३००० लाई रोजगारीको लक्ष्य सहित सुरु भयो नेपाल जब फेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 07:03:51 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ आज (बिहीबारदेखि) राजधानीमा सुरु भएको छ ।

जब फेयर २०२१ को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले जब फेयर २०२१ जागिर चाहने र रोजगारी दिन तयार रोजनगारदाताहरुका लागि उपयुक्त थलो बन्ने विश्वास व्यक्त गरे।

उद्घाटन समारोहमा रोजगार विज्ञ प्रा.डा. रमेशप्रसाद कोइरालाले स्वदेशमा रोजगार सिर्जना गर्नका  वैदेशिक लगानी आवश्यक रहेको तर्क गरे। त्यसका लागि द्धिपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (विप्पा) तथा दोहोरो कर मुक्ति सम्झौता ( डिटिएए) जस्ता कानुनी प्रावधानमा सरकार स्पष्ट हुन जरुरी रहेको उनको भनाइ थियो।

त्यस्तै, समारोहलाई संवोधन गर्दै अर्थ–राजनीतिक विष्लेषक हरि रोकाले अहिलेकै अवस्था रहिरहे मुलुक भयानक मन्दितर्फ जान सक्ने चेतावनी दिए। कमजोर सरकारी खर्च, त्यसबाट उत्पादनमा ह्रास, बस्तुको मागमा कमी र पुनः रोजगारीमा कटौतिपछि मुलुक मन्दिको दुष्चक्रमा फस्ने उनको चेतावनी छ । यथास्थितिकै संरचनाबाट परिवर्तन संवभ नरहेको उनको भनाइ छ।

त्यस्तै, पूर्वाधार विकासका जानकार तारा पौडेलले कृषि, पर्यटन, उर्जा, उद्योग, बैदेशिक रोजगारी नेपालको विकासका लागि संभावना भएका क्षेत्र रहेको उल्लेख गरे। यिनै क्षेत्रको विकासबाट नेपालमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सकिने पनि उनले बताए. 

पूर्व डिआइजी केशब अधिकारिले मुलुकभित्र देखिएका अपराधका मुख्य कारण बेरोजगारी रहेकोले यसतर्फ बलैमा सोच्नुपर्ने औल्याए।

एस्पायर नेपालको आयोजनामा मुलुकमै पहिलोपटक सुरु भएको नेपाल जब फेयर आगामी शनीबारसम्म चल्नेछ ।

जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यास  (Ethical & Transparent HR Practice)   को सूत्रपात गर्ने लक्ष्य लिएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।

जब फेयरमा एक सयभन्दा बढी रोजगारदाताको सहभागीता रहेको छ । जब फेयर अवधिभर १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन हुनेछन् । जसबाट ३००० भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

“नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गरेका हौंं,” नेपाल जब फेयरका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले भने, “जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्नुहुनेछ।” 

जब फेयरले मानव संशाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यासको सिर्जना गर्ने अपेक्षा लिइएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved