भीरकोटमा कांग्रेस कार्यकर्ताको अवैध बालुवा उत्खनन्, ठकुरी*ले बुझे ५ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 10:47:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नगरपालिकाको आँखा छलेर स्याङ्जा भीरकोट नगरपालिकाको सिम्लेबाट ८ सय ट्रीप बालुवा अवैध रूपमा उत्खनन् गरिएको छ । गैर-कानूनी रूपमा बेचिएको उक्त बालुवाबाट ५ लाख रुपैयाँ सिम्लेस्थित जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका राजेन्द्रसिंह ठकुरीले बुझेका छन् ।

नेपाली कांग्रेस भीरकोटका सभापति लक्ष्मण अधिकारी र अर्का युवा नेता राजकुमार गुरुङको प्रत्यक्ष संलग्नतामा बालुवा उत्खनन् गरिएको थियो ।

डोजर र टिप्पर प्रयोग गरेर वडा नं ४ र ५ को सीमाना पर्ने सिम्लेबाट करिब ८ सय टिप बालुवा उत्खनन् भएको हो । उक्त उत्खनन् अवैध भएको भन्दै बयरघारी बस्ने कुलबहादुर खत्रीले नगरपालिकामा उजुरीसमेत दिएका थिए ।

उक्त उजुरीमाथि छानबिन गर्न भिरकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर एकका अध्यक्ष दिपेन्द्र केसीको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत बनेको छ । उक्त समितिले नगरप्रमुख गोविन्द कर्माचार्यलाई प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदन आज बुधवार १२ बजे सार्वजनिक हुने बताइएको छ ।

संयोजक केसीले नगरप्रमुखलाई प्रतिवेदन बुझाइएको जानकारी दिए । 'हामीले टीओआरअनुसार प्रतिवेदन बुझाइसकेका छौं,' केसीले भने, 'प्रतिवेदनमा रहेका कुराहरू तपाईं आफैंले नगरप्रमुखसँग बुझ्नुहोस् । मैले भन्न मिल्दैन ।'

उजुरीकर्ता खत्रीले आफूले अवैध रूपमा बालुवा उत्खनन् गरेको देखेपछि नगरपालिकामा उजुरी दिएको बताए ।

उनले भने, 'सिम्लेमा उत्खनन् गरेर केही बालुवा बयरघारीको सिसौघारीमा राखिएको छ भने केही चापाकोटतिर बेचिइसकिएको छ । नाम नखुलेको समिति बनाएर डोजर र टिपर प्रयोग गरेर सिम्लेका ठकुरीले पैसा बुझेका हुन् ।'

स्रोतका अनुसार ठकुरीले स्थानीय विकासका लागि भन्दै पैसा बुझेका हुन् । एक स्थानीयले बिजपाटीसँग भने, 'यसरी अवैध रूपमा गिटी बालुवा उत्खनन् गरेर बेच्ने अनि पैसा लिने गर्नु शोभनीय होइन । हामीले निरन्तर आवाज उठाइरहेका छौं ।'

बिजपाटीलाई स्रोतले दिएको जानकारीअनुसार प्रतिवेदन तयार पार्ने क्रममा ठकुरीले आफूले पैसा बुझेको बताएका थिए ।

बिजपाटीसँगको कुराकानीमा ठकुरीले आफूले पैसा लिएको स्वीकारे । 'प्रतिवेदन सार्वजनिक हुँदैछ,' उनले भने, 'म त्यता जाँदैछु । मैले पैसा लिएको हो । यसबारे आज उतै कुरा होला ।' 

ठकुरी जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । 

अवैध उत्खनन् गरेर बालुवा राख्नका लागि वैशाख ७ गते नै स्थानीय युवा नेता राजकुमार गुरुङले स्थानीय कृष्णबहादुर केसीको जग्गा भाडामा लिएका थिए । सभापति अधिकारी र उनको पहलमा यसअघि पनि अवैध रूपमा बालुवा उत्खनन् हुने गरेको भन्दै स्थानीयहरूले विरोध गर्ने गरेका छन् ।

छानबिन समितिले नगर इन्जिनियरको सहायतामा अवैध रूपमा उत्खनन् भएको बालुवाको मात्रा पत्ता लगाएका थिए । अझै ६५ ट्रीप बालुवा बेच्न नभ्याएर स्टकमा रहेको बताइएको छ ।

शीर्षकमा ठकुरी हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ । सम्पादक 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved