'एन्फाको अपारदर्शी खेल विरुद्द मेरो उम्मेदवारी', अध्यक्षका प्रत्यासी नेम्वाङको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 01:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी असार ६ गते तय गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अहिले खेलकूद क्षेत्रमा चर्चाको विषय बनेको छ । अध्यक्ष पदमा अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अध्यक्ष कर्मा छिरिङ शेर्पाले आ-आफ्नो प्यानल बनाएर भिड्ने तयारी गरिरहेका छन् ।  

नेपालको खेलकूद क्षेत्रमा लामो इतिहास रहेको फूटबलको विकासका लागि भन्दै दुवै प्यानलले आ-आफ्ना एजेण्डाहरू सार्वजनिक गरेका छन् । २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । 

यस विषयमा बिजपाटीले अध्यक्ष पदका प्रत्यासी पंकजविक्रम नेम्वाङसँग कुराकानी गरेको छ । कुराकानीको क्रममा उनले फूटबलको विकास आफ्नो एकमात्र नारा रहेको बताएका छन् । 

प्रस्तुत छ नेम्वाङसँग गरिएको कुराकानीको सम्पादित अंश :

वरिष्ठ उपाध्यक्ष भएर गर्न नसकेको त्यस्तो के काम छ, जसलाई तपाईं अध्यक्ष भएपछि गर्छु भन्नुभएको छ ?

एन्फामा म वरिष्ठ उपाध्यक्ष भएर गर्न नसकेको तर अध्यक्ष भएपछि गर्न सकिने काम थुप्रै छन् । पहिला त सुशासन हुनुपर्यो संस्थामा । नेतृत्वमा इमान्दारीता हुनुपर्यो, जवाफदेहीता हुनुपर्यो । हाम्रो त अध्यक्ष प्रणाली छ, त्यसमा कार्यकारी अधिकार अध्यक्ष र महासचिवमा रहन्छ । वरिष्ठ उपाध्यक्षका रूपमा मैले त सुझावहरू दिने हो । 

हामीले दिएका सुझावहरू वहाँ (अध्यक्ष कर्मा छिरिङ शेर्पा)ले लिनुभएन । पहिलो कुरा त अब संस्थामा विधिसम्मत शासन हुनुपर्यो । अनि नेपाली फूटबलको विकास गर्न सकिन्छ । 

जस्तै दक्षिण एसियाकै कुरा गर्ने हो भनेपनि हामी भारत र बंगलादेशभन्दा निकै पछि रहेका छौं । यसको कारण यहाँ हुने गूटगत र व्याक्तिगत स्वार्थप्रेरित खेलहरू होइन र ?

फूटबलको विकास भन्दा पनि हामी व्यक्तिगत र गूटगत स्वार्थमा अल्मलिइरहेका छौं । जति विकास गर्न सक्नुपर्थ्यो, त्यतातिर हामीले ध्यान दिन सकिरहेका छैनौं । भारत, बंगलादेशको कुरा गर्ने हो भने हामी धेरै पछाडि छौं । 

गूटगत स्वार्थका कुरा आउँदा यहाँ देखिने शक्तिकेन्द्रको भूमिका पनि हुने होला, 'पावर प्ले'मा तपाईं पनि हुनुहुन्छ ।  तपाईले आफ्नो पनि स्वार्थका कारण फूटबलको विकास गर्न नसकिएको कुरा स्वीकार्नुहुन्छ ?

होइन, मैले जहिले पनि संस्थाको हकहीतमा काम गरेको छु । खेलाडी, क्लब, जिल्लाहरूको हकहीतमा आवाज उठाउँदै आएको छु । मैले कहिल्यै पनि गूट खडा गरेको छैन । 

हाम्रो प्यानल भनेको स्वतः स्फूर्त रूपमा फूटबललाई माया गर्न व्यक्तिहरूको समूह हो । इमान्दार पक्षहरूको समूह हो । अर्को पक्षले चाहिँ, तपाईं देख्नुहुन्छ अनियमितताको चाङ लागिरहेको छ । त्यहाँनेर अब गूटगत स्वार्थ छ । विधानविपरित, नियमावली विपरित काम गरिसकेपछाडि त्यहाँनेर अपारदर्शी खेल छ भन्ने प्रष्ट भइहाल्छ नि । व्यक्तिगत स्वार्थ लुकेको छैन भने अपारदर्शी र नियमावली विपरित काम किन भइरहेको छ त ?

नियमावली र विधानविपरित भएका कुनै दुई कामहरू भन्नुस् न त, केके हुन् ?

पछिल्लो लीगको उदाहरण दिन्छु । ए डिभिजन लीग शुरू हुनुभन्दा ४५ दिनअघि ३५ दिनको म्याद राखेर बलब्वाई, स्ट्रेचर ब्वाई, डाक्टरहरूको टेण्डर सूचना निकालियो । त्यसपछाडि म्याच शुरू हुनु भन्दा सात दिनअघि ३ दिनको समय राखेर टिकटिङका लागि सूचना निकालियो ।  ४५ दिन अघि नै ३५ दिनको सूचना राखेर टिकटिङको सूचना किन निकालिएन ? 

त्यहाँनेर एक करोड भन्दा माथि टिकटिङको सेल गरियो तर ५१ लाखको एउटा मात्र बिड गरियो । एउटा मात्र टेण्डर खोल्न मिल्छ ? रि-टेण्डर गर्नुपर्ने होइन ? बलब्वाईहरूको ४५ दिन अगाडि, टिकटिङको चाहिँ ७ दिन अघि मात्र किन टेण्डर खोलियो ? यो कुनै नियमावलीअनुसार मिल्दैन । 

अनि ५० लाख भन्दा बढीको खर्च गर्दा कार्यसमितिको निर्णय हुनुपर्छ । त्यो पनि आर्थिक समिति, खरिद समिति, निर्माण समितिले सिफारिस गरेपछि मात्र हुन्छ । 

अर्को जस्तै रौतहटको प्रोजेक्ट छ । तीन लाख ४० हजार डलरको हो । यसमा कार्यसमितिको निर्णय भएको छैन । रौतहटको महिला एकेडेमी निर्माण गर्दा ई-बिडिङ गर्नुपर्ने भन्ने छ । त्यसमा कोको आयो, के गर्यो थाहा छैन । यहाँनेर अपुरो र अपारदर्शी काम भएको छ । 

कुनै बेला अहिलेका अध्यक्षका अर्का प्रत्यासी कर्मा छिरिङ शेर्पा र तपाईं एउटै प्यानलबाट लडेर अध्यक्ष र उपाध्यक्ष हुनुभएको थियो । तपाईंहरूबीच त्यसपछि भएको विवादले नेपाली फूटबलप्रेमीहरू निराश पनि भए, के भन्नुहुन्छ ? 

हिजो हामीले सुशासन भएन, पारदर्शिता भएन, सामूहिक नेतृत्व भएन, बजेटको विकेन्द्रीकरण भएन भनेर 'चेन्ज एन्फा' भन्दै हामी आएका होइनौं र ? हामी आएपछाडि पनि प्रवृत्ति फेरिएन । यो त राम्रो भएन नि । यसमा थोरै टसल जस्तो देखिएको हो, तर पूरानो प्रवृत्ति नफेरिएपछि हामी नेतृत्वका लागि छुट्टाछुट्टै लड्न लागेका हौँ । 

अहिलेको चुनावको नारा के हो तपाईंहरूको ?

हाम्रो नारा भनेको फूटबलको विकास नै हो । 

एजेण्डाहरू केके हुन् ?

हामीले घोषणापत्र केही बनाएका छैनौं । हिजो राम्रो राम्रो घोषणा पत्र बनाएर, राम्रो नारा बनाएर हामी आएका हौँ । अब हामीले काम गर्नुपर्छ । हाम्रो सचिवालय चुस्त दुरुस्त छैन । त्यसलाई चुस्त दुरुस्त बनाउनुपर्यो । कार्यसमितिलगायत सबै समितिको अधिकार केन्द्रिकृत गरेर अहिले चलिरहेको अवस्था छ । 

समितिलाई पूर्ण अधिकार दिएर चल्नु पर्यो । जिल्ला क्लबहरू सीमित प्रतियोगितामा मात्र सीमित छन्, उनीहरूलाई अझै राम्रो गरेर चलाउनुपर्यो । ग्रासरुट वडा वडामा लैजाने कुरा छन् हाम्रो । अन्डरएजको एकेडेमी महिला र पुरुष गरेर आगामी ४ वर्षमा कम्तीमा ५० वटा बनाउने योजनामा छौं । 

काठमाडौँमा कम्तीमा ४ वटा कृत्रिम घाँसेमैदान बनाउने योजना छ । जिल्लाको, क्लबको, प्रशिक्षकको, रेफ्रीको अफिस संचालन सबैमा स्तरवृद्धिमा हामी ध्यान दिन्छौं । क्षमता अभिवृद्धिमा हामी ध्यान दिन्छौं । लीगलाई व्यवस्थित र संचालन गर्छौं । जिल्ला र क्लबहरूको सहयोगमा हामी क्रमश वृद्धि गर्दै जान्छौं । 

अन्तिममा तपाईंले नै एन्फाको अध्यक्ष जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

हाम्रो टीम बिजयी हुनेमा हामी ढुक्क छौं । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved