सामाजिक सुरक्षा कोषले नै दिएन मृतकको परिवारलाई क्षतिपूर्ति, न्यायको खोजीमा पीडित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 05:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषले मृतक योगदानकर्ताका परिवारका सदस्यलाई क्षतिपूर्ति नदिएको पाइएको छ। आबद्द नै नभएका सँस्थाका मृतक कर्मचारीको परिवारलाई क्षतिपूर्ति दिनलाई बैंकहरुलाई पत्र काट्ने कोषले भने मृतक योगदानकर्ताका परिवारलाई क्षतिपूर्ति नदिएको हो। 

सामाजिक सुरक्षा कोषमा आबद्द सोल्टी होटलका मृतक कर्मचारीका परिवारले क्षतिपूर्तिका लागि दाबी गरेपनि कोषले उनीहरुलाई क्षतिपूर्ति दिनलाई अस्विकार गरेको हो। सोल्टी होटल २०७६ चैत २८ मा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्द भएको सँस्था हो। 

रोजगारदाताको तर्फबाट निरन्तररुपमा कोषमा योगदान नभएको कारण देखाउदै सामाजिक सुरक्षा कोषले क्षतिपूर्ति दिनलाई अस्विकार गरेको हो। सोल्टी होटलमा कार्यरत मृतक मुकुन्दराज पाण्डेको तर्फबाट असारसम्म सोल्टी होटलले कोषमा योगदान गरेपनि खाईपाई आएको भन्दा कम योगदान गरेको र बीचमा योगदान नगरेको कारण देखाउदै कोषले क्षतिपूर्ति दिनलाई अस्विकार गरेको हो। 

रोजगारदाता अर्थात सोल्टी होटलले असारसम्म योगदान गरेको तर बीचमा केहि समय ब्रेक गरि ढिलो गरेर एकै पटक सबै रकम पछी जम्मा गरेकाले सामाजिक सुरक्षा कोषबाट सुविधा पाउन बन्चित भएको मृतक मुकुन्दराज पाण्डेकि श्रीमती गंगा पाण्डेले सामाजिक सुरक्षा कोषबाट पाउने सुविधामा सहयोग गरिदिनलाई होटल संघ नेपाल हानलाई बुझाएको निबेदनमा उल्लेख छ। 

बिजपाटीलाई प्राप्त जानकारीअनुसार मृतक मुकुन्दराज पाण्डेको तर्फबाट सोल्टी होटलले असारसम्म योगदान गर्नुपर्ने पैसा सामाजिक सुरक्षा कोषमा योगदान गर्दिएको तर बीचमा केहि समय ब्रेक गरि पछि पुष महिनामा साउन भदौ असोज कात्तिक मङ्सिर र पुष गरि ५ महिनाको एकै पटक जम्मा गरेको छ। 

योगदानकर्ताको तर्फबाट सोल्टी होटलले जम्मा गर्नुपर्ने अर्थात योगदान गर्नुपर्ने रकम योगदान नगरेको कारण देखाउदै सामाजिक सुरक्षा कोषले क्षतिपूर्ति दिनलाई अस्विकार गरेको हो।  मुकुन्दराज पाण्डेको असोज २७ गते मृत्यु भएको उनको परिवारले जनाएको छ। 

मृतक योगदानकर्ताको तर्फबाट योगदान हुनुपर्ने पैसा केहि समयको ब्रेक पछि मात्र जम्मा गरिएकाले क्षतिपूर्ति दिन नसकिएको सामाजिक सुरक्षा कोषका सहायक प्रवक्ता रोहित रेग्मीले बताए। 

सामाजिक सुरक्षा कोष ऐन को दफा ३ अनुसार योगदानकर्ताले महिना सकिएको १५ दिन भित्र योगदान गर्नुपर्ने रकम जम्मा गरिसकेको हुनुपर्ने तर त्यस्तो नभएकाले सामाजिक सुरक्षा कोष ऐन को दफा ४ को उपदफा ४ अनुसार क्षतिपूर्ति नदीईएको रेग्मीले बताए।  योगदानकर्ताको मृत्यु भए पश्चात मात्रै जम्मा गर्नुपर्ने रकम सोल्टी होटलले जम्मा गरेकाले आफुहरुले कुनै पनि हालतमा क्षतिपूर्ति दिन नसक्ने रेग्मीको अडान छ। 

यता सोल्टी होटलका मानव संसाधन निर्देशक सर्जु रंजितले कोभिड-१९ जस्तो कठिन परिस्तिथिमा पनि आफुहरुले असार मसान्तसम्म आफ्ना कर्मचारीहरुको तर्फबाट योगदान हुनुपर्ने रकम जम्मा गरिरहेको तर कोभिडले होटल नै बन्द हुँदा बिचको ५ महिना ब्रेक हुन गएको बताए। 

बीचको ब्रेक हुँदा मृतक मुकुन्दराज पाण्डेको मात्र नभई सम्पूर्ण कर्मचारीको पैसा जम्मा नभएको र सबैको पैसा पुषमा एकमुष्ट जम्मा भएकाले कोष आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने उनले बताए। 

यो पनि: आफ्नै पैसा झिक्न नपाउँदा अप्ठ्यारोमा कर्मचारी, सासु र संचयकोषमाथि समन्वय नगरेको आरोप

मृतक परिवारले पाउनुपर्ने क्षतिपूर्ति बापतको रकम दिलाउनलाई आफुहरुले सामाजिक सुरक्षा कोषसँग निरन्तर सम्बाद गरिरहेको बताउदै अदालत जानुपरे पनि आफुहरु जान तयार रहेको सर्जु रंजितले बताए। 

उनि भन्छन्, "कोभिड १९ का कारण होटल बन्द हुँदा पनि सम्पूर्ण कर्मचारीको पैसा कोषमा जम्मा गरेका थियौं,  कोभिडकै बिशेष परिस्तिथिका कारण बीचमा ५ महिना जम्मा हुन नसकेको हो तर सबै कर्मचारीको बीचमा ब्रेक भएको सम्पूर्ण पैसा पुषमा जम्मा गरेका हौँ। तर बीचमा ब्रेक हुँदा कोषले जम्मा भएन भनेर खबर पनि गरेन।" 

आफुहरुले आफ्ना कर्मचारीको अधिकतम हित चाहने भएकाले बीमा बापत आएको ७ लाख रुपैयाँ र कर्मचारीले पाउनुपर्ने सेवा सुविधा बापतको पैसा सोल्टी होटलले मृतक परिवारलाई दिएको समेत उनले बताए।  

प्रक्रियाअनुसार नै निरन्तर रुपमा योगदान गर्नुपर्ने रकम योगदान नभएकै कारण क्षतिपूर्ति पाउन गाह्रो भएपछि मृतककि पत्नी गङ्गा पाण्डेले उक्त क्षतिपूर्ति सोल्टी होटलले नै भर्पाइ गर्नुपर्ने समेत निबेदनमा उल्लेख छ। 

कोरोनाबाट आफु र आफ्नो सिंगो परिवार संक्रमित भएको र कोरोना कै कारण आफ्नो श्रीमानको मृत्यु भएको यस विषम परिस्थितिमा पनि सामाजिक सुरक्षा कोषले सोल्टी होटल देखाउने र सोल्टी होटलले सामाजिक सुरक्षा कोष देखाउने गर्दा आफुहरु झनै पिडित बनेको गङ्गा पाण्डेको भनाई छ। 

कोरोनाको विषम परिस्थितिमा अन्य क्षेत्र अप्ठ्यारोमा पर्दा सोल्टी होटल पनि अप्ठ्यारोमा परेकाले यत्तिका लामोसमय आफुहरुले पनि चुप बसेर होटललाई सघाएको तर अहिले क्षतिपूर्ति दिने बेला कोष र होटलले एक अर्कालाई देखाउने काम गरेकाले आफुहरु पिडित भएको गङ्गा पाण्डेको भनाई छ। 

आफ्ना श्रीमानको निधन हुनु अगाडी असारसम्म सोल्टी होटलले सामाजिक सुरक्षा कोषमा योगदान गरेको मासिक बेसिक तलब ३८ हजार ६४६ रुपैयाँ भन्दा कम नबनाई कोषबाट प्राप्त हुने सेवा सुविधा जतिसक्दो छिट्टो उपलब्ध गराइदिनलाई सहयोग गरिदिनलाई पाण्डेले होटल संघ नेपाल हान र सोल्टी होटल व्यवस्थापन समक्ष निबेदन दिएकी छन्। 

सोल्टी होटलले केहि कर्मचारीको असोजसम्म नै निरन्तर रुपमा कोषमा योगदान गरेको तर आफ्ना श्रीमानको तर्फबाट योगदान हुनुपर्ने रकम असारपछि बीचमा केहि समय छुटाई ढिला गरि पठाईदिएकाले अहिले आफ्नो अवस्था यस्तो भएको पिडित पाण्डेको भनाई छ। 

सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताको मृत्यु पश्चात आश्रित परिवारलाई जनहित प्राप्ति हुने मासिक भत्ता सुविधा रकम नपाएको खण्डमा सोहि बराबरको रकम सोल्टी होटलले नै तिर्नुपर्ने पिडित पाण्डेको माग रहेको छ। 

यो बिषयमा कुरा गर्दा सोल्टी होटलले समस्या समाधान हुन्छ भनेर फर्काउने गरेकाले आफुहरुले धैर्य गरेको तर अहिलेसम्म पनि समाधान ननिस्केकाले आफुहरु अन्यायमा परेको र आफ्नो ६ बर्षिय र १८ बर्षिय दुई छोराहरुको पालन पोषण तथा जीवनरक्षाका लागि अदालत जान बाध्य हुने पिडित पाण्डेको निबेदनमा उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved