एकल बहुमत ल्याउन यस्ता छन् ओलीका ७ रणनीति: चुच्चे नक्साको प्रचारदेखि सामाजिक संजालको उपयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2022 | 12:05:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले शुक्रबारदेखि आफ्नो चुनावी सभा सुरु गरेको छ । सधै पूर्वबाट चुनावी सभा गर्ने एमालेले यस पटक भने पश्चिम नेपालबाट चुनावी सभा सुरु गरेको छ । 

एमाले अध्यक्ष केपी ओलीले दार्चुलाबाट चुनावी सभा सुरु गर्दै आफ्नो सरकारको पालामा ल्याएको चुच्चे नक्सालाई चुनावी एजेण्डा बनाउने संकेत दिइसकेका छन् । उनले शुक्रबार भएका चुनावी सभामा आफ्नो सरकारले संविधान संशोधन नै गरेर देशको गुमेको भूभाग समेतको नक्सा जारी गरेको, र गुमेको भूमि फिर्ता गर्नको लागि भारतसँग पत्राचार गरेको बताए । ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरे। उनले नाकाबन्दीको बिरुद्द कांग्रेसले बोल्न नसक्दा एमालेले गरेको काम सम्झेर भोट हाल्न आग्रह गरे । भारतले नेपालमाथि अत्याचार गर्दा समेत सत्ता गठबन्धन नेताहरु चुप बसेको उनको आरोप थियो ।

यसबाट नै ओली यस पटक राष्ट्रियताको विषय उठाएर भोट बटुल्ने प्रयासमा रहेको देखिन्छ । ओलीले यस पटक एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दाबी गरिरहेका छन् । यसपटक २०७४ सालमा पार्टीले एक्लै जितेको सिटभन्दा बढी जित्ने एमाले नेताहरूले दाबी गरिरहेका छन्। तर, एमालेले जसपासाथै कतिपय क्षेत्रमा राप्रपासँग समेत तालमेल गरेको कारण प्रतिनिधिसभाका १४१ क्षेत्रमा मात्र उम्मेदवार खडा गरेको छ।

अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाका पाँचमध्ये चार क्षेत्रमा मात्र एमालेका उम्मेदवार छन्। झापा–५ मा ओलीलाई राप्रपाको समर्थन हुँदा झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेको साथ छ। तर, उम्मेदवार बनेका अन्य एमाले पदाधिकारीका क्षेत्रमा तालमेल गरिएको छैन।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचन परिणामका कारण एमाले सशंकित छ । उसले केन्द्रीय स्तरका नेता सबैलाई चुनावी कार्यक्रममा खटाएको छ । एमालेले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउने, लोकप्रिय मत बढाउनेदेखि पार्टी सदस्यलाई पाँच मत सुरक्षित गराउनेसम्मको रणनीति लिएको छ।

यस्ता छन् चुच्चे नक्साको विषय बाहेक चुनाव जित्न एमालेले अपनाउँन लागेको रणनीति  

रणनीति १: ४० जिल्लामा ओलीको सम्बोधन

दार्चुला सदरमुकाम खलंगाबाट कार्तिक १८ बाट सुरु गरिएको एमालेको चुनावी अभियान मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। यसबीचमा ४० जिल्लामा हुने चुनावी सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन्। पहिलो दिन कात्तिक १८ मा ओलीले दार्चुलासहित सुदूरपश्चिमका तीन जिल्लाका सभालाई सम्बोधन गरेका छन् । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि एमाले अध्यक्ष ओली नै अधिकाशं सभामा पुगेका थिए। एमालेले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेर सत्ता गठबन्धनलाई मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ । सत्ता गठबन्धनबाट भने आउँदो निर्वाचनपछि कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रष्ट छैन। यो विषयलाई पनि एमालेले जनतामाझ लाँदैछ ।

रणनीति २:  सत्ता गठबन्धनको औचित्य नभएको प्रचार

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भएका बेला दोस्रोपटक संसद् विघटन गरेपछि उनको कदम विरूद्ध नेपाली कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको थियो। सर्वोच्च अदालतको २०७७ असार २८ गतेको आदेशले सरकारबाट हटेदेखि नै एमालेले उक्त गठबन्धन तोड्ने प्रयास गरेको थियो।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनअघि नै गठबन्धन तोड्ने प्रयास सम्भव भएको थिएन। तर, यसपटक गठबन्धनभित्रको एक घटक जसपालाई आफ्नो पक्षमा ल्याएको छ। अब सत्तापक्षीय गठबन्धनको औचित्य नभएको एमालेले प्रचार गर्ने रणनीति बनाएको छ।

सत्तामा पुगेर आफू र आफ्ना लागि लाभ लिने काम मात्रै गठबन्धन दलले गरेको भन्दै यसबारे जनतालाई प्रशिक्षित गर्ने एमालेको तयारी छ । सत्ता गठबन्धनमा रहेका दलहरू एक्लै चुनावमा जान सक्ने हैसियतमा नभएकै कारण राष्ट्रिय शक्तिका रूपमा एमाले देखिएको नेताहरूको बुझाइ छ। एक एमाले नेताले भने, 'नितान्त एक्लै हुन्छौँ कि भनिरहेका बेला सत्ता गठबन्धनको एक घटक हामीसँग मिल्न आयो। हिजो हाम्रा विरूद्ध उभिएको शक्ति जसपा मिल्न आउँदा त्यसले तराईको राजनीतिक परिदृश्यमा धेरै अर्थ राख्छ।'

रणनीति ३: ‘पार्टी क्रस, लाख प्लस’

एमालेले आगामी निर्वाचनमा पार्टीको ‘पपुलर’ मतलाई वृद्धि गर्ने र बहुमत ल्याउने दाबी गरिरहेको छ । मत वृद्धिका लागि नै एमालेले ‘पार्टी क्रस, लाख प्लस’ अभियान सञ्चालन गरेको थियो। त्यो भनेको विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा ल्याउने रणनीति थियो।

स्थानीय तहको निर्वाचनअघि पनि नेकपा एमालेले पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाएको थियो। अहिले पनि एमालेले पार्टी प्रवेश कार्यक्रम चलाइरहेको छ। एमालेका एक नेता भन्छन्, 'स्थानीय तहको भन्दा एमालेले ६ लाख बढी पपुलर मत पाउँदैछ । त्यसले पार्टीको समानुपातिकतर्फ सिट बढ्नेछ।'  वैशाखमा सम्पन्न निर्वाचनमा एमालेले देशभरबाट ३८ लाख १ हजार ३४७ मत प्राप्त गरेको थियो। २०७४ को आम निर्वाचनमा एमालेको समानुपातिकतर्फको मत ३१ लाख ७३ हजार ४४९ थियो।

रणनीति ४: प्रत्येक पार्टी सदस्यले ३ मत सुनिश्चित गर्ने, २ थप्ने

एमालेले चुनावमा बढीभन्दा बढी सिट जित्नका लागि केन्द्रीय नेताहरूदेखि पार्टी सदस्यसम्मलाई परिचालन गरेको छ। उसले हरेक पार्टी सदस्यलाई कम्तिमा पाँच मत जुटाउन निर्देशन दिएको छ।

हरेक सदस्यलाई अनिवार्य रूपमा ३ मत सुनिश्चित गर्ने र २ मत थप्ने अभियानमा लाग्न भनिएको छ। यसले पनि आसन्न निर्वाचनमा एमालेको पक्षमा राम्रो जनमत निर्माण हुने र त्यसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पार्टीले राम्रो मत ल्याउने आंकलन गरिएको छ ।

रणनीति ५: जसपा र राप्रपाको मत ‘सूर्य’मा खसाउने

मधेस प्रदेशमा जसपा र अन्य केही क्षेत्रमा राप्रपासँग तालमेल गरेपछि एमालेलाई ती दलका समर्थकको मत सूर्य चिह्नमा खसाउने चुनौती छ। तालमेलका कारण सत्ता गठबन्धनमा रहेका दलभन्दा कतिपय क्षेत्रमा एमाले बलियो भएको छ। गत स्थानीय तहको निर्वाचनमा पाएको मतलाई हेर्दा जसपा र राप्रपासँगको सहकार्यले केही फाइदा पुग्ने देखिन्छ।

त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नेमा एमाले आफूले पनि प्रतिबद्धता जनाएको छ र अन्य दललाई पनि त्यसैअनुसार तयारी गर्न आग्रह गरेको छ। 'शक्ति वृद्धि गर्नका लागि केही ठाउँमा हामीले तालमेल गरेका छौँ। हाम्रा अजेन्डामा पनि हामीले अरुलाई सहयोग गर्नुस् भनिरहेका छौं,' एक नेता भन्छन्।

उनका अनुसार २०७४ सालको आम निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमालेले दुई सिटमा मात्रै जित हात पारेको थियो। तर, आसन्न निर्वाचनमा कम्तिमा १० सिट जित्ने उसले अनुमान गरेको छ। जसपासँगको तालमेलकै कारण जित सम्भव हुने एमाले नेताहरू बताउँछन्।

यस्तै राप्रपासँग पनि एमालेले झापा, रूपन्देही, बाँकेलगायत जिल्लामा चुनावी तालमेल गरेको छ। त्यसले पनि सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न सहज हुने एमालेको अनुमान छ। एमाले र जसपाबीच भएको सहमति अनुसार एमालेले १७ सिट जसपालाई दिएको छ। एमालेले उम्मेदवार बनाएका ३५ निर्वाचन क्षेत्रमा जसपाले एमालेलाई सहयोग गरेको छ। 

एमालेको सूर्य चुनाव चिन्ह लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट चुनाव लड्दै छन्। एमालेले केही क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएकालाई पनि समर्थन गरेको छ।

रणनीति ६: बागीलाई कारबाही, एकताबद्ध भएको सन्देश

पार्टीले टिकट नदिएपछि नेता घनश्याम भुसालले रूपन्देही–१ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिए । उक्त क्षेत्रमा एमालेले पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ।

पार्टी निर्णय विपरीत बागी उम्मेदवारी दिएपछि भुसाललाई एमालेले कारबाही गरेको छ। उनी पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन्। हुनत एमालेले उक्त निर्णय गर्नुअघि नै भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

यस्तै रौतहट–३ मा पार्टीले टिकट दिए पनि नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। पार्टीको सिफारिस पत्र खल्तीमा हालेर बसेका उनले अन्तिममा आफू निकट अन्य नेता कार्यकर्ताले टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिए। उनलाई पनि पार्टीले निष्कासन गरिसकेको छ।

विभिन्न क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध मनोनयन दर्ता गरेका नेता कार्यकर्तालाई पनि एमालेले कारबाही गरिसकेको छ।

रणनीति ७: आइटी र सामाजिक संजालको भरपुर प्रयोग 

एमालेले आफ्नो घोषणापत्र  डिजिटल माध्यमबाट सार्वजनिक गर्यो । अन्य दलभन्दा एमाले प्रविधिको विषयमा निकै अगाडी देखिएको छ । आईटी बाहेक एमालेले सामाजिक संजाल बाट गरिने प्रचारलाई ब्यापक बनाएको छ । एमाले अध्यक्ष ओली आफै सामाजिक संजालमा सक्रिय छन् । उनले एमालेलाई किन मतदान गर्ने भन्ने भिडियो शेयर गर्ने गरेका छन् । साथै एमालेले सामाजिक संजालबाट प्रचार गर्नको लागि छुट्टै युनिट नै गठन गरेको छ । 

समानुपातिकमा ५० र प्रत्यक्षमा १०० सिटको लक्ष्य

एमालेले चुनावमा २०७४ सालमा गरेको प्रतिबद्धताअनुसार नै बाँकी रहेका कामहरू सम्पन्न गर्ने भन्दै आउँदो चुनावमा केन्द्रित भएको छ। उसले मतदाता समक्ष यही प्रतिबद्धता लिएर जाँदैछ।

'०७४ सालमा गर्छौं भनेका थियौं, त्यो बाँकी रहेको काम गर्ने हो। एउटै पार्टी बनाउने भनेर यसअघिको निर्वाचनमा तालमेल भएको थियो। तर, साथीहरूले जनमतलाई खण्डित गरेर जानुभयो भनेर जनतालाई भन्छौं,' एक नेता भन्छन्।

एमालेले आउँदो चुनावमा समानुपातिकतर्फ ५० र प्रत्यक्षतर्फ १०० सिट जितेर बहुमत ल्याउने दाबी गरिरहेको छ । गृहजिल्ला झापामा रहेका एमाले अध्यक्ष ओलीले पनि आउँदो चुनावमा एमालेले समानुपातिक समेत गरेर १५० सिट जित्ने दाबी गरिरहेका छन्। एमालेका अन्य नेताहरूले पनि चुनावी सभामा एमालेले बहुमत ल्याउने बताउँदै आएका छन्। मतदाता र नेता कार्यकर्ताको मनोबल उच्च बनाउन एमालेले १५० सिट जित्ने दाबी गरे पनि प्रत्यक्षतर्फ जित्ने सिट संख्यामा भने नेताहरू नै विश्वस्त देखिँदैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved