'तिहारमा भाइलाई दिने मसला आफैँ प्याक गर्छु, रेडिमेड ‘ट्रे’ कहिल्यै किन्दिनँ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2023 | 09:05:11 AM मा प्रकाशित

laxmi  sunrise bank

विदुषी राणा 

रङ्गीविरङ्गी फूल र झिलिमिली बत्तीको पर्व तिहार नजिकिएको छ । मलाई दशैँपछि सबैभन्दा रमाइलो र विशेष चाड तिहार लाग्छ । मलाई तिहार भन्नासाथ बाल्यकाल खुब याद आउँछ । म सानो छँदा ६ जनालाई भाइटिका लगाउथेँ । मेरो एक जना भाइ, मेरो ठूलो मुमाका २ भाइ छोरा, फुपुका २ भाइ छोरा र सानो मुमाका छोरा गरेर ६ जनाको म एक मात्रै चेली । म उहाँहरु ६ जनालाई भाइटिका लगाउथेँ । ६ जना भाइहरुलाई एक्ली दिदी भएर टिका लगाउँदा खुबै रमाइलो लाग्थ्यो । अहिले अरु भाइहरु विदेश हुनुहुन्छ, मेरो भाइ चाहिँ यहीँ हुनुहुन्छ । हरेक भाइटिकामा अहिले भाइलाई टिका लगाउँदै आएको छु ।

लक्ष्मी पूजाका दिन ममीले बिहानैदेखि ब्रत बसेर, रातो लुगा लगाएर, गहना लगाएर एकदम सिँगारिएर, घर सफा गरेको, रङ्गोली बनाएको, बत्ती बालेको, पूजा गरेको अहिले पनि सम्झना आउँछ । हामी पनि देउसी भैलो खेल्थ्यौँ, पटाकाहरु पड्काउँथ्यौँ । त्यतिबेला पटाका पड्काउन बन्देज थिएन, बच्चा बेलामा तिहार भन्ने बितिक्कै पटाका पड्काएर रमाउने भन्ने हुन्थ्यो । लक्ष्मी पूजा सकेपछि खाना खाएर बेलुका कौसीमा बसेर पटाका पड्काउँथ्यौँ । हरेक तिहारमा आफन्त जम्मा भएर लक्ष्मी पूजा गर्ने, हाम्रै घरमा खाना खाने र साँझ पटाका पड्काउने हाम्रा लागि संस्कृति जस्तै थियो ।

भाइहरुका लागि रातभरी लगाएर मखमली र सयपत्री फूलका माला उन्थेँ । ६ भाइका लागि माला गाँस्दा खुब रमाइलो लाग्थ्यो । कुकुर तिहारका लागि पनि म आफैँ माला गास्थेँ । घरमा रङ्गोली पनि म आफैँ बनाउँथे । मिठा परिकार, लड्डुहरु घरमा नै बनाउँथ्यौँ । यी सबै कुरा अहिले पनि मलाई प्रष्टसँग याद छ, यी कुरा सम्झिँदा अहिले पनि मलाई बाल्यकालको याद ताजा बनेर आउँछ र सबै भाइहरुलाई, आफन्तहरुलाई सम्झिन्छु ।

बाल्यकालमा तिहारको अर्को महत्वपूर्ण कुरा चाहिँ देउसी भैलो लाग्थ्यो । साना भाइबहिनीहरु जम्मा भएर देउसी खेल्न आउँथे, हामी पनि जम्मा भएर छरछिमेकमा देउसी खेल्थ्यौँ । नाङ्लोमा सेलरोटी, फूल, चामल, पैसा र दियो राखेर सजाएर देउसे भैलेलाई दान दिने चलन थियो । हामी हरेक वर्षमा देउसी भैलोमा रमाउँथ्यौँ । सानो छँदा कुनैपनि खालको खास जिम्मेवारी हुँदैनथ्यो, ‘इनोसेन्ट’ खालको ‘लाइफ’ थियो, केवल रमाउने मात्रै ।

अहिले म बिबाहपछि एउटा बिजनेश फ्यामिली (औद्योगिक व्यवसायिक परिवार)मा छु । अहिले पनि देउसी भैलोको संस्कृति हामीले भुलेका छैनौँ । विभिन्न अफिसबाट, हाम्रै पनि अफिसका साथीहरु भेला भएर, काम गर्ने साथीहरु भेला भएर देउसी खेलिन्छ । विगतमा सानो छँदा कुनै दायित्व बिना नै देउसी भैलो खेलिन्थ्यो भने अहिले सामाजिक दायित्वसहित खेल्ने गरिन्छ । अहिलेको देउसी भैलो मादल, बासुरी, मुरली जस्ता हाम्रा मौलिक बाजा र म्युजिकसहित हुन्छ । कतिपय देउसेहरु ब्याण्डसहित आउनुहुन्छ, नाँचगान हुन्छ, यसले छुट्टै रमाइलो र आत्मीयताको अनुभूति गर्न पाएका छौँ ।

सँगै, अहिलेको देउसी भैलोबाट संकलित रकम कुनै सामाजिक काममा खर्च गर्ने गरिन्छ । संघ संस्थामार्फत देउसी खेल्न आउनेहरुले संकलन गरेको रकम ग्रामिण भेगमा शिक्षा, स्वास्थ्य जस्ता सामाजिक काममा खर्च गर्ने हुँदा देउसी भैलोमा दिएको पैसा पनि कुनै सामाजिक क्षेत्रकै सेवाका लागि दिएका छौँ जस्तो लाग्छ । मलाई यो एकदमै राम्रो लाग्छ ।

सँगै, तिहार भन्ने बितिक्कै भाइमसला बनाउने कुरा पनि आउँछ । म अझै पनि मसलाहरु प्याकिङ भएको ‘ट्रे’ किन्दिनँ, आफैँ बनाउँछु । मसलाहरु किनेर ल्याएर, केलाएर भाइलाई मनपर्ने मसलाहरु राखेर आफैँ सिँगार्छु । माला पनि आफैँ गाँस्छु ।

तिहारको समयमा घरमा हुने सबैखाले पूजा आराधनाका लागि हामी घर सिँगार्नेदेखि रङ्गोली बनाउने काम आफैँ गर्छौँ । लक्ष्मी पूजाका दिन लक्ष्मीको पाइला बनाउने चलन छ, हरेक वर्ष म आफैँ लक्ष्मीको पाइला बनाउँछ । आँगनदेखि पूजा कोठासम्म गोबरले लिपेर शुद्ध बनाएर लक्ष्मीको पाइला बनाउने काम म आफैँ गर्छु, अरुलाई बनाउन दिन्न । लक्ष्मी पूजा पनि सासु मुमा, श्रीमान र म बसेर गुरु बोलाएर विधिपूर्वक गर्छौँ । हाम्रो लक्ष्मी पूजा लामो र विशेष खालको हुन्छ ।

यसरी हामीहरु पञ्चक सुरु भएदेखि भाइटिकासम्मका पाँचै दिनको तिहार पर्व विशेष रुपले मनाउँछौँ ।

समयसँगै धेरै कुराहरु परिवर्तन हुँदै आएका छन् । बाल्यकालमा कुनै पनि दायित्व हुँदैनथ्यो, ‘इनोसेन्ट’ खालको रमाइलो थियो । अहिले चाहिँ एक खालको ‘रेस्पोन्सबिलिटी’ पनि छ । आफू रमाउने त छँदैछ, त्योभन्दा पनि आफ्ना कर्मचारीहरु, आफ्ना कम्पनीमा कुनै न कुनै रुपमा आवद्ध भएका व्यक्तिहरु रमाउने वातावरण बनाउनुपर्ने जिम्मेवारी छ । सँगै, समाजलाई नै केही योगदान गरिरहेको छु है भनेर आत्मसन्तुष्टि मिल्ने काम गर्नुपर्नेछ । यसकारण सानो छँदा तिहारमा रमाइलो ‘रिसिभ’ गरिन्थ्यो भने अहिले रमाइलो ‘गिभिङ’ गर्ने ठाउँमा छौँ जस्तो लाग्छ ।

तिहार भन्ने बितिक्कै आफू बाल्यकाल हुँदाका स्मृतिसँगै मेरी छोरी भर्खर जन्मिएको बेला उनलाई घुमाउन लैजाँदा उनले गरेका गतिविधिहरुको सम्झना आउँछ । छोरी भर्खर जन्मिएकी थिइन्, हामी उनलाई तिहारको भिलिमिली देखाउन लैजान्थ्यौँ । बत्तीको भिलिमिली र घर तथा अफिसहरुमा टाँगिएका लहरै फूलका माला देखेर उनी रोमाञ्चित हुन्थिन् । छोरी बत्ती र माला हेर्दै खुशी हुँदा हामी पनि खुशी हुन्थ्यौँ । हामीले आफ्ना सन्तानलाई आफ्ना संस्कृतिको बारेमा सानैदेखि जानकारी दिनुपर्छ भन्ने हाम्रो मान्यता थियो ।

किनकी, नेपाली समाजमा तिहारको छुट्टै र विशिष्ठ खालको महत्व छ । जस्तो, दशैँमा ठूलाबडाको आशिर्वाद लिनुपर्छ, ठूलाबडा भनेका आदरणीय हुनुहुन्छ भनेर हामीले ‘सेकेण्ड जेनेरेशन’लाई संस्कृतिको महत्व सिकाइरहेका छौँ, ठिक त्यसैगरी ‘उज्यालोको पर्व’ तिहारले पनि दिदीबहिनी र दाजुभाईबीच सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने सन्देश बोकेको छ । यदि, तिहार हुँदैनथ्यो भने दाजुभाइ र दिदीबहिनीबीच आत्मीयता नहुन पनि सक्थ्यो । हामी विभिन्न देशमा दाजुभाई, दिदीबहिनीबीच झगडा भएको सुनिरहेका हुन्छौँ, हाम्रो नेपाली समाजले तिहार पर्वमार्फत विश्व समुदायमा दाजुभाइ, दिदीबहिनीबीच सधैँ आत्मीयता हुनुपर्छ, सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने सन्देश दिइरहेको छ ।

तिहारमा जथाभावी पटाका पड्काउँदा धनजनको क्षति हुन सक्छ भनेर सरकारले यसलाई अहिले बन्देज लगाएको छ । सरकारले लागू गरेको यो नियम पालना गर्नुहुन म सबै दाजुभाइ दिदीबहिनीलाई अनुरोध पनि गर्न चाहन्छु । साथै, बत्ती बाल्दा पनि विचार गर्नुहोला भन्न चाहन्छु ।

अन्तिममा, नेपालीहरुको महान पर्व तिहारको शुभ अवसरमा हामी सबैले लक्ष्मी माताको विधिपूर्वक पूजा आराधना गरौँ भन्न चाहन्छु । देश अहिले आर्थिक रुपमा समस्यामा छ, अर्थतन्त्र मन्दीको अवस्थाबाट गुज्रिएको छ । यस्तो बेलामा नेपालको आर्थिक उन्नति होस्, नेपाल समृद्ध बनोस् भन्ने हामी सबैको मनोकामना पूरा होस् भनेर धनधान्यकी देवी लक्ष्मी मातालाई आस्थापूर्वक पुकारौँ भन्दै सबैमा शुभदीपावलीको शुभकामना दिन चाहन्छु ।

विदुषी राणा किरण सुज म्यानुफ्याक्चर्स (गोल्ड स्टार सुज) की निर्देशक हुन् ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौ।: सम्पादक


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved