राष्ट्र बैंकको तथ्यांक: कोभिडको महामारीमा पनि गत बर्ष नेपालको अर्थतन्त्र सन्तोषजनक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 04:38:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ को बिश्वब्यापी महामारीमा पनि नेपालको अर्थतन्त्र सन्तोषजनक भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' मा उल्लेख सूचकहरुले कोभिडमा पनि नेपालको अर्थतन्त्र सन्तोषजनक रहेको देखाएको छ। 

महत्त्वपूर्ण सूचकको रुपमा लिईने मुद्रास्फीति गत आर्थिक बर्ष लक्ष्य भन्दा तल झरेको छ। मुद्रास्फीति अर्थात सिधाभाषामा भन्दा महंगीदर नाप्ने एउटा मापकको लक्ष्य ७ प्रतिशत लिइएकोमा यो दर गत आर्थिक बर्ष ३।६० प्रतिशत रहेको छ। 

त्यस्तै गत आर्थिक बर्ष नेपालको आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष आयात १५.६ प्रतिशतले घटेको थियो भने निर्यात ०.६ प्रतिशतले बढेको थियो।

त्यस्तै कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। गत आर्थिक बर्ष यस्तो संचिति ७ महिनाको बस्तु तथा सेवा आयात धान्ने नेपाल राष्ट्र बैंकको लक्ष्य रहेको थियो। तर लक्ष्य भन्दा पनि बढी समय वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ। 

बैंक वित्तीय सँस्थाको निक्षेप संकलन र कर्जा प्रवाहमा पनि उल्लेख्य प्रगती देखिएको छ। कोभिडले बिश्वब्यापी रुपमा आर्थिक गतिबिधि ठप्प बनाईरहेको अवस्थामामा पनि नेपालमा गत आर्थिक बर्ष निक्षेप संकलन २१.४ प्रतिशतले र कर्जा २७।३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक बर्ष निक्षेप संकलन १८.७ प्रतिशत र कर्जा परिचालन १२ प्रतिशतले बढेको थियो। 

त्यस्तै नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष

विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो।

नेपाल राष्ट्र बैंकले समग्र अर्थतन्त्र झल्काउने म्याक्रो रिपोर्ट सार्वजनिक गर्ने भएकाले राष्ट्र बैंकको यस तथ्यांकलाई आधार मान्दा कोभिडको महामारीमा पनि नेपालको अर्थतन्त्र समग्रमा संतोषजनक नै भएको मान्नु पर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बिजपाटीसँगको कुराकानीमा बताए। 

केन्द्रिय तथ्यांक बिभागले पनि गत आर्थिक बर्ष ४.०१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकाले र राष्ट्र बैंकले अध्ययन गरेको म्याक्रो इकोनोमीका सूचकलाई आधार मान्दा पनि कम्तिमा पनि गत आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिको दर सकारात्मक नै हुने श्रेष्ठले बताए।   

नेपाल राष्ट्र बैंकले जारी गरेको नेपालको गत आर्थिक बर्षको आर्थिक तथा वित्तीय स्थितिका सूचकलाई आधार मान्दा गत आर्थिक बर्ष अर्थतन्त्र सन्तोषजनक रहेपनि रोजगारी, गरिबी जस्ता क्षेत्रमा के भए भन्नेबारेको तथ्यांक सार्वजनिक हुन बाँकी नै रहेको छ।  केन्द्रिय तथ्यांक बिभागले रोजगारी, गरिबी जस्ता बिषयका तथ्यांक सार्वजनिक गरेपश्चात नेपालको वास्तविक अर्थतन्त्रबारे तस्विर थप स्पष्ट हुनेछ।  



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved