२८ प्रतिशतले घट्यो निर्यात, अर्थमन्त्रीको नीतिले स्पञ्ज आइरनको आयात ह्वात्तै बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 05:04:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन)मा कुल वस्तु निर्यात २८.७ प्रतिशतले घटेको छ । २८.७ प्रतिशतले निर्यात घटेर आर्थिक वर्षको पहिलो महिनामा १४ अर्ब ८१ करोडको मात्रै बस्तु तथा सेवा निर्यात भएको छ । 

अघिल्लो वर्ष २०७८/०७९ को सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले बढेको थियो । 

गन्तव्यका आधारमा भारतमा निर्यात ३६.५ प्रतिशत र चीनमा २४.४ प्रतिशतले घटेको छ । अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले बढेको छ । 

वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई १३१ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण

तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरन आयात गरेर फलाम बनाउने सिमित उद्योगीहरुलाई लाभ हुने गरी स्पञ्ज आइरनको आयातमा अन्तःशुल्क र भन्सार छुटको नीति लिएका थिए । जसका कारण मानव स्वास्थ्यलाई हानी गर्ने स्पञ्ज आइरनको आयात बढेको हो । भन्सार विभागका अनुसार साउन महिनामा ६ करोड ४९ लाख ३१ हजार ३६० किलो स्पञ्ज आयात भएको छ । यो वापत ३ अर्ब २४ करोड १३ लाख ६७ हजार रुपैयाँ बाहिरिएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले कमी आई ११६ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो ।

यस अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ३७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोड बराबरको भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved