
 2mb (1).gif)
एम्पिक इनर्जी प्रालिले १३२ मेगावाटको तल्लो वरुण जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले संखुवासभा जिल्ला भोटखोला गाउँपालिका साविक हतिय गाविसमा अवस्थित वरुण खोलाको पानि उपयोग गरि १३२ मेगावाटको तल्लो वरुण जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको हो।
विद्युत विकास विभाग र कम्पनीले आज संयुक्त रुपमा सूचना जारी गर्दै आयोजनाबारे राय प्रतिक्रिया दिन आग्रह गरेका छन् । प्रस्तावित तल्लो वरुण खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालय कमलपोखरीमा आफ्नोलिखित राय प्रतिक्रिया दिन आग्रह गरिएको छ।
यस आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । बाँधस्थलबाट प्रत्येक महिना नदीको बहाबको ५० प्रतिशत पानी छोड्न प्रस्ताव गरिएको छ । आयोजनाको ग्रसहेड ८५३ मिटर रहेको छ ।
कम्पनीका अनुसार यो आयोजना रन अफ रिभर किसिमको हो। डिजाइन डिस्चार्ज १८.४४ घनमिटर प्रति सेकेन्ड रहेको छ । वरुण खोलाको पानी फर्काउन खोलामा २० मिटर चौडाइ र ५ मिटर उचाइ भएको बाँध रहनेछ । बाँधको बायाँ किनारमा रहने ४ वटा Orific Type Intake बाट १३ मिटर लम्बाइ, ९.५ मिटर चौडाइ र ५.६६ मिटर उचाइ भएको ग्राभेल ट्र्यापबाट बक्स कल्भर्ट हुँदै पानीलाई बालुवा थिग्राउन भूमिगत पोखरीमा लगिने छ। जसको लम्बाइ १२० मिटर चौडाइ १५ मिटर र गहिराइ ५.९३२ मिटर हुनेछ । सो पश्चात् पानीलाई ४५२७ मिटर लम्बाइ, ३.५ मिटर चौडाइ र ३.५ मिटर उचाइ भएको Modified Horse Shoe Shaped हेडरेस टनेल मार्फत पानीलाई सर्ज ट्याङ्कमा लगिनेछ । जसको उचाइ २७.९८ मिटर र व्यास १० मिटरको हुनेछ। यसबाट पानीलाई १३४८ मिटर लम्बाइ र २.६ मिटरदेखि १.४ मिटर सम्मको विभिन्न व्यास भएको भूमिगत पेनस्टक पाइपबाट विद्युत गृहमा खसालिनेछ । विद्युत गृहको लम्बाइ ८० मिटर चौडाइ १२ मिटर र उचाइ १४ मिटर हुनेछ । विद्युत गृहमा ६ वटा भर्टिकल एक्सिस पेल्टन टर्वाइन र सो टर्वाइनमा जडित ६ वटा २६.६ एम.भी.ए. क्षमताको जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । विद्युत उत्पादन पश्चात् पानीलाई ५०५.७५ मिटर लम्बाइ र ४.६ मिटर व्यास भएको टेलरेस टनेल मार्फत पुनः वरुण खोलामा छोडिनेछ । टेलरेसमा पानीको सतह समुद्री सतहबाट ११४४.४०१ मिटर रहनेछ । उत्पादित विद्युत शक्तिलाई १.७३३ कि.मि. लामो २२० के.भी. प्रसारण लाइन मार्फत माथिल्लो अरुण ज. वि. आ. को स्विचयार्डमा जोडिनेछ । यस आयोजनाको निर्माण अवधि ५ वर्ष हुनेछ । आयोजनाको अनुमानित लागत ने रु. २० अर्ब १२ करोड ८७ लाख रहेको छ ।आयोजना क्षेत्र अधिकांश मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । आयोजना क्षेत्र अरुण भ्यालीको एक क्षेत्र हो। आयोजना क्षेत्रमा पाइने मुख्य वनस्पतिहरूमा उत्तिस, फलाँटे, काउलो, चिलाउने आदि हुन्। आयोजना क्षेत्रमा पाइने मुख्य वन्यजन्तुहरूमा चितुवा, रातो बाँदर, स्याल, वनबिरालो, लोखर्के, खरायो, भालु आदि रहेका छन् । आयोजना क्षेत्रमा पाइने चराहरूमा कालिज, ढुकुर, मलेवा, फिस्टे, जुरेली, काग, तित्रा, कोइली आदि रहेका छन् । आयोजनाको बाँध स्थलबाट मासिक बहाव ५०% पानी वरुण नदीमा छोड्न प्रस्ताव गरिएको छ ।
यो आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।