मन्थलीः त्रिपक्षीय भिडन्त पक्का, को कति बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 11:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापको मन्थली नगरपालिकामा ३ ठूला राजनीतिक दलले उम्मेदवार तय गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेस एक्लाएक्लै चुनावी मैदानमा होमिँदा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच तालमेल भएको छ ।

एमालेबाट लब श्रेष्ठ मेयरको उम्मेदवार छन् । उपमेयरको उम्मेदवार इश्वरी बस्नेतले पाएकी छिन् ।

नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार बनेका बिनोद कार्की गत स्थानीय निर्वाचनमा उपविजेता बनेका थिए । त्यतिबेला नेकपा एमालेका उम्मेदवार रमेश कुमार बस्नेतले ६ हजार ५२९ मत ल्याएर विजयी हुँदा कार्की ५ हजार ३७९ मतसहित उपविजेता बनेका थिए ।

त्यस्तै माओवादी र समाजवादीको तर्फबाट साझा उम्मेदवार बनेका तारानारायण श्रेष्ठ पनि गत निर्वाचनमा तेस्रो भएका थिए । उनले २०७४ को स्थानीय तह निर्वाचनमा ५ हजार ३ सय ११ मत ल्याएका थिए ।

को कति बलियो ?

२०७४ सालको स्थानीय निर्वाचनको मत परिणामका आधारमा अहिलेको मत सर्वेक्षण गरिनु गलत हुने एमालेकै नेताहरु पनि बताउँछन् । तर, विगतको तुलनामा मन्थलीमा एमाले अझ शक्तिशाली भएर आएको दाबी उनीहरुको छ ।

गत निर्वाचनमा एमालेबाटै उम्मेदवार बनेर मेयरमा जितेका रमेश बस्नेत अहिले नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष बन्दा पनि मन्थलीमा उनको प्रभाव अत्यन्त न्यून रहेको र मन्थलीमा समाजवादीले एमालेको मत काट्न नसक्ने जिकिरि उनीहरुको छ ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कार्की काँग्रेसको २ पटक क्षेत्रीय सभापती हुँदै हाल रामेछाप काँग्रेसको जिल्ला कार्यसमिति सचिव छन् । २०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएपनि उनी पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

‘उहाँको सक्रियताकै आधारमा पार्टीले टिकट दिएको हो, दाबेदारहरुमध्ये उहाँले नै जित्न सक्नुहुन्छ भनेर पार्टीले मूल्यांकन गरेको हो’ रामेछाप काँग्रेसका एक नेता भन्छन् , ‘गत निर्वाचनमा काँग्रेस दोस्रो भएको हो, अहिले हाम्रो प्रतिस्पर्धी पार्टीमा टुटफुटको कुराले पनि हामीलाई सहयोग पुग्छ भन्ने ठानेका छौँ ।’

नेकपा माओवादी केन्द्र र समाजवादीबाट साझा उम्मेदवार बनेका तारानारायण श्रेष्ठ संविधानसभा सदस्य हुन् । २०६४ को संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट श्रेष्ठ विजयी भएका थिए । तर, उनै ‘हेभिवेट’ उम्मेदवार २०७४ को स्थानीय निर्वाचनमा मन्थलीको मेयरमा पराजित मात्रै नभई तेस्रो भए ।

‘यसपटक एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीको समेत समर्थन हामीलाई छ, त्यसकारण हामी चुनाव जित्छौँ, मतान्तर कति हुने भन्ने मात्रै हो’ माओवादीका मन्थलीस्थित स्थानीय एक नेताले भने ।

तर, एमालेले उम्मेदवार बनाएका लब श्रेष्ठ ‘चानचुने’ उम्मेदवार भने नभएको काँग्रेस र माओवादीले नै स्वीकार गरेका छन् । सबैभन्दा बढी मत भएको चिसापानी र गेलुबाट एमालेलाई नै एकछत्र मत खस्ने देखिएकाले लब श्रेष्ठलाई हराउन काँग्रेस र माओवादीका उम्मेदवारलाई कठिन छ ।

‘लब श्रेष्ठ अहिलेका ३ प्रतिस्पर्धीमध्ये सबैभन्दा हेभिवेट उम्मेदवार हुन्, चुनाव लडेकैले मात्रै जित्ने भन्ने हुँदैन, जनताले काम गर्ने सम्भावना कुन उम्मेदवारमा देखेका छन् भन्ने कुराले अर्थ राख्छ’ मन्थलीका एक बुद्धिजीविले भने, ‘मन्थली नगरपालिका भरीमा ३७ हजार २२० जना मतदाता छन्, योमध्ये ३१ देखि ३२ हजार जति भोट खस्ने अनुमान मैले गरेको छु, कति मत त बदर नै होलान् । काँग्रेस र माओवादीले पाउने मत प्रतिस्पर्धी नै हुन्छ, त्योभन्दा २५ सय देखि ३ हजार बढी मत एमालेले पाउँछ, एमालेले यति बढी किन भन्नुहोला, किनकी एमालेले उम्मेदवार नै त्यस्तै उठाएको छ, व्यक्तिगत मत नै २ हजार बढी छ उहाँको, अरु पार्टीको मत पनि तान्ने उम्मेदवार भएकाले ३ हजार बढी आउँछ भनेको हो मैले ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved