
 2mb (1).gif)
संघीयता कार्यान्वयनमा आएपछि तीन तहका सरकार बने । तर, महत्वपूर्ण र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल गुणस्तर तथा नापतौल विभाग भने फैलनुको सट्टा झन झन साँघुरियो । यसको मुख्य कारण हो, यो विभागलाई कम्तीमा प्रदेशसम्म पनि बिकेन्द्रीकरण गरिएन । अहिले पनि देशैभरको काम माछापोखरीस्थित कार्यालयबाटै गर्नुपर्ने बाध्यतामा विभाग छ ।
‘संघियतापछि हामी झन झन सानो पो हुँदै गयौँ’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, ‘क्वालिटीको क्षेत्रमा काम धेरै छन्, तर हाम्रो काम तल्लो तहसम्म पुग्न नसकेको सत्य हो ।’
समस्या के ?
केन्द्रमै रहेर पनि विभागले देशैभरीको काम गर्न सक्ने महानिर्देशक पुडासैनी बताउँछन् । तर, यसका लागि जनशक्ति र सवारीसाधनको अभाव रहेको उनको भनाई छ ।
‘बजेट ठूलो कुरो होइन, अर्थ मन्त्रालयले दिएकै छ’ उनले भने, ‘मुख्य समस्या त म्यानपावर र पूर्वाधारकै छ ।’
बजारमा दिनदिनै नयाँ नयाँ किसिमका उद्योगहरु आईरहेकाले तीनिहरुको ‘स्ट्याण्डर्ड’ (नेपाल गुणस्तर–एनएस) बनाउनुपर्ने दायित्व पनि विभागकै हो । तर, आवश्यकता अनुसार काम गर्न नसकिएको महानिर्देशक पुडासैनीले स्वीकार गरेका छन् ।
‘नयाँ नयाँ प्रोडक्ट आईरहेका छन्, तीनको स्ट्याण्डर्ड बनाउन सकिएको छैन’ महानिर्देशकले स्वीकार गर्दै भने, ‘जनशक्ति नहुँदा आवश्यकता अनुसारको काम गर्न पनि सकिँदैन, प्रोडक्ट अनुसारको स्ट्याण्डर्ड बनाउन सोही अनुसारको जनशक्ति चाहियो । तर, हामीसँग अभाव छ ।’
सुखद 'कल्चर'को विकास
प्रोडक्ट अनुसारको स्ट्याण्डर्ड बनाउन सकिए उद्योगी र सरकार दुबैलाई फाइदा हुने महानिर्देशकको भनाई छ । तर, बस्तु उत्पादन गर्ने उद्योगीहरुले गलत गर्नु हुँदैन भनेर क्वालिटीयुक्त बस्तुहरु नै बजारमा ल्याउने ‘कल्चर’ को विकास भईसकेको उनको दाबी छ ।
‘हामी एक ठाउँमा बसेर भएपनि देशैभर काम गर्नुपर्ने हुन्छ, हामीले शंका लागेर बजारबाट स्याम्पल लिएर परीक्षण गर्दा पनि राम्रो भेटिन थालेको छ’ महानिर्देशकले भन्छन्, ‘नेपालका इन्डस्ट्रीमा गलत गर्नुहुँदैन, क्वालिटीयुक्त बस्तु उत्पादन गरेर बजार पठाउनुपर्छ भन्ने कल्चरको विकास भएको छ, यो सुखद कुरा हो ।’
उद्योगहरुले नै क्वालिटीमा ध्यान दिने भएकाले अहिले विकागले सामान्य मात्रै अनुगमन गर्दै आएको छ । उद्योगीहरुले आफ्नो प्रतिष्ठासँग जोडेर बस्तु उत्पादन गर्ने भएकाले गलत नगर्ने तर, कहिले कहिले ‘ह्युमन इरर’ भने हुन सक्ने र यसलाई उद्योगकै सम्पूर्ण गल्तीका रुपमा बुझ्न नहुने एक जना उद्योगी बताउँछन् ।