सिरहा गोलबजारकी पुनमकुमारी महतोले धेरै अघि लघुवित्तबाट ऋण लिइन् । उनले आफ्नो उत्पादन हप्ताको दुई दिन हाटबजारमा लगेर बेच्न सुरु पनि गरिन् । त्यो व्यापारले ऊ बेला घर धान्न मात्रै ठिक्क भयो ।
जब लघुवित्तको किस्ता तिर्ने समय भयो उनीसँग बचत भएन । किस्ता तिर्ने ऋण लिनकै लागि उनी साहु (मिटरब्याजी) कहाँ पुगिन् । उनका अनुसार लघुवित्तको सुरुको किस्ता एक हजार तिर्न साहुबाट ऋण लिइन् । विडम्बना महिनामा साहुलाई तीन हजार बुझाइसक्दा पनि उक्त ऋण चुक्ता भएन । अर्काे किस्ता तिर्न उनले अर्काे साहुबाट ऋण लिइन् । त्यहाँ पनि उही चक्र चल्यो । उनको ऋण लघुवित्त र साहु दुवैकोमा चल्दै गयो । उनको जायजेथाले पनि नथेग्ने ऋणको भारी थाप्लोमा आइलाग्यो ।
रौतहटकी दिलकुमारी कार्कीको अबस्था पनि उही हो । दुई महिला मिटरब्याजीबाट फसेको ऋण तिर्न लघुवित्तबाट ऋण लिइन् । उनले त्यी दुई महिलाबाट पटक–पटक गरी साढे चार लाख ऋण लिएको बताइन् । उनीहरुले ललाइफकाइ गरी कार्कीलाई बैैंकको चेकमा हस्ताक्षर मात्रै गरेर दिन अनुरोध गरे ।
‘तपाईले भर्दा बिग्रन्छ, चेक साटिँदैन, हस्ताक्षर मात्रै गरेर दिनुस् हामी अरु भर्छाैँ भनेपछि मैले चेकमा हस्ताक्षर मात्रै गरेकी हुँ’ उनले भनिन्, ‘उक्त चेकमा ४५ लाख लेखेर कि पैसा तिर कि बाउन्समा मुद्दा जेल पठाउँछौँ भनेर धम्की दिएपछि मैले ९, १० वटा लघुवित्तबाट ऋण लिएर तिरें ।’ यद्यपि उनको विषयमा अहिले मुद्दा चलिरहेको छ । साहु र लघुवित्तले उनलाई पैसा तिर्न दबाब दिन छाडेको पनि छैन ।
सिरहाकै पूर्णकुमारी महतोले ४÷५ वटा लघुवित्तबाट ऋण लिएकी थिइन् । व्यवसाय शुरु गरे लगत्तै कहिले बन्द त कहिले कोभिडले व्यावसाय चौपट भयो । उनले साहुबाट ऋण लिएर लघुवित्तको किस्ता तिरिन्, उनका अनुसार आफू सम्बद्ध समुहका थप दुई–चार दिदी–बहिनीहरुले पनि त्यस्तै गर्दा अहिले दुःख झेलिरहेका छन् । उनीहरुले काठमाडौँको यस क्षेत्रका जानकार र नियामक निकायका बीच नै यसरी पीडा पोखे ।
ती प्रतिनिधि घटना जस्तै यसरी लघुवित्तको ऋण तिर्न साहुबाट ऋण लिने र साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिने दुष्चक्रमा गाउँका गरिब, विपन्न परिवारका महिला दिदिबहिनी फसेका छन् । जसले उनीहरुका कारोबार अस्तव्यस्त भइससेको छ ।
ऋणीले झुटको साहारा लिइ बहु–कम्पनीबाट ऋण लिने, ऋण सदुपयोग नगर्ने, चल्दै आएको व्यावसाय देखाएर ऋण लिने र उक्त रकम अन्यन्त्रै उपभोग तथा अनुत्पादित क्षेत्रमा लागानी गर्ने गर्दा ऋण तिर्न सकेका छैनन् । साहुले पनि थोरै ऋण लिने ऋणीलाई धेरै लिएको भनी झुटो कागजमा सही गराउँदा पनि समस्या थप जटिल बनेको हो ।
यता लघुवित्त कम्पनीहरुले निर्देशिका अनुसार बिना कुनै तालिम कर्जा प्रवाह गर्ने, ऋणीको आम्दानीको स्रोत र सम्भावनाको अध्ययन बिनै ऋण दिने, ऋणीले लिएको ऋणको सदुपयोग भएको छ वा छैन भनी निरन्तर अनुगमन नगर्ने जस्ता कार्यले अहिले कर्जा असुल्न गाह्रो भइरहेको छ ।
यो अस्वस्थ प्रतिष्पर्धा जस्तै छ । लघुवित्तमा अस्वस्थ प्रतिस्पर्धा हावी भएको निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनाद्र्धन देव पन्तले बताउँछन् । पछिल्लो समय आएका केही लघुवित्त अस्वस्था प्रतिस्पर्धामा उत्रिँदा सम्पूर्ण लघुवित्तले नै बदनामी खेप्नु परेको उनको गुनासो छ ।
‘लघुवित्तले सम्भावित ग्राहक पहिचान, समूह गठन, वित्तीय तथा व्यावसायिक साक्षरताको तालिमलगायत प्रक्रिया पूरा गरेर सुरूमा २०–२५ हजारको सानोसानो ऋण दिंदै आयो, गरिब महिलाको क्षमता बढ्दै गएपछि मात्रै अलि ठूलो ऋण दिने हो,’ सिइओ पन्तले भने, ‘तर, पछिल्लो समय आएका केही लघुवित्त सोही क्षेत्रमा आउने र एकैपटक ठूलो ऋण दिने गरे, यसले समस्या ल्याएको हो ।’
तर सबै लघुवित्तले त्यसरी नै अस्वस्थ प्रतिस्पर्धा गरेको मान्न नमिल्ने उनको भनाइ छ । सिवाइसी लघुवित्तका सिइओ डोलेन्द्र शर्माले लघुवित्तबाट समस्यामा परेका ऋणीहरूलाई खोजेर आफूहरूले समस्या समाधान गरिदिएको उदाहरण पनि प्रस्तुत गर्छन् ।
‘हामीले घर छोडेर केराबारीमा लुकेर बसेकालाई पनि बोलाएर सल्लाह र सहयोग दिएका छौँ, ऋणीसँग औँला उठाएर कुरा नगर्न कर्मचारीलाई निर्देशन दिएका छौँ’, उनले भने, ‘यस्ता कतिपय ऋणीलाई रकमभन्दा पनि आफँै खुकुरा, बाख्रा किनेरसमेत दिइ अहिले ऋणको भारीबाट उठाउने प्रयास गरेका छौँ ।’
लघुवित्तका अध्येता तथा त्रिभुवन विश्वविद्यालयका एमबीए निर्देशक डा भरतसिंह थापा नेपालको लघुवित्त मोडलमा नै समस्या रहेको बताँछन् । उनले नेपालको लघुवित्तमा ऋण दिने र असुल गर्नेमा सीमित भएकाले लघुवित्तको मोडल परिवर्तन गर्नुपर्ने सुझाव दिए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले कतिपय कम्पनीको गलत अभ्यास र बहुकर्जाका कारण अहिले सम्पूर्ण लघुवित्त क्षेत्र नै समस्यामा परेको देखिएको बताए । उनले अहिलेको लघुवित्तमा समस्या आयो भन्दै गर्दा लघुवित्तकै कारण मात्रै आएको समस्या नभई लघुवित्त, साहुकार, सहकारी र ऋणीकै कारण समस्या आएको जिकिर गरे ।
नेपालले बहुकर्जाका कारण लघुवित्तका ऋणी र संस्था दुवै समस्यामा पर्ने देखिएको कारण एक वा दुई भन्दा बढी लघुवित्तबाट ऋण ल्याउन वा दिन नपाइने व्यवस्था गर्न लागिएको समेत जानकारी गराए ।