केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीवार काठमाडौंमा पत्रकारसम्मेलन गर्दै तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।
आर्थिक वर्ष २०७८÷०७९ को राष्ट्रिय लेखा तथ्यांक प्रश्तुत गर्दै राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेको बताए।
उनले कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको बताए। विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो । बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो ।
कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि ऋणात्मक (२.४२ प्रतिशत) हुन पुगेको थियो । कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गत वर्ष भने ३.९३ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ । गत वर्ष प्रारम्भिक अनुमान भने ४ प्रतिशत भन्दा आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो ।
विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो । तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्यांक विभागले सार्वजनिक गर्ने गरेको छ । चालु आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो ।
निर्देशक भण्डारीले भने, ‘बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेका छौँ । गत वर्ष ४.०१ प्रतिशतले वृद्धि हुन्छ भनेका थियौँ । त्यसलाई परिमार्जन गर्दा त्यो वृद्धिदर ४.३ मा पुगेको छ भने त्यो भन्दा अगाडिको सालको वृद्धिदर ऋणात्मक २.१ हुन्छ भनेका थियौँ । त्यसलाई परिमार्जन गर्दा माइनस २.७ भएको अवस्था छ । एग्रिकल्चर सेक्टरको अहिलेको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै छ । गैर कृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।’
निर्देशक अधिकारीका अनुसार नेपालीको वार्षिक आम्दानीमा पनि वृद्धि भएको छ । यो वर्ष नेपालीको वार्षिक आम्दानी बढेर १३७२ डलर पुगेको निर्देशक भण्डारीले बताउनु भयो । चालु आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति आय ११९१ डलर थियो । गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी १८१ डलर बढेको छ ।
उनले भने, ‘अहिले हाम्रो प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा १ हजार ३ सय ७२ पुगेको छ । त्यस्तै प्रतिव्यक्ति आय अमेरिकी डलरमा १ हजार ३ सय ८१ पुगेको छ । जीएनडिआई प्रतिव्यक्ति १ हजार ६ सय ८३ छ ।’
त्यस्तै, नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको निर्देशक भण्डारीले बताए। नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो ।
उनले भने, ‘हामीले अहिले प्रोडक्शनको साइटबाट जीडीपी निकाल्दा कति टोटल आउटपुट भयो भन्छौँ । त्यो भनेको कति बराबरको उत्पादन भयो भन्छौँ । यसरी हेर्दा हाम्रो उत्पादन अहिले ७३ खर्ब ५७ अर्ब बराबरको उत्पादन भएको छ । यति बराबरको उत्पादनको लागि कति वस्तु तथा सेवाको प्रयोग भयो भन्दा ३२ खर्ब ५१ अर्ब बराबरको मध्यवर्ती उपभोग भएको छ । आउटपुटबाट मध्यवर्ती उपभोग घटाइसकेपछि बेसिक प्राइजमा जेडीपी आउँछ । त्यो भनेको ४१ खर्ब ६ अर्ब बराबरको हाम्रो अर्थतन्त्रको साइज भयो । यसलाई उपभोक्ताको मूल्यमा भन्दा ४८ खर्ब ५२ अर्ब बराबरको हाम्रो अर्थतन्त्रको अहिलेको साइज छ ।’
निर्देशक भण्डारीले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रले ०.५८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरेको बताए । त्यस्तै कृषि तथा वन मत्स्यले २३.९५ प्रतिशत, त्यस्तै उद्योगले ५.६५ प्रतिशत, विद्युत, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवाबाट १.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ ।
त्यस्तै निर्माण ६.१७, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा १६.४०, यातायात तथा भण्डारण ५.९८, आवास तथा भोजन सेवा १.६५, सूचना तथा सञ्चार २.०९, वित्तिय मध्यस्थता ६.८६, घरजग्गा कारोवारको सेवा ८.७९, पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाहरु ०.९९, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरुबाट ०.७८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा योगदान पुगेको विभागले जनाएको छ । त्यस्तै सार्वजनिक प्रशासनिक तथा रक्षाबाट ७.७३, शिक्षाबाट ८.१, स्वास्थ्य तथा सामाजिक कार्य १.७९, अन्य सेवाका क्रियाकलापहरुबाट ०.६१ प्रतिशत योगदान पुगेको प्रारम्भिक अनुमान छ ।