भारतले चामल र धानको निर्यातमा कर लगाएपछि दशैँमै नेपालमा २० प्रतिशत महँगी बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 05:02:26 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले धान तथा चामलको निर्यातमा २० प्रतिशत कर लगाएर कनिकको निकाशी पूर्ण रुपमा रोकेपछि नेपालमा दशैँको मुखैमा महँगी बढ्ने भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतको यो निर्णयले महँगी बढ्ने जनाएको हो । 

पत्रकार सम्मेलनमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् दाल, चामल, तेल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ताले भारतले शून्यबाट एकैपटक २० प्रतिशत भन्सार महशुल बढाउनले त्यसको सोझो असर नेपालमा पर्ने र महँगी बढ्ने बताए । 

‘भारतको यो निर्णयले दशैँ, तिहार र छठ पर्व जस्ता नेपालीका चाड पर्वहरुको समयमा चामलको मूल्य २० प्रतिशतले बढ्ने निश्चित छ,’ अध्यक्ष गुप्ताले भने ‘यसले नेपालमा महँगीसँगै भोकमरीको अवस्था आउन सक्छ ।’ 

उनले नेपालको अर्थतन्त्रलाई भारतबाट सहयोग हुने गरी नीतिगत सम्बन्ध अगाडी बढाउनुपर्ने पनि बताएका छन् । 

नेपालको ब्यापारिक गतिविधिमध्ये ८५ प्रतिशतसम्म गतिविधि भारतसँगै हुने गरेको र त्यसमा पनि धान, गहुँ, चामल, गेडागुडी सहितका खाद्यान्नको आयात ठूलो मात्रामा रहेको छ । 

‘गत आर्थिक वर्षमा मात्रै भारतबाट ५ लाख ५० हजार मेट्रिक टन धान, ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात भएको थियो’ गुप्ताले थपे । 

भारतले कनिकाको निर्यातमा समेत प्रतिबन्ध लगाएकाले त्यसको प्रभाव नेपालका बियर उद्योगमा पर्ने भएको छ । 

‘बियर, रक्सी, दाना उत्पादन गर्ने उद्योगले कनिका र भुस आयात गर्ने गर्छन् भारतको निर्णयले यस्ता उद्योगहरु पनि प्रभावित हुनेछन्’ उनले भने ।

भारतले शुक्रबारदेखि लागू हुनेगरी बासमती र उसिना बाहेकका चामल र धान निर्यातमा २० प्रतिशत कर लगाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved