राष्ट्र बैंकमा ब्यालेन्सशीट पठाउन हच्किए बैंकहरू, लाभांश घोषणामा ढिलाइ हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 11:41:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आफूले पेश गरेको ब्यालेन्सशीटमा राष्ट्र बैंक सहमत नहुने बुझाइका कारण चालू आर्थिक आर्थिक वर्षको डेढ महिना बितिसक्दा पनि वाणिज्य बैंकहरूले ब्यालेन्सशीट एप्रुभल गराउन ढिलाइ गरिरहेका छन् ।

राष्ट्र बैंकका गभर्नर तथा उच्च अधिकारीहरूले पछिल्लो ६ महिनाको अन्तरमा विभिन्न माध्यममार्फत दिएका अभिव्यक्ति, चालू आर्थिक वर्षको लागि आएको मौद्रिक नीतिसँगै त्यसको कार्यन्वयनका लागि विभिन्न समयमा जारी गरेको सर्कुलर र निर्देशन हुबहु पालना गर्न नसकिएकै कारण बैंक र वित्तीय संस्थाहरूले प्रस्तुत गरेको ब्यालेन्सशीटमा सहमत नहुने बैंकहरूको बुझाइ देखिन्छ ।

त्यसैले अघिल्ला वर्षहरूमा जस्तो यो वर्ष बैंकहरू ब्यालेन्सशीट स्वीकृत 'एप्रुभल' गराउन हतारमा नदेखिएका हुन् । गत आर्थिक वर्षमा सामान्यतया साउन मसान्तसम्म अधिकांश बैंक वित्तीय संस्थाहरू आफ्नो ब्यालेन्सशीट स्वीकृत गरी लाभांश घोषणाको तयारीमा हुन्थे ।

तर राष्ट्र बैंकले विभिन्न समयमा बैंकका संचालक, सीइओ तथा अडिटरहरूलाई डाकेर विगतका वर्षमा जस्तो यो वर्ष छुट दिन नसकिने तथा बैंकहरूका सबै गतिविधिलाई अनदेखा गर्न नसकिने भन्दै दिएका सन्देशका कारण पनि ब्यालेन्सशीट एप्रुभल गराउन बैंक तथा वित्तीय संस्थाहरू हतारमा देखिएका छैनन् ।

एकाध बाहेक अधिकांश बैंक वित्तीय संस्थाहरूको रिकभरी घट्दा पनि खराब कर्जा अनुपात घटेको, खुद मुनाफा केही अर्ब भएपनि वितरणयोग्य मुनाफा करोडमा सीमित भएको, लिलाम बढाबढका नोटिसहरू व्यापक छापिएपनि प्रोभिजनमा कम पैसा देखिएको जस्ता धेरै अस्वाभाविक कुराहरू बैक वित्तीय संस्थाहरूले सार्वजनिक गरेको 'अनअडिट ब्यालेन्सशीट'मा देखिन्छ ।

यी विविध कारणहरूले गर्दा यो वर्ष राष्ट्र बैंकले विशेष कडाइ गर्नसक्ने भएकाले आफू त्यसको परीक्षणमा पर्न नपरोस् भन्ने उदेश्यले कुनै पनि बैंक वित्तीय संस्थाले ब्यालेन्सशीट पठाउने हिम्मत नगरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बिजपाटीलाई बताए ।

'जुन संस्थाले पहिला पठाउँछ, उसकै ब्यालेन्सशीटमा हामीले (राष्ट्र बैंकले) गर्न खोजेका कुराको कार्यान्वयन गर्न सक्छौं भन्ने उनीहरूको बुझाइ देखिन्छ, त्यही भएर पनि उनीहरूले ब्यालेन्सशीट स्वीकृतिका लागि राष्ट्र बैंक पठाएका छैनन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले बिजपाटीलाई बताए । यही बुझाइका कारण बैंकहरू पर्ख र हेरको रणनीतिमा रहेको उनको भनाइ छ ।

बिजपाटीलाई प्राप्त जानकारीअनुसार सिटिजन इन्टरनेश्नल बैंक, एभरेष्ट बैंक लगायत केहि बैंकले आफ्नो गत आर्थिक वर्षको ब्यालेन्सशीट स्वीकृतिका लागि राष्ट्र बैंक पठाएका छन्। यो वर्ष ब्यालेन्सशीटको कुन कुरालाई कसरी अगाडि लैजाने भन्ने निष्कर्षमा पुगिनसकेको भन्दै राष्ट्र बैंकले उक्त ब्यालेन्सशीट फिर्ता गरिदिएको छ। तर आफुहरुले पठाएको ब्यालेन्ससिटमा प्रतिकृया मागीएको भएपनि फिर्ता नै नगरिएको सिटिजन्स र एभरेष्ट बैंक उच्च व्यवस्थापनको दाबि छ। 

जसको ब्यालेन्सशीट पहिला गयो उसकै ब्यालेन्सशीट परिक्षणमा पर्न सक्ने भएकाले आफुहरू परिक्षणमा पर्न नपरोस् भनेर नै ब्यालेन्सशीट स्वीकृतीका लागि राष्ट्र बैंक पठाउन ढिलाइ भएको हो ।

अहिलेसम्म पनि ब्यालेन्सशीट स्वीकृतिका लागि राष्ट्र बैंकमा नगएकाले यो वर्ष लाभांश घोषणामा ढिलाइ हुने पक्कापक्की छ । गत वर्ष भन्दा यो वर्ष दशैं पनि छिट्टो भएकाले सम्भवत: यो वर्ष धेरै बैंक वित्तीय संस्थाले दशैं अगाडि नै वार्षिक साधारणसभा डाकेर लाभांश स्वीकृत गराएर सेयरधनीलाई प्रतिफल बाँड्न सकस पर्ने देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved