अर्थमन्त्रीले बोलाएपछि यी व्यवसायी काठमाडौँ आउँदै (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 11:47:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई छलफलमा बोलाएपछि विराटनगरका उद्योगी व्यवसायीहरु आज साँझ काठमाडौँ आइपुग्दै छन् । 

ब्याजदरको वृद्धि र चालूपूँजी कर्जा मागदर्शनको विरोधमा आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री पौडेलले वार्तामा बोलाएपछि उद्योगी व्यवसायीहरु वार्ता समिति नै बनाएर काठमाडौँ आउन लागेका हुन् । 

मन्त्रीले वार्तामा बोलाएपछि आन्दोलनको नेतृत्व गरिरहेका मोरङका व्यावसायिक संगठनले आन्दोलनलाई स्थगित गरेका छन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश नम्बर १ समितिले आन्दोलन रोकेका हुन् ।

को को आउँदैछन् काठमाडौँ ?

उद्योगी व्यवसायीहरुले मंगलबार बिहानै मिटिङ बसेर वार्ता समिति बनाएका छन् । वार्ता समितिमा रहेका सबै जना आज काठमाडौँ आउने भएका हुन् । 

वार्ता समितिमा सीएनआई प्रदेश नम्बर १ समितिका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, अटोमोबाइल्स डिलर्स एसोसियसन मोरङका अध्यक्ष संजय श्रेष्ठ, विराट व्यापार संघका अध्यक्ष, सुनचाँदी व्यवसायी संघका अध्यक्ष रहेका छन् । 

त्यस्तै, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यष अब्दुल वाहिद अन्सारी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुलाई पनि वार्ता समिति रहेको र उनीहरु पनि काठमाडौँ जाने सीएनआई प्रदेश नम्बर १ समितिका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघलाई पनि वार्ता समितिमा सदस्य पठाउन भनिएको उनको भनाई छ ।

वार्तामा बस्दा औद्योगिक व्यवसायिक प्रयोजनका लागि प्रवाह हुने कर्जाको ब्याजदर एकल अंकको हुनुपर्ने र नवीकरण शुल्कका नाममा बैंकहरुले लिने अस्वभाविक शुल्क घटाउने मुख्य माग हुने व्यवसायीको भनाई छ । राष्ट्र बैंकले कात्तिक १ बाट लागू गरेको चालु पूँजी कर्जा मार्गदर्शन खारेज हुनुपर्ने माग पनि जोडदारका साथ उठाउने उनीहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved