प्रकाश
परिष्कार
यतिबेला धेरै नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि नेपालको माटो मुटुमा सजाएर बोइङ्गको ढोकामा लाम लागेका छन् । देशको हालको अवस्थामा आफ्नो भविष्य नदेखेरै अरबको बालुवामा सपनाको खेती गर्दै नेपाली युवाशक्ति विदेशमा पसिनाको अजस्र धारा चुहाउँदै छन् । यता सरकार भने युवा लक्षित धेरै कार्यक्रमहरूलाई दिनदिनै ठूलाठूला तारे होटलहरूमा गौरवका साथ लञ्च गर्दैछ र, मिडियाका सामु सरकारको खोकी निकै दमदार सुनिन्छ –‘हामी नेपाली युवाशक्तिलाई नेपालमै परिचाल गरेर देशलाई विकास र समृद्धिको बाटोमा दौडाउँछौं ।’
कृषिमा आधुनिकीकरण तथा आधुनिक पशुपालनको क्षेत्रमा छुट्याएको बजेट हेर्दा त झन् आजै अझ अहिल्यै केही चामत्कारिक काम भइहाल्ला कि जस्तो लाग्छ तर यथार्थ फरक छ । केही युवा सरकारको योजना र सोचअनुरूप नै आधुनिक कृषि क्रान्तिमा होमिएका छन् भने पशुपालनबाट आफ्नो भविष्य देख्ने युवाहरूको जमात पनि कम लामो छैन । यस्तै योजनालाई फलो गरेर आफ्नो भविष्य आफ्नै रेखोपाखो र बारीमा देख्ने युवाहरूमध्ये पर्छिन् रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १३ आरूबोटेकी युवा कृषक कमला सारू मगर ।
मगरले आफ्नै घरमा ७८ वटाभन्दा बढी खरायाहरू पालेकी छिन् । सामाजिक परिचालक सम्बन्धी शिक्षा लिँदालिँदै ‘ र्याबिट नेपाल’ नामक गैर सरकारी संस्थामार्फत् खरायो पालन व्यवसायमा होमिएकी हुन् उनी ।
सामाजिक परिचालकको कक्षाभन्दा खरायो पालनमा राम्रो भविष्य देखेकी सारू मगरले २०७३ सालदेखि खरायो पालन व्यवसाय शुुरू गरेको बताइन् । हाल न्युजिल्याण्ड ह्वाइट र रसियन चिल्चिला जातका खरायोहरू पालेकी कमला यही जातका खरायोहरू नै आफ्नो गाउँको हावापानीमा सप्रिने कुरा बताउँछिन् ।
नेपाली समाजमा खरायोहरू प्रायः हुनेखाने मानिसहरूले घरको शोभा र सौखका लागि पाल्ने तर गरिखाने कृषकहरूले भने व्यापारिक दृष्टिले मासुका लागि पाल्ने गर्दछन् । यसको मासु सेतो हुने भएकाले विदेश र नेपालमा पनि मासुका लागि नै खपत हुने गरेको तथ्याङ्कले देखाएको छ ।
ह्वाइट मिट् हुने गरेकाले खरायोको मासु बाथ, युरिक एसिड तथा सुगरका बिरामीहरूका लागि राम्रो मानिने चिकित्सकहरू बताउँदछन् । खरायो पालनमा खासै धेरै लगानी नहुने उनले बताएकी छिन् । हामीसँगको कुराकानीमा उनी भन्छिन्,‘खरायो पालन व्यवसाय गर्न सजिलो छ । धेरै खर्च गरेर यसलाई पाल्नु पर्छ भन्ने छैन । सामान्य डालेघाँस तथा भुइँघाँस खुवाएर तथा सामान्य कुखुरालाई खुवाउने घरायसी दाना जस्तै चामलको ढुटो, मकैको पिठोलगायत दानाले यिनीहरूलाई हुन्छ । अझ दुबो भयो भने खरायोका लागि अति राम्रो हुन्छ ।’
शिक्षा शास्त्र संकायमा तामाकोसी क्याम्पस खिम्तीमा दोस्रो वर्षमा अध्ययनरत कमला अहिले जीवनको बीसौं वसन्तमा हिँड्दै छिन् । उमेरले धेरै वसन्त पार नगरे पनि उनले आफ्नो व्यावहारिक जिम्मेवारी भने पाको मानिसको झैँ पूरा सम्हालेर बसेकी छिन् । साथमा दुई भाइ र आमाबुबा सहित ५ जनाको जहान रहेको कमलाको परिवारमा खरायोपालन व्यवसायलाई सबै घरका सदस्यहरूले सहयोग गरिरहेका छन् । ६० हजार लागनी गरेर तालिम, खोर र २ जोडी खरायोको भालेपोथी लिएर व्यावसाय थालेकी कमलाका घरमा यतिबेला एक सय ८० भन्दाबढी खरायोहरू रहेका छन् ।
मझौला बगाले तथा साना भर्खर जन्मिएका बच्चाहरूलाई समेत जोड्ने हो भने दुई सय खरायोहरू उनका खोरमा रहेका छन् । खोरको अभावमा केही माउ तथा तिनका बच्चा खरायोहरू बारीका कान्ला कान्लामा खेल्दै गरेको दृश्य देख्दा एक हदसम्म त रमाइलै लाग्छ । तर पनि उनकी आमाका अनुसार ‘आवश्यक खोर र उचित बजारका अभावमा खरायोहरूको बिजोग भएको’ छ ।
हाल खरायोको बजार भाउ कस्तो छ भन्ने हाम्रो जिज्ञासामा कमलाकी आमा अगाडि भन्छिन् ‘माउ पोथी खरायो एउटाको १ हजार ५ सय पर्छ भने भाले खरायोको १ हजार रूपैयाँ पर्छ । यसको मासु काठमाडौँको बजारमा प्रतिकेजी ९ सय पचास रूपैयाँमा पाइन्छ । तर यी खरायोहरूले बजार नपाउँदा हैरान भएका छौं । तालिम लिई छोरीले शुुरू गरिहाली । पाल्दा राम्रोसँग फस्टाउँदा रहेछन् । तर अहिले खरायो धेरै भए फष्टाए । बजार नै छैन । कोही किन्न आउँदैनन् । खरायो बारेमा मान्छेहरूलाई थाहा नभएर हो वा यसको मासुको बजार नभएर हो, अहिले त किन पालिएछ भन्ने पछुतो लाग्छ ।’
खरायो पालन व्यवसायतर्फ नै किन आकर्षित हुनुभयो ? आफ्ना हाँचका साथीहरू विदेशतिर होलान् । यति कमाएँ उति कमाएँ भनेर गफ पनि लगाउँदा हुन् ? तपाईंलाई चाहिँ विदेश जाने रहर लागेन ? भन्ने सवालमा कमला भन्छिन् –‘विदेशमा पनि पैसाको बोट हुने होइन । त्यहाँ गएर पनि दुःख गर्नु परिहाल्छ । यहाँ भए त आफ्नै माटोमा आफ्नै पसिना चुहायो भने त्यसबाट आउने प्रतिफल ज्यादै मिठो हुन्छ । मलाई विदेश जाने रहर कहिल्यै लागेन । केही साथीहरूको विदेशको दुखद् बखान सुन्दा नै अघाएँ ।’
कमला सारू मगरको यो खरायोपानको खुसीसँगै उनका खरायोहरू बेच्नका लागि बजार नहुँदा यतिबेला उनी निराश देखिएकी छिन् । जुन बेला काठमाडाँै कोटेश्वरमा रहेको ¥याबिट् नेपालबाट खरायो पालन सम्बन्धी तालिम लिई खरायो, खोरहरू किनेर ल्याइरहँदा सोही संस्थाले जति खरायोहरू उत्पादन गरे पनि आपूmहरूले किनिदिने भनी वाचा गरेको थियो तर सो संस्थाका खरायोविज्ञ रामबाबु पटेल यतिबेला सम्पर्कमा छैनन् । अझ भन्दा ¥याबिट नेपाल नामको संस्था नै कोटेश्वरमा छैन । कति सम्पर्कको प्रयास गर्दा पनि उनीहरू सम्पर्कमा नआउँदा र यता खरायोहरू घरमा बग्रेल्ती हुँदै गर्दा कमलालाई आँतेस लागेको छ ।
‘हिजो तालिमको बेलामा बिऊ खरायोहरू, पानीको भाँडा, खोर र ब्यागहरू किन्न भन्दै ५० हजार रूपैयाँ र १० हजार र्यायाबिट नेपाल नामक कम्पनीमा ज्वाइन्ड हुनका लागि सेयर बापत भन्दै कूल ६० हजार रूपैयाँ लिएर ठगी गर्ने कम्पनीले आज कमला जस्तै अरू धेरैलाई डुबाएको कमलाले बताइन् ।’
र्याबिट नेपालले कमलालाई खरायोपालन व्यवसाय सम्बन्धी ज्ञान दियो, औजार तथा उपकरणहरू समेत दियो । तर आज सो संस्थाले खरायोहरू किनिदिएको छैन । यति हुँदा हुँदै पनि कमलाका घरमा भएका खोरमा खरायोहरू रहर लाग्दा छन् । वडा स्तरमा खरायोको व्यवसायिक पालन गर्ने कमला मात्र एक युवा हुन्, जो आफ्नो पेशालाई भविष्यको तराजुमा राखेर तौलिरहेकी छिन् यतिबेला । उनका खरायोहरू विक्री नभएको पिडा सुनाइरहँदा हामीले सो वडाका वडाध्यक्ष राजेन्द्र चौहानलाई उनको वास्तविकतामा तपाईंको वडाले कसरी उनलाई सहयोग गर्न सक्छ भनेर सोधेका छौं ।
चौहानले यस्तो प्रतिक्रिया दिए,‘सर्वप्रथम त कमलाले यस्तो व्यवसाय गर्नुभएको रहेछ, त्यो मलाई जानकारीसम्म छैन । खरायो पालन व्यवसाय राम्रो हो तर उहाँले त्यो व्यवसाय, व्यवसायकै रूपबाट कानुनी रूपमा दर्ता गराएर चलाउनु भएको हो/होइन ? यदि उहाँले कानूनी प्रावधान अनुरूप नै चलाउनु भएको हो भने उहाँको समस्यालाई वडाले नगरपालिका मार्फत् सम्बोधन गर्न पहल गर्छ । होइन विना दर्ता नै चलाउनु भएको भए त त्यो उहाँको समस्या भयो । कसैले घरमा पालेका बाख्रा, खसी र भैँसीहरू बिकेनन् भनेर वडाले के नै गर्न सक्छ र ? यदि यसलाई भोलिका दिनमा पनि व्यावसायिक बनाएर चलाउने हो भने उहाँले पहिला यो व्यवसायलाई फर्मका रूपमा दर्ता गर्नुपर्छ अनि मात्र वडाले उहाँको समस्यालाई सम्बोधन गर्न सक्छ ।’
वडाध्यक्षको यो भनाइ गलत भने होइन । कुनै पनि व्यवसायमा राज्यको जिम्मेवारी हुनका लागि राज्यको अवधारणा र नियमसँग गासिनु पर्छ । यो व्यावसायलाई व्यावसायिक रूपबाट दर्ता गरी भोलिका लागि अगाडि बढ्ने हो भने कमला सारू मगर यो व्यवसायलाई दर्ता गरेर समाजमा उदाहरणीय कृषक बन्न सक्छिन् ।