तिहारमा ८० करोडको असर्फी तथा सिक्का बिक्री हुने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 02:53:36 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहार तथा धन्तेरसको अवसरमा ४५ हजार वटा सिक्का तथा असर्फी बिक्री हुने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ । तिहार तथा धन्तेरसको अवसरमा करिव ८० करोड रुपैयाँ बराबरको ४५ हजार वटा विभिन्न सिक्का तथा असर्फी बिक्री हुने राष्ट्र बैंकले अनुमान गरेको हो । 

जस अन्तर्गत १४ हजार वटा सुनका असर्फी तथा ३१ ह्जार वटा चाँदीका स्मारिका तथा मेडलियन सिक्का बिक्री हुने अनुमान रहेको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।  अचार्यका अनुसार १० र ५ ग्रामका सुनको असर्फीहरु ४÷४ हजार वटा र २.५ ग्रामको सुनको असर्फी ६ हजार गरेर जम्मा १४ हजार वटा सुनको असर्फी बिक्री  हुने अनुमान छ ।

तिहार तथा धन्तेरसको अवसरमा राष्ट्र बैंकको टक्सार महाशाखाले १० ग्रामका ४ वटा र २५ ग्रामको १ वटा सिक्का बिक्री गर्दै आएको छ । १० ग्रामका ४ वटाहरु लक्ष्मिको चित्र अंकित, गणेश, गजलक्ष्मि र गाईको चित्र अंकित मेडलियन सिक्काहरु रहेका छन् । महाशाखा निर्देशक आचार्यका अनुसार उक्त १० ग्रामका ४ वटा चित्र अंकित सिक्काहरु ७ हजारका दरले २८ हजार वटा बिक्री  गर्ने लक्ष्य छ ।  त्यसैगरी, गाई अंकित २५ ग्रामका मेडालियन सिक्का ३ हजार वटा बिक्री  हुने अनुमान महाशाखाको रहेको छ ।   विभिन्न चित्र अंकित उक्त सिक्काहरु ४५ हजार वटा बिक्री  गर्दा ७९ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने महाशाखाको अनुमान छ । 

टक्सार महाशाखाले विशेषगरी ४ प्रकारका सिक्का टकमरी गर्ने गर्दछ । सर्कुलेशन कोईन, सुनको असर्फी, चाँदीको मेडालियन र स्मारिका सिक्काहरु । जसमध्ये सर्कुलेशन अन्तर्गत एक र दुई रुपैयाँका सिक्काहरु रहेका छन् । सर्कुलेशन अन्तर्गत ५ रुपैयाँका सिक्का पनि बनाउने प्रक्रियामा महाशाखा रहेको निर्देशक आचार्यले बताए । 

यसैगरी, १० ग्राम, ५ ग्राम र १.५ ग्राम ९९९ टच सुनका सिक्काहरु पनि महाशाखाले टकमरी तथा बिक्रि गर्ने गर्दछ । जसको मूल्य त्यस दिनको सुनको भाउ अनुसार हेरफेर हुने आचार्यको भनाई छ । 

यस्तै, चाँदीका दुई किसिमका सिक्का टकमरी र बिक्री गर्ने गर्दछ । एउटा स्मारिका र अर्काे मेडालियन । विशेषगरी सामाजिक, धार्मिक, सांस्कृतिक, एतीहासिक, दुर्लभ बन्यजन्तु, प्राकृतिक, प्रतिष्ठित व्यक्तिहरुलाई रिककनाईज गर्ने गरी महाशाखाले स्मारिका सिक्का जारी गर्ने गर्दछ । स्मारिका सिक्का २५ ग्राम १० ग्राम र १०० रुपैयाँको जारी गर्ने गरेको आचार्यले बताए । उनका अनुसार १०० रुपैयाँको सो सिक्का किप्रोनिकल धातुबाट बनाईन्छ ।

यसैगरी, गाईको चित्र अंकित २५ ग्राम र १० ग्राम, लक्ष्मी चित्र अंकित १० ग्राम, गजलक्ष्मीको चित्र अंकित १० ग्राम र गणेशको १० ग्रामका मेडालियन सिक्काहरु महाशाखाले टकमरी र बिक्री गर्ने गर्दछ । 

अन्य विभिन्न संघ सस्थाहरुले छाप्ने स्मारिका, मेडालियन लगायतका ५० वटा भन्दा बढी किसिमा सिक्काहरु महाशाखाले टकमरी गरेको छ  । पूर्व राजा ज्ञानेन्द्र शाह र विरेन्द्र शाह, सार्कको लोगो, त्रिभुवन विश्वविद्यालय, गुरु नानक, सत्यमोहोन जोशी लगायतको चित्र अंकित ५० भन्दा धेरै सिक्कहरु टकमरी गरेको निर्देशक आचार्यले जानकारी दिए । 

 सिक्काको अभाव नहुने र मौज्दात पर्याप्त  रहेको आचार्यको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved