११ महिनामै मूल्य वृद्धि ९ प्रतिशत नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 04:56:55 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठ महिनामा बैशाख महिनाको तुलनामा बाह्य क्षेत्रमा देखिएको दबाब केही कम भएको छ । बैशाखसम्म २ र्खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको भुक्तानी सन्तुलन जेठमा १९ अर्बले सुध्रिएर २ खर्ब ६९ अर्ब ८१ करोड घाटामा छ । 

बैशाखमा कुल विदेशी विनियम सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर रहेकोमा जेठमा आइपुग्दा बढेर ९ अर्ब ४५ करोड अमेरिकी डलर पुगेको छ । 

चालु आर्थिक वर्षको १० महिनामा वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेकोमा ११ महिनामा आउँदा २५ प्रतिशतले बढेको छ । 

मूल्यवृद्धि भने उच्च दरमा बढेको छ । १० महिनासम्म ७.७८ प्रतिशतले बढेको मुद्रा स्फिति ११औँ महिनामा आउँदा ८.५६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षमा ६.५ प्रतिशतमा मूल्य वृद्धिलाई राख्ने सरकारी लक्ष्य भएपनि ११औँ महिनामै ८.५६ प्रतिशत पुगेको हो । असार यो अझै बढेर करिब करिब दोहोरो अंकमा पुग्ने अनुमान हुन थालेको छ । 

राष्ट्र बैंकको तथ्यांक हेर्नुहोस्ः

उपभोक्ता मुद्रास्फीति

१) २०७९ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ ।

२) २०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहकोमुद्रास्फीति क्रमशः २५.७९ प्रतिशत, ११.६४ प्रतिशत, ८.३० प्रतिशत, ८.२१ प्रतिशत र ७.८४ प्रतिशत रहेको छ ।

३) समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३.८७ प्रतिशत, ४.४७ प्रतिशत, ४.३२ प्रतिशत र १.७२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति

४) २०७९ जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.०० प्रतिशत रहेको थियो । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत थोक मुद्रास्फिति ९.२६ प्रतिशत रहेको छ ।

५)  समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५.८४ प्रतिशत, १५.३४ प्रतिशत र ७.८३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२५ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved