सरकारले बजेट कार्यान्वयन मार्गदर्शन (गाइडलाइन) जारी गरेको छ । आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै बजेट कार्यान्वयन गाइडलाइन जारी भएको हो ।
तोकिएका र स्रोत सुनिश्चितता भईसकेका आयोजनाको काम समयमै सक्न बोलपत्र, ठेक्का सम्झौता र काम सुरु गर्नुपर्ने समय तोकेर बजेट कार्यान्वयन गाइडलाइन जारी गरिएको हो ।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शनमा सबै विषय उल्लेख गरिएकाले अब समयमै काम नहुने र आयोजनाहरु अलपत्र हुने समस्या समाधान हुने जनाएको छ ।
यस्ता छन् मार्गदर्शनका व्यवस्था
मार्गदर्शन अनुसार अब ठेक्का सम्झौता भएको १५ दिनभित्र ठेक्का पाउने ठेकेदार कम्पनीले काम सुरु गर्नुपर्ने छ । तोकिएको लागत र समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले प्रोत्साहन पनि गर्ने भएको छ ।
बजेटमा नपरेका र स्वीकृत नभएका आयोजनाको काम अघि बढ्ने छैन ।
स्वीकृत आयोजनाको डिजाइन र लागत अनुमान साउनभित्र स्वीकृत गरेर बोलपत्र आह्वान गर्नुपर्नेछ । कम्तीमा असोज मसान्तभित्र ठेक्का सम्झौता गरी सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्नेछ ।
अब यसरी हुन्छ भुक्तानी
अर्थ मन्त्रालयले आयोजनाको भौतिक प्रगति र गुणस्तर हेरेर मात्रै भुक्तानी दिन सम्बन्धित निकायलाई भनिसकेको छ ।
पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को भुक्तानी गर्दा भौतिक प्रगति आवश्यक पर्ने छैन । तर, दोस्रो त्रैमासको भुक्तानी गर्दा ३० प्रतिशत र र तेस्रो त्रैमासको भूक्तानी गर्दा ५० प्रतिशत भौतिक प्रगति भएको हुनुपर्नेछ ।
यदि तोकिएको भन्दा भन्दा कम भौतिक प्रगति छ भने थप प्रगतिको प्रतिवद्धता गराएर मात्रै भूक्तानी दिन अर्थले भनेको छ ।
५ करोडभन्दा माथिका आयोजनाको ठेक्का लगाउँदा नै निर्माण सम्पन्न भएपछि कम्तीमा ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मत संभारको काम गर्नुपर्नेछ ।