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेपछि इच्छुक व्यक्तिले दरखास्त दिन सक्नेछन् । यसका लागि देहायका योग्यता तोकिएको छन्ः

(क) २१ वर्ष उमेर पुगेको नेपाली नागरिक

(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको

(ग) नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको

(घ) कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको ।

२०६५ साल वैशाख १४ गतेसम्म कुनै भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई विगत दुई वर्षदेखि भन्सार एजेन्टको प्रतिनिधिको रूपमा काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले कार्यालयको अभिलेखको आधारमा सोे व्यहोरा प्रमाणित गरेमा त्यस्तो व्यक्तिलाई भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त दिन उपनियम उल्लेखित योग्यता आवश्यक नपर्ने जनाईएको छ ।

नवीकरण गर्न के के चाहिन्छ ?

भन्सार एजेन्टको इजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ । भन्सार ऐन अनुसार भन्सार एजेन्टको लाइसेन्स उत्तराधिकारीमा सर्दैन । वकिल, चार्टड एकाउण्टेन जस्तै भन्सार एजेन्टको पनि प्रोफेशनल लाइसेन्स हुन्छ । यस्तोे लाइसेन्स नवीकरण गराउन प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष सुरु हुनु अगावै नवीकरण दस्तुर वापत ७ हजार रूपैंयाँ बुझाउनुपर्नेछ । 

(क) कर चुक्ताको प्रमाणपत्र

(ख) बैङ्क जमानत राखी भन्सार एजेण्टको इजाजतपत्र लिएको भए त्यस्तो इजाजतपत्र नवीकरण गराउन चाहेको अवधिसम्म म्याद भएको बैङ्क जमानत

भन्सार एजेन्टको इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्र वालाले तीन आर्थिक वर्षको एकैपटक नवीकरण गराउन चाहे तीन आर्थिक वर्षको नवीकरण दस्तुर एकमुष्ठ तिरेर पनि नवीकरण गराउन सक्नेछ ।

म्यादभित्र इजाजतपत्र नवीकरण गराउन नसक्नेले म्याद समाप्त भएको मितिले एक वर्षभित्र सात हजार रूपैयाँ थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउन सक्ने व्यवस्था छ । सो थप म्यादभित्रसमेत नवीकरण नगराउने भन्सार एजेन्टको इजाजतपत्र स्वतः रद्द हुनेछ । इजाजतपत्र नवीकरण नगरेको अवधिमा भन्सार एजेन्टको हैसियतले उसले कुनै पनि काम गर्न पाउने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved