निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आज अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ। सिंहदरबारमा बोलाएर उनीहरुसँग समितिले झन्डै साढे दुई घण्टा सोधपुछ गरेको हो।
जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने अघिल्लो दिन जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दरहरु हेरफेर गराएको समाचार सार्वजनिक गर्ने पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग समितिले २ घण्टा ३० मिनेट सोधपुछ गरेको हो।
उनीहरुसंग समितिका ११ सदस्यहरु मध्ये ९ जनाले एक-एक प्रश्न गरेका थिए। प्रश्न सोध्ने क्रममा सभापतिले सहजीकरण गरेका थिए। समिति सदस्य देव गुरुङले कुनै पनि प्रश्न गरेनन्।
प्रदिप ज्ञवालीले तपाइँहरुले लेखेको समचारमा आफैसँग कति विश्वास लागेको छ भन्ने प्रश्न गरे। यतिमात्र नभई उनले समाचारमा अनाधिकृत व्यक्ति प्रवेश गरेको कुरा योजनाबद्ध रुपमा लेखेको हो वा कसैको प्रभावमा परेर लेखेको हो भन्ने प्रश्न गरे।
उनले कुनै व्यापारिक घरानाको प्रभावमा परेर यो समाचार लेखेको हो भन्ने प्रश्न गरे। उनले बजेटमा भएका अन्य कमीकमजोरीका बारेमा पनि पत्रकारद्वयसँग प्रश्न गरे।
त्यस्तै सरला यादवले स्रोतको ब्याकराउण्ड र त्यसको आधारबारे प्रश्न गरिन्। यस अगाडी सोधपुछका लागि डाकिएका सचिव तथा सम्बन्धित व्यक्तिहरुलाई प्रश्न गरेको र उनीहरुले होइन भनेको बेला कुन आधारले समाचार लेखियो भन्ने बारे यादवले पत्रकारद्वयसँग प्रश्न गरिन्।
समिति सदस्य मानबहादुर विश्वकर्माले जनार्दन शर्माको घटनाक्रम अमेरिकामा घटेको वाटरगेट काण्डसँग जोड्दै समाचार पुरष्कृत हुनलाई वा दण्ड पाउनलाई लेखेको भन्ने प्रश्न गरे।
आजको छलफलको निष्कर्ष छानबिनमा सहयोग पुग्ने अपेक्षा रहेको छानबिन समितिले उल्लेख गरेको छ।
प्रश्नमा आफूहरु समाचारको विश्वसनीयतामा निर्धक्क रहेको, आफूहरुसँग प्रमाण सुरक्षित रहेको तर, स्रोत नखोल्ने उनिहरुले बताएका छन्।
उनीहरुले जेठ १४ गते अर्थ मन्त्रालयका भएको गलत कर्मसहित जनार्दन शर्माका विषयमा अन्य प्रमाणहरु पनि रहेको बताएका छन् । काफ्ले र थापाको बाइलाइनमा अन्नपूर्ण पोष्ट दैनिकमा असार ३० गते समाचार प्रकाशित भएको थियो ।
छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ, मानबहादुर विश्वकर्मा, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।
यो पनि : जनार्दन शर्मामा छानविन गर्न बनेको समितिको म्याद थप गर्ने तयारी
छानबिन समितिमा पत्रकारद्वयले भने, ‘प्रमाण सुरक्षित छ, तर देखाउँदैनौँ’