कर्मचारी सञ्चय कोष ६१औँ वर्षमा, गत वर्ष ३३ करोड ७८ अर्ब आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 06:19:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले शुक्रबार स्थापनाको ६१औँ वार्षिकोत्सव मनाएको छ। कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्तभरण तथा सञ्चय कोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो ।

२०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो। ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको कोषले २०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतको कोष कट्टी गर्दै आइरहेको छ । 

कोषले २०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र २०७७ देखि सार्वजनिक निकायको निवृत्तभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको कार्यक्रममा जानकारी दिइयो । 

वार्षिकोत्सव कार्यक्रममा सञ्चय कोषका निमित्त प्रमुख जितेन्द्र धितालले कोषको वर्तमान अवस्था र भावी कार्ययोजनाको विवरण पेश गरे । उनले कोष ६१ औँ वर्षमा प्रवेश गर्दा विज्ञान र प्रविधिको उच्चतम् प्रयोगलाई प्राथमिकता दिइएको बताए , 

‘कोषले क्यूआर कोर्डसहितको कार्डको व्यवस्था गर्नुका साथै, कार्यालयको सम्पूर्ण सुविधा र जानकारीको लागि केएसके मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ’ उनले भने ।

निमित्त प्रशासक धितालका अनुसार कोषमा ५ लाख ५५ हजार सञ्चयकर्ता छन् । यसबाट कोषले ४ खर्ब ५९ अर्बभन्दा बढी वित्तीय स्रोतको परिचालन गरेको छ । धितालले कोषले सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा सरकारको अनुदानमा सञ्चालन हुने सबै सार्वजनिक निकायका कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान योजना सुरुवात गरेको जानकारी दिए ।

‘कोषमा ९ भन्दा बढी सार्वजनिक निकाय आबद्ध भएका छन् र यो संख्या निरन्तर बढ्दो क्रममा छ’ उनले थपे ।

भदौ मसान्तसम्म ३६४ कर्मचारीले केन्द्र, सात प्रदेशमा ८ वटा कार्यालय र तीनवटा सेवाकेन्द्रबाट सेवा दिइरहेको छ । निमित्त प्रशासक धितालका अनुसार कोषलाई आर्थिक वर्ष २०७८÷७९ मा ३३ अर्ब ७८ करोड आम्दानी भएको छ । यसबाट ४ अर्ब २१ करोड खुद मुनाफा हुने अनुमान छ । 

यो रकमलाई मुनाफा र सामाजिक सुरक्षा सुविधाको रुपमा सञ्चयकर्ताकै हितमा प्रयोग गर्दै जाने धितालले बताए । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईले कोषले सञ्चयकर्तालाई विश्वास दिलाउने काम गरेर उनीहरूको मन जित्न सफल भएको बताए । 

उनले भने, ‘सञ्चय कोषमा सञ्चयकर्ताको रकम र भविष्य मात्रै सुरक्षित भएको छैन, सबैलाई लाभ पनि मिलेको छ ।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी अरुणकुमार बिसीले आर्थिक सुरक्षा दिने उद्देश्यले खोलिएको सञ्चय कोषले सञ्चयकर्तालाई अन्य सुविधा पनि दिएको भन्दै प्रशंसा गरे । 

‘कोषले वित्त, ऊर्जा, पर्यटनलगायत क्षेत्रको विकासमा समेत ठूलो टेवा दिएको छ’ उनले भने ।

कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगाल, नेपाली सेना, नेपाल प्रहरीका उच्च अधिकारी, कोष सञ्चालक समितिका सदस्य लगायतको उपस्थिति थियो । 

कार्यक्रममा सञ्चय कोषमा २५ वर्षदेखि कार्यरत ३ जना उच्च तहका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ । त्यस्तै ६ जना अधिकृतलाई १५ वर्ष सेवा गरेवापत् सेवा पदक प्रदान गरिएको छ ।

वार्षिकोत्सवमा यस वर्षको एसईईमा राम्रो जीपीए ल्याई उत्र्तीण हुने कर्मचारीका छोराछोरीलाई नगद पुरस्कार तथा प्रशंसापत्र समेत दिइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved