शेयर कारोबार गर्दा यी ३० विषयमा ध्यान दिन नेप्सेको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 09:26:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विविध पक्षबारे सार्वजनिक सूचना प्रकाशन गरेको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेप्सेले शेयर लगानीकर्ताको लागि ५ शिर्षक अन्तर्गत ३० बुँदे जानकारीमुलक सूचना प्रकाशन गरेको हो ।

हेर्नुस् नेप्सेको जानकारी :

१. प्रतिकुल परिस्थिति

 सचेत लगानीकर्ताले क्रयशक्तिमा मुद्रास्फीतिले पार्ने प्रभाव बारे बुझेको हुनुपर्छ । उसलाई लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल दर बारे जानकारी हुनुपर्छ ।

 निरन्तर मुद्रास्फीतिको वातावरणले विभिन्न किसिमका लागानीमा पार्ने प्रभावको जानकारी तथा विश्लेषण लगानीकर्ताले गर्नुपर्छ ।

 अप्रत्याशित घटनाबाट हुने नोक्सानीबाट बच्नका लागि गरिने लगानी विविधीकरणको महत्वलाई लगानीकर्ताले बुझेको हुनुपर्छ ।

 लगानीकर्ताले प्रतिकुल अवस्थाका लागि पर्याप्त आपतकालीन कोषको व्यवस्था गरेको हुनुपर्छ ।

 सबै किसिमका लगानीमा जोखिम हुन्छ भन्ने लगानीकर्ताले बुझेको हुनुपर्छ ।

 जोखिम व्यवस्थापन गर्ने, मुद्रास्फीतिको प्रभाव कम गर्ने र चर्को ब्याजको ऋणबाट बच्ने रणनीति तथा योजना लगानीकर्तासँग हुनुपर्छ ।


२. दिगो लगानी

 दीर्घकालीन लगानी तथा लगानी विविधिकरणले प्रतिकुल आर्थिक अवस्था र बजार उतारचढावहरू बाट पार पाउन मद्दत गर्छ ।

 वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार क्षेत्र तथा संस्थामा गरिएको वित्तीय लगानी दीगो हुन्छ भन्ने जानकारी लगानीकर्तालाई हुनुपर्छ ।

 धितोपत्र निष्कासनकर्ताले प्रकाशित गर्ने विवरणहरुबाट उक्त संस्था वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार हो कि होइन भन्ने थाहा पाउन सकिन्छ ।

 धितोपत्र निष्कासनकर्ता र लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम वहन गर्ने क्षमता र प्राथमिकताहरू मेल खान्छ कि खादैन विचार गर्नुपर्छ ।

 लगानीको अवसर फरक फरक हुन्छन त्यसमध्ये आफुलाई कुन उपयुक्त हो लगानीकर्ताले छुट्याउन सक्नुपर्छ ।


३. जालसाँजी, अपराध तथा ठगी

 लगानीकर्ताले कारोबार गर्ने संस्था इजाजतपत्र प्राप्त हो कि होइन बुझ्नुपर्छ ।

 लगानी गर्नु अघि स्वतन्त्र रूपमा लगानीका अवसरहरूको अनुसन्धान गर्नुपर्छ ।

 छिटो धनी बन्ने, कहिल्यै नोक्सान नहुने, नाफाको ग्यारेन्टी गर्नेहरुको पछि लगानीकर्ता लाग्नुहुदैन ।

 हतारमा लगानीको निर्णय गर्नु हुदैन ।

 अपरिचितले गर्ने फोन, इमेल वा अन्य माध्यमबाट सम्पर्क गर्दा आफ्ना सबै कुरा खुलाउनु हुदैन ।

 आफ्ना वित्तीय सूचना भएका मोबाइल, कम्प्युटर लगायतका उपकरणमा बलियो गरी पासवर्ड राखेको हुनुपर्छ ।

 सामाजिक सञ्जाल मार्फत आउने लगानीका प्रस्तावको पछि लाग्नुहुदैन ।

 इन्टरनेटमा पाइने कुनै पनि लगानी सम्बन्धी जानकारीको राम्ररी जाँचबुझ गर्नुपर्छ ।


४. लगानीका आधारभुत पक्ष

 लगानीकर्ताले दीर्घकालीन, नियमित र लगानी विविधकरणको फाइदालाई बुझुन्पर्छ ।

 लगानीकर्ताले आफ्नो भविष्यको आवश्यकता र लक्ष्य अनुसारको लगानी योजना बनाउनुपर्छ ।

 के मा लगानी गर्दैछु ? भन्ने कुरा लगानीकर्ताले बुझेको हुनुपर्छ ।

 कुन क्षेत्रमा लगानी गर्दा कति शुल्क लाग्छ ? त्यसले लगानी प्रतिफलमा कस्तो प्रभाव पार्छ ? लगानीकर्ताले थाहा पाउनु पर्छ ।

 लगानीका प्रकृया लगायत लगानीसम्बनधीत विद्यमान ऐन, कानुन लगायतका विषयमा लगानीकर्ता जानकार हुनुपर्छ ।

 लगानीकर्ताले धितोपत्र हस्तान्तरण र रकम भुक्तानी तोकिएको समयमा नै गर्नुपर्छ ।

 बाजारमा सुनीने हल्लालाई लगानीको एक मात्र आधार बनाउनु हुदैन ।


५. प्राविधिक पक्ष

 वर्तमान द्रुत प्रविधिको लगानी वातावरणमा पनि समय लिएर लगानी सम्बन्धी निर्णय गर्नुपर्छ ।

 वित्तीय लगानीमा डिजिटल प्रविधिको उपयोग गर्दा हुनसक्ने जोखिमहरु के के हुन थाहा पाउनुपर्छ ।

 लगानीकर्ताले सूचनाको आधिकारिक स्रोत कुन हो? कुन होइन ? भन्ने छुटयाउन सक्नुपर्छ ।

 द्रुत गतिको प्रविधिको प्रभावमा परेर गर्न सकिने गलत लगानी निर्णय प्रति सधैं सचेत हुनुपर्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved