स्थानीय तहको चुनावमा जनताले दिएको भोट गणनापछि मतपत्र कहाँ जान्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2022 | 08:15:54 PM मा प्रकाशित

laxmi bank ntc

स्थानीय तहको निर्वाचनका निम्ति निर्वाचन आयोगले दुई करोड सात लाख वटाभन्दा केही बढी मतपत्र छापेको थियो। तिनै मतपत्रबाट जनमतको छिनोफानो गर्ने काम अहिले भइरहेको छ।

गणना गरिसकेपछि मतदाताले छाप लगाएका र बाँकी रहेका मतपत्र के गरिन्छ भन्ने तपाईँलाई थाहा छ?

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार गणना गरिएका मतपत्रहरू केही समयका लागि सुरक्षित राखिन्छ। यद्यपि प्रयोग नभएका मतपत्रहरू जनक शिक्षा सामग्री केन्द्रमा नष्ट गरिन्छ।

"छाप लगाइएका मतपत्रहरूलाई मुद्दा पर्ने अवधिसम्म नष्ट गर्न मिल्दैन," आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

किन केही समय सुरक्षित राखिन्छ?

परिणाम चित्त नबुझेको वा उम्मेदवारको योग्यतासम्बन्धी विषयमा मतपरिणाम घोषणा भएको ३५ दिनभित्र उजुरी दिन पाउँछन्।मुद्दा परेको खण्डमा मतपत्रलाई प्रमाणस्वरूप राखिन्छ। त्यसरी राखिएका मतपत्रहरू मुद्दाको अन्तिम निर्णय नभएसम्म सुरक्षित राख्नुपर्छ।

उजुरी नपरेका मतपत्रहरू चाहिँ जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै नष्ट गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

"मतपत्र नष्ट गर्ने प्रक्रियालाई धुल्याउने भनिन्छ। निर्वाचनमा प्रयोग भएका अन्य कागजहरू यसरी नष्ट पार्दा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू साक्षी बस्छन्," उनले बीबीसीसँग भने।

नियममा के छ?

सरकारी कागजातहरू धुल्याउने नियमहरू २०२७ का अनुसार "धुल्याउनु"को अर्थ सरकारी कार्यालयमा रहेको कागजपत्रमा लेखिएका ब्यहोरा पढ्न, बुझ्न र त्यसको कुनै उपयोग गर्न नमिल्ने गरी रद्द गरिनु हो।

वि.सं. २०७० सालमा भएको संशोधन भएको नियममा उक्त शब्दले कागजलाई आगोमा डढाउने बुझाउने उल्लेख गरिएको छ।

धुल्याउनुको शाब्दिक अर्थ "धुलो पार्नु" हुन्छ।

"धुल्याउनु भनेको त धुलो पार्नु हो। तर मन्त्रिपरिषद्ले किन डढाउनु भन्यो थाहा छैन। यो गलत व्याख्या हो। कागजहरू डढाउनु पनि पर्यावरणीय दृष्टिकोणबाट गलत नै हो," आयोगकी भूतपूर्व आयुक्त इला शर्मा बीबीसीसँग भनिन्।

पर्यावरणमा कस्तो असर?

यसरी ठूलो परिमाणमा रहेको कागज जलाउनु पर्यावरणीय दृष्टिकोणबाट उचित नभएको शर्माको तर्क छ। उनले आफू आयोगमा रहँदा नै मतपत्र व्यवस्थापनको लागि आगो लगाउनुबाहेक अरू विकल्पका लागि पहल गरेको दाबी गरिन्।

"मैले निकै समय मतपत्र डढाउने निर्णयमा हस्ताक्षर नै गरेकी थिइनँ किनकि यो निकै गम्भीर विषय हो। तर मतपत्र नष्ट गर्ने अन्य विकल्प पनि भएन," उनले भनिन्।

"त्यसरी कैयौँ क्विन्टल कागज आगो लगाउँदा पर्यावरणमा ठूलो असर पर्छ। अब त आयोगले विकल्प खोज्नुपर्छ।"

उनले मतदाता नामावली, मतपत्रजस्ता कागजहरू पुनर्प्रयोग गर्न सकिनेगरी धुलो पार्न सकिने बताइन्।

देशका विभिन्न ठाउँमा वायुको गुणस्तर खतरनाक तहमा पुगेको विवरणहरू सार्वजनिक भएका छन्। यसै वर्ष मार्च महिनामा आइक्यू एअर नामक स्विस संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा काठमाण्डू सबैभन्दा प्रदूषित सहर भएको देखिएको थियो।

त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागकी पूर्व प्रमुख समेत रहेकी प्राध्यापक डा. रेजिना मास्केले कागज जलाउँदा निस्किने धुवाँले वातावरणमा मात्र नभई मानिसको स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने बताइन्।

उनका अनुसार कागज, कागजमा चिह्न र अक्षर छाप्न प्रयोग गरिएका रसायन र छाप लगाउन प्रयोग गरिएको मसी धुवाँमा मिसिएर निस्किँदा निकै हानिकारक बन्छन्।

उनले भनिन्, "धुवाँ हावामा मिसिन्छ। हावा एकै ठाउँ रहँदैन र त्यसैलाई हामीले सासमा लिन्छौँ। त्यसले हामीलाई अस्वस्थ बनाउँछ।"

उनको तर्कमा सहमति जनाउँछन् फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने संस्था, डोकोका सहसंस्थापक राघवेन्द्र महतो।

"बढ्दो वायुप्रदूषणमा कागज जलाउँदा निस्किएको धुवाँले झन् धेरै असर पार्छ। प्रदूषण झनै बढ्छ," उनले बीबीसीसँग भने।

डढाउनुको विकल्प के?

उनले आफ्नो संस्थाले निर्वाचन आयोगसमक्ष २०७४ को निर्वाचनमै मतपत्र व्यवस्थापनको जिम्मेवारी आफूहरूलाई दिन आग्रह गरेको सुनाए।

"हामीले ती कागजपत्रलाई धुलो बनाएर पुनर्प्रयोग गर्ने उद्योगलाई दिने योजना थियो। तर उहाँहरूले कानुनले नै जलाउने निर्देशन दिएको बताउनुभयो," उनले थप जानकारी दिए।

विशेष उपकरणको प्रयोग गरी कागजहरूलाई धुलो बनाइन्छ। त्यसरी टुक्राएको कागजहरू उद्योगहरूले पुनः कागज नै बनाउन वा अन्य सामग्री बनाउन प्रयोग गरिन्छ। मतपत्रहरू पुनः आउँदो निर्वाचनमा मतपत्र बनाउन प्रयोग गर्न सकिने महतो बताउँछन् ।

"कागजमा राज्यको ठूलो लगानी छ। यो आगामी निर्वाचनको लागि स्रोत बन्न सक्छ। त्यसैले जलाउनुभन्दा उचित धुल्याएर पुनरुत्पादन गर्नु हो," उनले उपाय सुझाए।

नष्ट कसरी गर्न सकिन्छ?

कागज धुलो बनाउन विशेष किसिमको उपकरण प्रयोग हुन्छ। महतोका अनुसार ती उपकरणहरूमध्ये केहीले एक पटकमा ६०० किलोग्रामसम्म कागज जलाउन सक्छ।

उपकरण र जनशक्ति प्रयोगका कारण यो विधि केही खर्चिलो भए पनि ती कागजको पुनः प्रयोग गर्न मिल्ने भएकाले आर्थिक नोक्सानी नहुने उनी बताउँछन्।

"यस प्रक्रियामा संलग्न कामदारहरूलाई धुलोले केही असर पुर्‍याउन सक्छ।

त्यसैले सुरक्षा सामग्रीहरूको प्रयोग गर्नुपर्छ," उनले भने।

उनले आयोगले छापेको कुल मतपत्र धुल्याउन बढीमा एक महिना लाग्ने जानकारी दिए। -बिबिसीबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved