
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षाले शेयर बजार मैत्री भएको प्रतिक्रिया दिएकी छन् । उनले समिक्षामा राष्ट्र बैंकले बजार चलायमान बनाउने गरी लचक नीति लिएको भन्दै त्यसको स्वागत गर्दै आफूहरुको विगतदेखिको माग आंशिक रुपमा भएपनि सम्बोधन भएको बताइन ।
बैंकको ब्याजदर घट्ने गरी नीति गत दरहरु घटाइएको साथै शेयर कर्जाको जोखिमभार पनि घटाएको हुनाले बजारमा सकारात्मक प्रभाव पर्ने उनको धारणा छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजानिक गर्दै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ ।
त्यस्तै केन्द्रिय बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरेको छ । जसको प्रभावस्वरुप समग्र ब्याजदर घट्ने गर्दछ ।
शेयर लगानीकर्ताले राखेका आंशिक माग सम्बोधन भएको भएपनि शेयर कर्जामा लगाइएको सीमाका सम्बन्धमा भने समिक्षा केही नबोलेको उनले बताईन । शेयर कर्जाका सम्बन्धमा सीमा लाग्न नहुने आफूहरुको माग यथावत रहेको उनको भनाई छ ।