आधा घटे काठमाडौँ पढ्न आउने विद्यार्थी, कलेजहरु ‘मर्ज’को सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 03:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै काठमाडौँका १०+२ पढाई हुने कलेजहरु विद्यार्थी तान्ने दौडधूपमा छन् । तर, अपेक्षा अनुसार त परकै कुरा, अपेक्षाको नजिक नजिक पनि उनीहरु पुग्न सकेका छैनन् । राम्रो परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई तान्न कलेजहरुले २ महिना अगाडीदेखि अभियान नै चलाएका थिए । 

तर, उनीहरु सफल हुन सकेनन् । हालसम्म काठमाडौँका १०+२ मात्रै पढाई हुने साना कलेजहरुमा विद्यार्थी भर्नाको अवस्था हेर्दा गत वर्षभन्दा ४० देखि ५० प्रतिशत बढी विद्यार्थी घटेका छन् ।

कारण के ?

ब्रिज वाटर कलेजका सञ्चालक अनुराग वाग्ले काठमाडौँका कलेजमा भर्ना भएर पढ्नेमध्ये ५० देखि ६० प्रतिशत काठमाडौँ बाहिरबाट आउने गर्छन् । विशेषगरी १०+२ मात्रै पढाई हुने साना कलेजका विद्यार्थी भनेका काठमाडौँमै १० सम्म पढेकाहरु नभई काठमाडौँ बाहिरबाट आउने हुन् । 

अनुराग वाग्ले अहिले बाहिरबाट आउने विद्यार्थीको संख्या ४० देखि ५० प्रतिशतले घटेको बताउँछन् । कोरोना भाइरस सुरु हुँदा २०७६ चैत्रदेखि लकडाउन हुँदाको प्रभावका कारण गतवर्ष ३० देखि ३५ प्रतिशतले घटेको विद्यार्थी संख्या अहिले झण्डै ५० प्रतिशतले घटेको छ ।

यसो हुनुको पछाडी मुख्य कारण कोरोना नै भएको वाग्लेको भनाई छ । गाउँघरमा १० सम्म पढेका विद्यार्थीहरु कोरोना कारण काठमाडौँ नआई गाउँमै +२ पढ्न बसेकाले अहिले विद्यार्थी घटेका हुन् ।

विज्ञान विषय पढ्न सबैभन्दा धेरै विद्यार्थी आउने प्रदेश नम्बर २ बाट अहिले आधा विद्यार्थी घटेका छन् । जसका कारण प्रदेश २ मा मात्रै निर्भर रहेका कलेजहरुको ‘सस्टेन’ हुनै मुस्किलको अवस्थामा छन् ।

‘मेजर कारण त कोभिड नै’ वाग्ले भन्छन्, ‘देश प्रदेश संरचनामा गएपछि १०+२ लाई मा.वि. मा झारेपछि विद्यार्थी संख्या क्रमशः कम त हुँदै थियो, त्यसपछि न्यू करिकुलम आएपछि पनि घट्ने क्रम नै थियो, तर अहिले त अत्याधिक नै घटेका छन् विद्यार्थीहरु ।’

भ्यालीका विद्यार्थी कता जान्छन् ?

काठमाडौँ उपत्यकाका स्कुलहरुमा कक्षा १० सम्म पढेका विद्यार्थीहरु सिमित मात्रामा मात्रै साना कलेजमा पढ्छन् । नत्र उनीहरु केही ठूला कलेजमा जान्छन् । 

‘भ्याली भित्रका विद्यार्थी ठूला कलेजमा जान्छन्, साना कलेजमा आउने भनेको त भ्याली बाहिरबाट नै हो’ ब्रिज वाटर कलेजका सञ्चालक अनुराग वाग्ले थप्छन्, ‘भ्यालीका स्कुलहरुले नै ठूला कलेज पठाउँछन्, फेरि काठमाडौँमा पढ्ने भनेका अलि पैसावाला नै हुने भएकाले महँगा कलेज नै रोज्छन् । जहाँ ब्याचलर पनि हुन्छ, मास्टर्स पनि हुन्छ । अहिले पनि उनीहरुलाई खासै समस्या छैन ।’

कलेज मर्ज होलान् ?

कोरोनाकै कारण विद्यार्थी घट्दा सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्था आएपछि यसअघि धेरै स्कुलहरु ‘मर्ज’ भएको चर्चा चल्यो । तर, उनीहरुमध्ये धेरैले ‘अफिसियल’ र ‘सेयर वनरसीप’ बाँडफाड सहित मर्ज गरेका थिएनन् । केवल एउटै स्रोत साधन र एउटै शिक्षकबाट अध्ययन गराएर खर्च कटौतीको रणनीति अख्तियारी गरेका थिए ।

यस्तै रणनीति अख्तियारी कलेजहरुले पनि गर्लान् ? वा सेयर बाँडफाड गरेरै मर्जमा जालान् ? 

कलेज सञ्चालकहरु तत्काल मर्जको सम्भावना देख्दैनन् । सबैलाई आफ्नो लाइसेन्स सुरक्षित राखौँ भन्ने हुनाले मर्जमै गइहाल्ने अवस्था भने नरहेको तर, एकै एरियामा भएका कलेजहरु एकै टिचर, एउटै स्रोत साधनबाट चल्न भने सक्ने बताउँछन् ब्रिज वाटर कलेजका सञ्चालक अनुराग वाग्ले ।

उनले यस विषयमा अहिलेसम्म कलेजहरुले खासै छलफल र बहस नचलाएको तर धान्न मुस्किल परेको अवस्थामा रोजाईको पहिलो विकल्प यही हुने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved