गहुँ रोकिँदा ८५ प्रतिशत मैदा मिल बन्द, सरकार भन्छ 'भारतसँग कुरा भइसक्यो'

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 31, 2023 | 02:00:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले गहुँको आयात रोक्दा आँटामा आधारित उद्योगहरु प्रभावित भएका छन् । गहुँ अभावमा आँटा प्रयोग गर्ने उद्योगहरु समस्यामा परेका छन् ।

बिस्कुट तथा पाउरोटी, कुकिज र बेकरीजन्य उद्योगहरू मैदाको अभावमा चल्न नसक्ने जोखिममा पुगेको गुनासो आइरहेको छ । अहिले मुस्किलले १५ दिनलाई पुग्ने मात्रै मैदा स्टक रहेको उद्योगीहरु बताउँछन् ।

भारतबाट गहुँको आयात नहुँदा आँटा–मैदाको पिठोमा निर्भर उद्योगहरुमा समस्या आउन सक्ने देखिएको नेपाल मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवाल बताउँछन् ।

उद्योगीहरुले नेपालमा सञ्चालित मैदा मिलहरुको अवस्था अत्यन्त नाजुक भइसकेको बताएका छन् । मैदा उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार अग्रवालले भारतबाट गहुँको आयात हुन नसक्ने अवस्था भयावह बने बिस्कुटदेखि पाउरोटी उद्योगका उत्पादन बन्द हुने खतरा औँल्याए ।

‘अहिले ८५ प्रतिशत मैदा मिलबाट उत्पादन बन्द भइसकेको अवस्था छ, बाँकी १५ प्रतिशत पनि भेन्टिलेटरमा राखेको बिरामी जसरी चलिरहेका छन्’ अग्रवालले भने, ‘कुनै पनि उद्योगसँग स्टक छैन, १५ दिनमा सबै उद्योग बन्द हुनसक्छ ।’

उद्योग बन्द हुन थालेपछि उद्योगीहरु सरकारको ढोका ढकढक्याउन पुगेका छन् । समस्या समाधान गर्न उनीहरुले माग गरेका छन् ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग उद्योग वाणिज्य महासंघको नेतृत्वले गरेको भेटवार्तामा भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा माग गरेका थिए । 

यसबारे भारतसँग छलफल भैसकेको र तत्काल गहुँको आयात खुल्ने आश्वासन मन्त्री भण्डारीले दिएका थिए।

भारतको आश्वासनले पलाएको आशा 

भारतले रूस र युक्रेन बीचको युद्धका कारण विश्वभरी नै खाद्य संकटको संकेत देखिएको भन्दै मे १५ तारिख (जेठ १ गते) एक सूचना जारी गर्दै गहुँको निकासीमा प्रतिबन्ध लगाएको थियो । स्टकले जेन तेन चलेको थियो । तर पुसबाट अभाव चर्किंदै गएको थियो । अहिले धेरै उद्योगले उत्पादन बन्द गरिसकेका छन् ।

भारतले गहुँको निर्यात गर्दा आफ्नै देशमा अभाव हुन सक्ने ठानेर गहुँको निर्यात रोकेको हो । पछि भारतले नेपालमा गहुँ निकासी गर्न गत महिना सहमति जनाइसकेको बताइन्छ । 

नेपालले विशेष माग गरेका कारण ५० हजार मेट्रिक टन गहुँ निकासीका लागि भारतले सहमतिपत्र पठाइसकेको छ । तर यसले खास समस्या समाधान नहुने उद्योगी बताउँछन् ।

पौष ८ गते शुक्रबार भारतीय वैदेशिक व्यापार महानिर्देशनालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी पठाएरै आउँदो मार्च ३१ सम्म ५० हजार मेट्रिक टन गहुँ लगिसक्न भनेको छ ।

तर ५० हजार मेट्रिक टन अत्यन्त न्युन हो । सहज रुपमा आयात नखुलाएमा उद्योगहरु राम्ररी चल्न नसक्ने उद्योगी दिनेश अग्रवाल बताउँछन् ।

आयातमा उद्योगीलाई कोटा

उद्योगीहरुले गहुँको आयात नहुँदा मैदाको अभाव हुने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २४ उद्योगलाई आफैँले गहुँ ल्याउन पाउने गरी कोटा वितरण गरेको छ । 

भारतले ५० हजार मेट्रिक टन गहुँ ल्याउन दिने भएपछि २४ वटा मैदा उद्योगलाई ३० हजार ४८९ मेट्रिक टन गहुँ आयातका लागि सिफारिस गरिएको छ । 

गत आर्थिक वर्ष २०७७/०७८ मा उद्योगले उत्पादन गरेको मैदाको मात्राका आधारमा गहुँ आयातको कोटा वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसीका अनुसार गत आर्थिक वर्षमा एउटा उद्योगले उत्पादन गरेको कुल मैदानको ७ प्रतिशत गहुँ आयातका लागि परराष्ट्रमार्फत दूतावासमा सिफारिस गरिएको हो । यसरी सिफारिसमा परेका उद्योगहरुले मार्च भित्र गहुँ ल्याइसक्नु पर्नेछ । 

भारतले निर्यातको अनुमति दिएको मध्ये बाँकी २० हजार मेट्रिक टन गहुँ कहिले र कसरी आयात गर्ने भन्नेबारे छलफलकै चरणमा रहेकाले निर्णयमा पुग्न समय लाग्ने मन्त्रालय स्रोत बताउँछ ।

आयात अनुमति पाएका मिल्सहरुको नाम 

नेपालमा कति हुन्छ खपत ?

नेपालमा वार्षिक १० लाख मेट्रिक टन (१ करोड बोरा) मैदा खपत हुन्छ । एक बोरामा ५० किलो हुन्छ । नेपालमा स्वदेशी उत्पादनको गहुँले जम्मा ४० प्रतिशत मात्रै माग पूरा गर्दै आएको छ । अपुग हुने ६० प्रतिशत अर्थात् ६ लाख मेट्रिक टन मैदाका लागि भारतबाट गहुँ आयात गर्नुपर्ने बाध्यता छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved